रामकुमार केसी, वडाध्यक्ष, काठमाडौं महानगरपालिका– १० : थापागाउँस्थित १२७ नम्बर कित्ताको जग्गा सरकारी नै हो । तर, पछि व्यक्तिको नाममा दर्ता हुन पुगेछ । यस सम्बन्धमा वडाले कागजात झिकाई अनुसन्धान गरिरहेको छ । गुमेको जग्गा फिर्ता लिएरै छाड्छौँ ।
काठमाडौं महानगरपालिका– १० थापागाउँस्थित १५ आना एक पैसा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको पाइएको छ । काठमाडौं मालपोत कार्यालयको तथ्यांकअनुुसार सो जग्गा प्रेमरमण उप्रेती र दीपकरमण उप्रेतीको नाममा १३ कात्तिक ०५३ मा दर्ता भएको हो ।
०२१ को नापी नक्सामा उक्त जग्गा पर्ती भनी उल्लेख भएको देखिन्छ । तथ्यांकअनुसार १७ वैशाख ०५३ सम्म पनि सो जग्गा पर्ती नै रहेको र त्यसको करिब सात महिनापछि जग्गा एकाएक प्रेमरमण र दीपकरमणको नाममा नामसारी भएको देखिन्छ । कित्ता नम्बर १२७ को जग्गा अहिले पाठशाला स्कुललाई भाडामा दिइएको छ । प्रेमरमण र दीपकरमण सहोदार दाजुभाइ हुन् । हालको बजार भाउअनुसार जग्गाको मूल्य १५ करोड रुपैयाँभन्दा धेरै पर्छ ।
बागमती प्रदेशका सांसद दीपेन्द्र श्रेष्ठले थापागाउँस्थित १५ आना एक पैसा सरकारी जग्गा बदनियतपूर्वक व्यक्तिको नाममा दर्ता भएको बताए । ‘थापागाउँस्थित १५ आना एक पैसा जग्गा प्रेमरमण र दीपकरमणको नाममा नामसारी भएको देखिन्छ । १७ वैशाख ०५३ सम्म पनि उक्त जग्गा सरकारकै मातहत रहेको थियो, तर १३ कात्तिक ०५३ मा व्यक्तिको नाममा दर्ता भएको देखिन्छ,’ उनले भने ।
मालपोत कार्यालयमा उपलब्ध विवरणअनुसार जग्गाको नियमित तिरो बुझाउँदै आएको दलिल पेस गर्दै उप्रेती दाजुभाइले १२ वैशाख ०५३ मा जग्गा आफ्नो नाममा दर्ता गराउन मालपोत कार्यालयमा निवदेन पेस गरेका थिए । निवेदनमा साबिकको महादेवस्थान (हाल थापागाउँ) स्थित कित्ता नम्बर ६ (ख) ४५४ को दुई रोपनी चार आना तीन पैसा एक दाम र कित्ता नंं. ६ (ख) ११६ को २ आना जग्गा आफ्नो नाममा नामसारी गर्ने व्यहोरा उल्लेख छ । सोही निवेदनको पुच्छारमा ३१ असार ०४५ को अंशबन्डामा प्रेमरमण उप्रेतीको नाममा रहेको कित्ता नम्बर ६ (ख) ७९ को जग्गा आफ्नो नाममा नामसारी गर्न उल्लेख गरिएको छ । निवेदन अध्ययन गर्दा उक्त बुँदामा प्रयोग गरिएको हस्तलिखित निवेदनमा प्रयोग गरिएको अन्य लिखतभन्दा फरक देखिन्छ ।
निवेदनमा उल्लेख गरिएको कित्ता नम्बर ६ (ख) ७९ को जग्गाको परिमाण एक रोपनी १२ आना दुई पैसा रहेको देखिन्छ । जसमध्ये १३ आना एक पैसा तीन दाम जग्गा अहिले पनि सार्वजनिक नै छ । बाँकी १५ आना एक पैसा जग्गा भने व्यक्तिको नाममा दर्ता भएको छ । हाल कायम गरिएको कित्ता नम्बर १२७ सोही जग्गाको हो ।
उप्रेती दाजुभाइको निवेदनपछि मालपोतले १७ वैशाख ०५३ मा विवरण खुलाई पठाएको पत्र जारी गरेको थियो । पत्रमा कित्ता नम्बर १२७ को १५ आना एक पैसा जग्गाको धनी प्रेमरमण उप्रेती रहेको भनिएको छ, तर सोही पत्रको बुँदा नम्बर ६ मा १२७ को जग्गा दर्ता हुन बाँकी भनी उल्लेख भएको देखिन्छ । उक्त बुँदामा भनिएको छ, ‘दर्ता बाँकी रहेको हालको व्यक्ति सँधियारहरूको कित्ता जग्गामा साबिकको कित्ता जग्गामध्येको क्षेत्रफल उल्लेखित विवरण घुसेको वा नघुसेको हालसाबिकको क्षेत्रफल र तर्कसहितको विवरण उक्त कित्ता नं. १२७ को जग्गा दर्ता बाँकी देखिन्छ । साबिकमा दक्षिण र पूर्व–पश्चिम बाटो नभएको हाल बाटो देखाउँछ ।’
१२ असार ०५३ मा मालपोतले तयार पारेको पत्रअनुसार सोही जग्गा लक्ष्मणरमण (प्रेमरमण र दीपकरमणका बुबा)को नाममा रहेको, उनको मृत्युपछि उक्त जग्गाको स्रेस्ता प्रेमरमणकै नाममा रहेको र अब उक्त जग्गा संयुक्त (प्रेमरमण र दीपकरमण) नाममा नामसारी हुन बाँकी रहेको उल्लेख छ । ०२१ र ०४८ मा तयार फिल्डबुकमा जग्गाको तिरो प्रेमरमणले नै तिरेको देखिन्छ । तर, जग्गाधनीको महलमा भने उक्त जग्गा पर्ती भनी उल्लेख छ । त्यस्तै, उक्त जग्गाको मोही पनि कोही नभएको उल्लेख छ ।
काठमाडौं महानगरपालिका– १० का अध्यक्ष रामकुमार केसीले उक्त जग्गा सरकारी रहेको र जालसाजीपूर्वक व्यक्तिकोे नाममा दर्ता भएको बताए । ‘थापागाउँस्थित १२७ नम्बर कित्ताको जग्गा सरकारी नै हो । तर, पछि व्यक्तिको नाममा दर्ता हुन पुगेछ । यस सम्बन्धमा वडाले कागजात झिकाई अनुसन्धान गरिरहेको छ । मैले बुझेअनुसार पहिला उक्त जग्गा पाटननिवासी एक नेवारले खनजोत गर्दै आएका थिए । सन्तान नभएपछि उनले जग्गामा नुन छरेर हिँडेछन् । त्यसपछि जग्गा खाली नै थियो । तर, पछि उक्त जग्गा एकाएक व्यक्तिको नाममा दर्ता भएको देखियो । यो गैरकानुनी हो । हामीले अनुसन्धान गरिरहेका छौँ । गुमेको जग्गा फिर्ता लिएरै छाड्छौँ,’ उनले भने ।
सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने प्रेमरमणकी बुहारी अनिता उप्रेती भने कानुनले जे भन्छ आफूहरूका लागि स्वीकार्य रहेको बताउँछिन् । ‘थापागाउँस्थित १५ आना जग्गाको तिरो हाम्रै परिवारले पहिलेदेखि नै तिर्दै आएको रहेछ । मेरा ससुरा बुबाहरूले उक्त जग्गा हाम्रै नाममा रहेको बताउनुहुन्थ्यो । नामसारी भने पछि भएको देखिन्छ । यस विषयमा मलाई त्यति धेरै जानकारी छैन । कानुनभन्दा माथि कोही पनि छैन । कानुनले उक्त जग्गा हाम्रो भन्छ भने ठीक छ, होइन भन्छ भने पनि स्वीकार छ । सानोतिनो विषयमा लोभ गर्ने हाम्रो परिवारको स्वभाव होइन,’ उनले भनिन् ।