वैदेशिक रोजगार विभागले फर्निचरको कामका लागि मलेसिया कामदार पठाएर अलपत्र पार्ने काठमाडौंको जेपी ओभरसिज कम्पनीमाथि कारबाही अगाडि बढाएको छ । विभागका निर्देशक गुरुदत्त सुवेदीले नेपाली कामदारलाई मलेसिया पठाएर अलपत्र पार्ने जेपी ओभरसिजमाथि कारबाही प्रक्रिया अगाडि बढेको जानकारी दिए ।
विभागले मलेसियामा अलपत्र परेका नेपाली कामदारहरूको विवरण, रोजगार सम्झौता एवं अन्य सम्बन्धित कागजसहित २४ घन्टाभित्र अभिमुखीकरण शाखामा उपस्थित हुन, उपस्थित नभएमा वैदेशिक रोजगार ऐन तथा नियमवाली २०६४ बमोजिम कारबाही हुने पत्र जेपी ओभरसिजलाई पठाएको सुवेदीले बताए । उनका अनुसार कामदार अलपत्र पार्ने जेपी ओभरसिजलाई कामकाजमा पनि रोक लगाइएको छ । ‘यसअघि पनि यो कम्पनीले कामदारहरूलाई अलपत्र पारेको छ । त्यही भएर यसअघि नै यो कम्पनीको कामकाज रोक्का गरिएको थियो,’ उनले भने ।
१५ नेपाली कामदार दुई महिनादेखि मलेसियामा अलपत्र भएको विषयमा मधेश सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले कामदार अलपत्र पार्ने म्यानपावर कम्पनीलाई कारबाही गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ध्यानआकर्षण गराएको बताए । ‘म पनि काठमाडौँमै थिएँ, सोमबार बिहानै नयाँ पत्रिकामा समाचार हेरेँ, त्यसपछि पत्रिका बोकेर श्रम मन्त्रालय पुगें,’ उनले भने । श्रममन्त्रीको सचिवालयमार्फत म्यानपावरलाई कारबाही गर्न विभागलाई जानकारी पठाएको मुख्यमन्त्री सिंहले बताए । ‘मधेशका बासिन्दालाई घरपरिवार चलाउन विदेश जानुपर्ने बाध्यता छ, तर त्यस बाध्यतामा धेरैको ज्यान जाने गरेको पनि देखिन्छ । उनीहरूले सरकारलाई कर तिर्छन्, त्यसैले उनीहरूको सुरक्षा राज्यको दायित्व हो, उनलाई सुरक्षित घर फर्काउन अविलम्ब सरकारले पहल थाल्नुपर्छ र यस्ता म्यानपावरलाई कारबाहीको दायरामा ल्याउनुपर्छ,’ उनले भने ।
मलेसियामा अलपत्र १५ नेपाली कामदारको तत्काल उद्धार गरी स्वदेश ल्याउन मधेशी आयोगले सरकारसँग आग्रह गरेको छ । आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले नयाँ पत्रिकामा समाचार पढेर घटनाबारे थाहा पाएपछि उद्धारका लागि सरकारको ध्यानाकर्षण गराएको बताए । ‘मलेसियामा अलपत्र नेपाली श्रमिकको उद्धार गर्न हामीले सरकारको ध्यानाकर्षण गराइसकेका छौँ । सोमबार बिहान समाचार पढेर तत्कालै आयोगबाट अलपत्र कामदारको तत्काल उद्धार गरी क्षतिपूर्ति दिलाएर म्यानपावर कम्पनीलाई कारबाही गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पत्र पठाएका छौँ,’ उनले भने ।
‘१५ नेपाली कामदार दुई महिनादेखि मलेसियामा अलपत्र’ शीर्षकमा सोमबार नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित भएको थियो । काठमाडौंको जेपी ओभरसिजमार्फत १५ जेठमा मलेसिया पुगेका सप्तरी, सिराहा र बाराका ती कामदार काम नपाएपछि दुई महिनादेखि अलपत्र छन् । काठमाडौंको जेपी ओभरसिजले मासिक ६१ हजार नेपाली रुपैयाँ पारिश्रमिक पाउने आश्वासन दिँदै तीनदेखि चार लाखका दरले असुलेर उनीहरूलाई उडाएको थियो ।