१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण ८ मंगलबार
  • Monday, 12 May, 2025
मुख्य समाचार डिजिटल संस्करण

‘अमुक उद्योगको विद्युत् जोड्ने विषयलाई सरकारले प्रतिष्ठाको विषय बनायो’

सुशासनको कुरा गरेर ठाडो निर्देशनमा समाधान नखोज्न आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ श्रावण ८ मंगलबार १४:२५:oo

नेकपा (माओवादी केन्द्र)का सांसद शक्ति बस्नेतले अमुक उद्योगमा काटिएको विद्युत् लाइन जोड्ने विषयलाई सरकारले आफ्नो प्रतिष्ठा र मुख्य प्राथमिकताको विषय बनाएको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बस्नेतले पुनरावलोकनदेखि पुनरावेदनसम्मको कानुनी व्यवस्था भएको स्मरण गराउँदै सरकारलाई गलत बाटो नहिँड्न सचेत गराए।

उद्योगीहरूलाई ६० किस्तासम्मको सुविधा प्रदान गरिएको उल्लेख गर्दै उनले भने, ‘अमुक उद्योगमा काटिएको विद्युत् लाइन जोड्ने विषयलाई सरकारले आफ्नो प्रतिष्ठा र मुख्य प्राथमिकताको विषय बनाइरहेको छ, आश्चर्य लाग्छ । स्पष्ट छ, यो विवाद काटिएको विद्युत् लाइन जोड्ने वा नजोड्ने कुराको मात्रै होइन, महसुल उठाउने कि नउठाउने भन्ने विषयमा केन्द्रित छ।’

सांसद बस्नेतले लाइन जोड्ने वा नजोड्ने भन्ने समस्या विद्युत् प्राधिकरण विनियमावलीको व्यवस्थाभित्रैबाट समाधान हुने पनि सरकारलाई स्मरण गराए। प्राधिकरणको बिलको विषय निरुपणका लागि कानुनी र संरचनागत व्यवस्थाहरू भएका उल्लेख गर्दै उनले भने, ‘पुनरावलोकनदेखि पुनरावेदनसम्मको कानुनी व्यवस्था छ त्यो बाटो हिँड्नुपर्‍याे  । कुरा सुशासन र विधिको गर्ने, नियमको गर्ने, समाधान ठाडो निर्देशनमा खोज्ने ! सरकार गलत बाटो हिँड्दै छ । सभामुख महोदयमार्फत म सचेत गराउन चाहन्छु । नियामक निकायहरूले दैनिक कार्यकारी र व्यवस्थापकीय कामहरूमा आफूलाई विवादित नबनाउन म आग्रह गर्दछु ।’

ऊर्जा क्षेत्र नेपालको समृद्धिको महत्त्वपूर्ण आधार बन्दै  गइरहेको उल्लेख गर्दै सांसद बस्नेतले ऊर्जा क्षेत्र विकासको मुख्य साझेदार विद्युत् प्राधिकरणलाई धराशायी बनाउने कुनै काम नगर्नसमेत सरकारलाई सचेत गराएका छन्।