१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
शिल्पा कर्ण काठमाडाैं
Invalid date format o८:४९:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सम्पत्ति शुद्धीकरणमा रोयल क्यासिनोका सञ्चालकसहित पाँचजनालाई सफाइ

Read Time : > 2 मिनेट
शिल्पा कर्ण, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:४९:oo

आपराधिक कसुरबाट आर्जित सम्पत्ति नदेखिएको भन्दै रोयल क्यासिनोका सञ्चालक सुरेन्द्रबहादुर सिंहसमेत पाँचजनाले सम्पत्ति शुद्धीकरणमा सफाइ पाएका छन् । गत १३ वैशाखमा विशेष अदालतले गरेको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो । 

सम्पत्ति शुद्धीकरणमा सफाइ दिनुको आधारबारे फैसलामा भनिएको छ, ‘विदेशी विनिमय मुद्दामा सजाय भएको देखिन आए पनि उक्त कसुरबाट कुनै आय प्राप्त गरेको देखिँदैन । विदेशी रकम नै बरामद भई जफत भइसकेको छ । त्यस्तो आयको गैरकानुनी स्रोत लुकाउने छल्ने एवं त्यस्तो सम्पत्ति रूपान्तरण वा हस्तान्तरणजस्ता निर्मलीकरण हुने गरेको अवस्था नै वादीले पुष्टि गर्न सकेको देखिँदैन ।’ यसरी कसुरबाट आर्जित सम्पत्तिको परिचालन र परियात्राको मार्ग देखिन नआएको भन्दै यस मुद्दामा सफाइको फैसला भएको हो । 

विभागले भने ‘गिल्ट इन्भेस्टमेन्ट प्रालि २५ करोडमा जयन्ती थापा मगरलाई बिक्री गरेको भनी सम्पत्ति शुद्धीकरण गर्न केही कृत्रिम कारोबारसमेत गरे गराएको’ दाबीसहित मुद्दा चलाएको थियो । यस मुद्दामा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले फैसला गरेको हो ।

विभागले दाबी गरेअनुसारका कसुरबाट सम्पत्ति आर्जन गरेको पुष्टि नै हुन नआउने अवस्थामा र ती कसुरबाट आर्जित तथा बरामद रकम जफत भइसकेको अवस्थामा उक्त रकमलाई आधार मानी सम्पत्ति शुद्धीकरणको कसुर ठहर गर्न नमिल्ने फैसलामा छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २६ करोड ६७ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै १५ कात्तिक ०७९ मा मुद्दा चलाएको थियो । जसमा सुरेन्द्रबहादुरका साथै उनकी श्रीमती शारदादेवी सिंह र छोरा जीवनबहादुर सिंह, जयन्ती थापामगर र गिल्ट इन्भेस्टमेन्ट प्रालि प्रतिवादी थिए । 

सिंहले सञ्चालन गरेको नेपालगन्जस्थित मिनी क्यासिनोबाट समेत ०६९ मा नेपालमा प्रतिबन्धित पाँच सय र एक हजार दरका भारु नोट बरामद भएका थिए । तीन लाख २२ हजार रुपैयाँ भेटिएकोमा जिल्ला अदालत बाँके र पुनरावेदन अदालत नेपालगन्जले यस मुद्दामा सञ्चालक सिंहलाई दोषी ठहर गरेको थियो । यस्तै प्रकृतिका अन्य घटनामा पनि सिंहको संलग्नता रहेको थियो । विदेशी विनिमयसम्बन्धी कसुर, जुवासम्बन्धी कसुरमा पनि उनीउपर मुद्दा दायर भएको थियो । 

मुद्दा दर्ता गर्दाका बखत बक्यौता रोयल्टी शुल्कका सम्बन्धमा पनि उल्लेख गरेको थियो । विभागले झन्डै साढे ३३ करोड रोयल्टीबापत तिर्नुपर्ने बाँकी रहेको भन्दै सिंह विगतमा पनि विविध कसुरमा संलग्न रहेको र दोषी ठहर भइसकेका कारण उनले आर्जन गरेको सम्पत्ति अवैध रहेको दाबी अभियोगपत्रमा थियो । यसरी अवैध रूपमा आर्जन गरेर उक्त सम्पत्ति क्यासिनोमा लगानी गरेर गैरकानुनी लाभ लिएको र सम्पत्ति शुद्धीकरण गरेको अभियोग लगाइएको थियो । रोयल्टी नबुझाएको विषयलाई सम्बद्ध कसुर मानी कसुरबाट प्राप्त सम्पत्ति शुद्धीकरणको कसुर ठहर गर्न नमिल्ने विशेषले फैसलामा उल्लेख गरेको छ ।

विभागले सिंहको थुप्रै आय गणना नगरेको फैसलामा छ । अदालतले आयभन्दा व्यय कम रहेको निष्कर्षसहित पाँचैजनालाई सफाइ दिएको हो । सिंहको काठमाडौं र कैलालीमा रहेको घरबाट बहाल आयबापत ४५ लाख ६० हजार र सापटीबापत सात करोड ३८ लाख रुपैयाँ पनि आयमा गणना गरेको छ । विशेषले सिंहको आय ३८ करोड ७८ लाख रुपैयाँ कायम गरिदिएको छ भने व्यय केवल १३ करोड १२ लाख रुपैयाँ रहेको ठहर गरेको छ । 

‘यसबाट यी प्रतिवादी मात्रको आय नै निजको व्ययका साथै एक सगोलमा प्रतिवादीहरू शारदादेवी सिंह र जीवनबहादुर सिंहसमेतको वादीले दाबी गरेको व्ययभन्दा बेसी हुन आएको देखियो । यसबाट प्रतिवादीले वादीले गणना नगरेको भनी लिएको कृषि आय तथा अन्य आय एवं अन्य प्रतिवादीको आय–व्यय सम्बन्धमा पनि विचार गर्नुपर्ने अवस्था नै देखिन आएन,’ फैसलामा उल्लेख छ । 

मुख्य कसुरदारका रूपमा सिंहलाई नै मानेर सजाय मागदाबी गरिएको र जयन्ती थापालाई मिलेमतोको कसुर गरेको भनी दाबी गरिएकोमा सिंहमाथि नै कसुर कायम नभएपछि थापामाथि थप विवेचना गर्नु नपर्ने फैसलामा छ । जबकि थापाले अनुसन्धानका क्रममा गिल्ट इन्भेस्टमेन्टको सेयर खरिद गर्ने आफ्नो हैसियत नभएको बताएकी थिइन् भने सिंह र आशिष पटेलबीच कम्पनी खरिद–बिक्रीको कारोबार भएको खुलासा गरेकी थिइन् । थापाले विभागमा बयान गर्ने क्रममा सेयर आफ्नो नाममा राखेबापत एक लाख मासिक र १० प्रतिशत सेयर दिने कुरा भएको बताएकी थिइन् । उक्त ‘कृत्रिम कारोबार’ले विशेषबाट वैधता पाएको छ ।