मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण ८ मंगलबार
  • Friday, 14 February, 2025
२o८१ श्रावण ८ मंगलबार o७:२७:oo
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

बाइडेन ‘ब्याक’ भएपछि अधिकांश डेमोक्य्राट्सको समर्थन ह्यारिसलाई

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ श्रावण ८ मंगलबार o७:२७:oo

डेमोक्य्राटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले प्रतिस्पर्धाबाट पछाडि हटेपछि उपराष्ट्रपति तथा पार्टीकी नेतृ कमला ह्यारिसले राष्ट्रपतिमा उम्मेदवारी दिने बताएकी छिन् । उनलाई राष्ट्रपति बाइडेनलगायत डेमोक्य्राटिक पार्टीका धेरै वरिष्ठ नेताले समर्थन जनाएका छन् । यद्यपि यसको औपचारिक निर्णय भने पार्टीको राष्ट्रिय महाधिवेशनले गर्नेछ । महाधिवेशनले उनको टुंगो लगाएमा डेमोक्य्राटिककी ह्यारिस र रिपब्लिकन पार्टीका तर्फबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा हुनेछ ।

ह्यारिस डेमोक्य्राटिक पार्टीकी आधिकारिक उम्मेदवार होइनन्, तर बाइडेनले प्रतिस्पर्धाबाट बाहिरिने घोषणा गर्नेबित्तिकै उनले आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन् । बाइडेनले उम्मेदवारी फिर्ता लिएपछि डेमोक्य्राटिक पार्टी कमला ह्यारिसको वरिपरि एकताबद्ध हुन थालेको छ । बिबिसीका अनुसार उनको निर्वाचन अभियानका लागि सार्वजनिक चन्दा रातारात झन्डै पाँच करोड डलर संकलन भएको छ, यद्यपि उनको मनोनयनको सुनिश्चित भइसकेको छैन । राष्ट्रपति निर्वाचन हुन चार महिना मात्र बाँकी हुँदा रिपब्लिकनका डोनाल्ड ट्रम्पसँग कसले प्रतिस्पर्धा गर्छ भन्ने विषय डेमोक्य्राटिकमा पेचिलो बन्दै छ ।

कमलाप्रति समर्थन कस्तो ?
कमला ह्यारिस डेमोक्रेटिक पार्टीभित्र सर्वाधिक रुचाइएकी व्यक्तिमा पर्छिन् । तर, अरूले पनि उम्मेदवारको रुचि देखाएमा खुला प्रतिस्पर्धा हुन सक्छ । उनलाई जो बाइडेन र हिलारी क्लिन्टनजस्ता व्यक्तित्वले समर्थन गरेका छन् । तर, पूर्वराष्ट्रपति बराक ओबामा र पूर्वसभामुख नेन्सी पेलोसीले भने उनलाई अनुमोदन गरिसकेका छैनन् । स्मरणीय छ, ओबामाले सन् २०२० को निर्वाचनमा पनि कसैलाई स्पष्ट रूपमा समर्थन गरेनन् । उल्लेखनीय कुरा के छ भने पूर्वराष्ट्रपति ओबामाले पार्टीका नेताहरूले ‘उत्कृष्ट उम्मेदवार बन्ने प्रक्रिया सिर्जना गर्न सक्षम हुनेछन्’ भन्नेमा आफूलाई ‘असाधारण आत्मविश्वास’ रहेको बताएका छन् । तसर्थ उम्मेदवारको औपचारिक टुंगो अगस्टमा हुने डेमोक्रेटिकको राष्ट्रिय अधिवेशनबाट हुनेछ ।

पोल ट्रयाकर फाइभथर्टीएइट्सका अनुसार कमलाको समर्थन दर सन् २०२१ को सुरुवातदेखि लगातार घट्दै गएको र हाल करिब ४० प्रतिशतको हाराहारीमा छ, जुन आँकडा बाइडेनप्रतिको समर्थनबराबर हो । ह्यारिसले उम्मेदवारी घोषणा गर्नुअघि गरिएका चार सर्वेक्षणले उनले ट्रम्पको सामना गर्न बाइडेनले भन्दा थोरै राम्रो गर्नेछिन्, तर कुनै महत्वपूर्ण भिन्नता भने छैन । बाइडेनले औपचारिक रूपमा प्रतिस्पर्धाबाट बाहिरिएको घोषणा गर्नुअघि यी सर्वेक्षण गरिएका थिए । मतदाता ह्यारिससँग परिचित हुन थालेपछि विचार परिवर्तन हुन सक्छ ।

यसकारण बाहिरिए बाइडेन
यसअघि राष्ट्रपति जो बाइडेनले आफू फेरि राष्ट्रपति बन्ने चुनावी दौडबाट बाहिरिएको घोषणा गरेका थिए । उनले आफ्नो ठाउँमा डेमोक्य्राटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारका रूपमा उपराष्ट्रपति कमला  ह्यारिसलाई अघि सारेका थिए । राष्ट्रपति बाइडेनले गत महिनाको अन्त्यमा भएको बहसमा कमजोर प्रस्तुतिलाई लिएर बढ्दो संख्यामा डेमोक्य्राटहरूले चिन्ता गरिरहेका वेला राष्ट्रपतिको दौडबाट बाहिरिने घोषणा गरेका हुन् । गत जुन २७ मा भएको राष्ट्रपतीय निर्वाचनको बहस फितलो भएको भन्दै डेमोक्य्राटहरूबाटै उनको आलोचना भएको थियो । ८१ वर्षीय बाइडनले आइतबार राति एक लिखित विज्ञप्ति जारी गर्दै आफ्नो दल र देशको हितका लागि आफूले पुनः राष्ट्रपतिको उम्मेदवार बन्ने योजनामा पूर्णविराम लगाएको बताएका थिए ।

आफूले उम्मेदवारबाट पछि हट्ने घोषणा गरेलगत्तै बाइडेनले उपराष्ट्रपति कमला ह्यारिस उम्मेदवार बन्ने बताएका थिए । ‘यस वर्ष डेमोक्य्राटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारका रूपमा उपराष्ट्रपति कमला ह्यारिसलाई मेरो पूर्ण समर्थन छ,’ उनले भने । डेमोक्य्राट एकजुट भएर ट्रम्पलाई हराउने समय भएको उनले बताए ।

बाँकी कार्यकालका लागि आफ्नो दायित्व भने उनले पूरा गर्ने बताएका छन् । ‘मेरो उम्मेदवारी पुनः निर्वाचित हुने भए पनि बाँकी कार्यकालका लागि राष्ट्रपतिको रूपमा मेरो कर्तव्य पूरा गर्न ध्यान केन्द्रित गर्नु मेरो पार्टी र देशको हितमा छ भन्ने मलाई विश्वास छ,’ सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन् । उनले राष्ट्रपतिका रूपमा काम गर्ने अवसरलाई आफूले ‘ठूलो सम्मानको रूपमा लिएको’ र सन् २०२५ जनवरीसम्म कार्यकालयमा रहने बताएका छन् । राष्ट्रपतिका उम्मेदवार यसअघि चुनाव प्रक्रियामा यति ढिलो दौडबाट बाहिरिएका थिएनन् ।