१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १o:११:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

वैदेशिक रोजगारीमा मधेशका युवा धेरै

गत आवमा सात लाख ४१ हजार वैदेशिक रोजगारीमा, मधेशका मात्रै एक लाख ७२ हजार युवा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:११:oo

गत आर्थिक वर्ष ०८०/८१ मा वैदेशिक रोजगारीमा जानेमा सबैभन्दा धेरै मधेश प्रदेशका देखिएका छन् । गत आवमा सात लाख ४१ हजार दुई सय ९७ जना नेपाली कामदार वैदेशिक रोजगारमा गएका छन् । त्यसमा आठ जिल्ला भएको मधेश प्रदेशबाट मात्रै एक लाख ७२ हजार आठ सय ६१ जना रहेका छन् ।  

वैदेशिक रोजगार विभागबाट प्राप्त गत आवको तथ्यांकले यस्तो देखाएको हो । भौगोलिक रूपमा सुगम मानिने मधेश प्रदेशका अधिकांश नागरिकको आर्थिक अवस्था कमजोर मानिन्छ । त्यहाँ जनसंख्याका आधारमा गरिबी दर २२.५३ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांकले देखाउँछ । सोही कारण मधेश प्रदेशमा वैदेशिक रोजगारीको हिस्सा धेरै देखिएको हो । त्यसमा एक लाख एक सय ४३ जनाले पहिलोपटक श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका छन् । यद्यपि, वैदेशिक रोजगारीले त्यहाँ गरिबी हट्दै गएको बताइन्छ । 

समीक्षा वर्षमा बाराबाट १३ हजार चार सय २२, धनुषाबाट ३९ हजार एक सय सात, महोत्तरीबाट २७ हजार तीन सय ५०, पर्साबाट सात हजार एक सय ३५ जना, रौतहटबाट १३ हजार दुई सय १४, सप्तरीबाट २० हजार चार सय ६०, सर्लाहीबाट २१ हजार दुई सय ४३ र सिराहाबाट ३० हजार नौ सय ३० जना वैदेशिक रोजगारीमा गएका छन् । 

वैदेशिक रोजगारीमा धेरै जानेमा कोशी प्रदेश दोस्रो नम्बरमा छ । १४ जिल्ला भएको उक्त प्रदेशबाट एक लाख ६० हजार ६ सय ७२ जना वैदेशिक रोजगारमा गएका छन् । त्यसमा एक लाख ६५ जना पहिलोपटक वैदेशिक रोजगारीमा गएका छन् ।

तेस्रो स्थानमा भने लुम्बिनी प्रदेश रहेको छ । १२ जिल्ला भएको लुम्बिनी प्रदेशबाट एक लाख ३० हजार पाँच सय ८६ जना वैदेशिक रोजगारमा गएका छन् । त्यसमा ७८ हजार पाँच सय १२ जना पहिलोपटक वैदेशिक रोजगारमा गएका हुन् । 

यस्तै, १३ जिल्ला भएको बागमती प्रदेशबाट एक लाख २१ हजार २१ जना वैदेशिक रोजगारीमा गएका छन् । त्यसमा ८२ हजार एक सय सातजना पहिलोपटक वैदेशिक रोजगारमा गएका छन् । ११ जिल्ला रहेको गण्डकी प्रदेशबाट भने एक लाख एक हजार ६ सय ७६ जना वैदेशिक रोजगारीमा गएका छन् । त्यसमा ५६ हजार आठ सय ९१ जना पहिलोपटक वैदेशिक रोजगारीमा गएका हुन् । 

यसैगरी, १० जिल्ला भएको कर्णाली प्रदेशबाट २४ हजार एक सय ७५ जना वैदेशिक रोजगारीमा गएका छन् । त्यसमा १८ हजार ६ सय ७० जना पहिलोपटक वैदेशिक रोजगारीमा गएका छन् । यसका अलावा नौ जिल्ला भएको सुदूरपश्चिम प्रदेशबाट ३० हजार तीन सय पाँचजना वैदेशिक रोजगारीमा गएका छन् । त्यसमा २३ हजार सात सय १४ जना पहिलोपटक रोजगारीमा गएका छन् । 

यसरी गत आवमा सात लाख ४१ हजार दुई सय ९७ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । त्यसमा चार लाख ६० हजार एक सय दुईजना पहिलोपटक वैदेशिक रोजगारीमा गएका हुन् ।  

गत आवमा ६ लाख ६१ हजार एक सय २५ जना पुरुष र ८० हजार एक सय ७२ जना महिला नेपाली कामदार वैदेशिक रोजगारमा गएका छन् । 

यद्यपि, गत आवमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३.८९ प्रतिशतले घटेको छ । अघिल्लो आवमा सात लाख ७१ हजर तीन सय २७ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए । जुन वार्षिक रूपमा हालसम्मकै उच्च थियो । तर, गत आवमा त्यो घटेको विभागले जनाएको छ ।

विभागका महानिर्देशक डण्डुराज घिमिरेले दुई कारणले वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको बताए । गत आवमा एक सय ४९ देशमा नेपालीहरू काम गर्न गएको विभागको तथ्यांकले देखाएको छ । त्यसमा सबैभन्दा धेरै युएईमा एक लाख ९३ हजार चार सय ३८ जना गएका छन् । दोस्रो नम्बरमा रहेको साउदी अरबमा एक लाख ४१ हजार पाँच सय दुई, तेस्रो नम्बरमा रहेको कतारमा एक लाख ३४ हजार ६ सय ६९ र चौथो नम्बरमा रहेको मलेसियामा एक लाख तीन हजार चार सय ४२ जना नेपाली गएका छन् ।