
सधैँजसो आवश्यकताअनुसार पानी नपाएका गमगढीवासीले यो वर्षको खडेरीमा भने पानीको हाहाकार नै झेल्नुपरेकाे छ। खडेरीले पानीका मुहान सुक्न थालेपछि मुगु सदरमुकाम गमगढी बजारमा खानेपानीको हाहाकार भएको छ।
गमगढी खानेपानी उपभोक्ता समितिले खडेरीका कारण मुहान सुक्न थालेपछि पानी वितरणमा कटौती सुरु गरेको छ। केही उपभोक्तालाई बिहान १ घण्टा र केही उपभोक्तालाई बेलुका १ घण्टा खानेपानी दिँदै आएको समितिले अब एक दिन बिराएर १ घण्टा दिन थालेको गमगढी खानेपानी उपभोक्ता समितिका अध्यक्ष गोर्खबहादुर मल्लले जानकारी दिए।
समितिका अनुसार पहिला झ्यारी खोलाबाट ६५ एमएमको पाइपभरि पानी आउने गरेकोमा अहिले खडेरीले मुहान सुकेपछि ५० एमएम पाइपबराबर पनि पानी मूल पाइपमा आउन छोडेको छ।
मल्लका अनुसार मुहान बजारबाट १५ किलोमिटर टाढा छ। इन्टेक, च्याम्बर पाइपलाइन २०५६ सालमा तत्कालीन बजारका ९० घरधुरीलाई लक्षित गरी बनाइएको हो। त्यसयता बजारको जनसंख्या, घरधुरी बढेर सात सय बढी पुगिसकेको छ। पुरानै संरचनाबाट सबैलाई पर्याप्त पानी वितरण हुन नसकेको मल्लले बताए। खानेपानीको समस्या समाधानका लागि स्थानीय र प्रदेश सरकारले वास्ता नगरेको मल्लले गुनासो गरे।
गमगढी बजारमा ७ सयभन्दा बढी घरधुरी छन्। चार सय घरमा मात्रै खानेपानीको धारा वितरण गरिएकाे छ। त्यसमा पनि पानी नियमित आउन छाेडेपछि खानेपानीकाे समस्या बढ्दै गएकाे छ।
धारामा नियमित पानी आउन छोडेपछि स्थानीय एक घण्टा पैदल हिँडेर चैनखोला, हुलुम खोला, नाउला, नाउर र कार्कीबाडामा रहेका धारामा जाने गरेका छन्।
खडेरीले गमगढी बजारमा मात्र पानीकाे समस्या देखिएकाे छैन, मुहान सुक्दै गएपछि गाउँघरमा समेत खानेपानीको हाहाकार हुन थालेकाे छ।