१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
तिवारी यादव वीरगन्ज
Invalid date format १५:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्वास्थ्यमन्त्री यादवले गरे नारायणी अस्पतालको निरीक्षण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:३४:oo

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले मंगलबार नारायणी अस्पतालको अनुगमन गरेका छन्। 

गृहनगर पुगेका मन्त्री यादवले मधेश प्रदेशकै प्रमुख स्वास्थ्य केन्द्रका रूपमा परिचित नारायणी अस्पतालस्थित ओपिडी, फार्मेसी, पोस्टअप, ल्याबलगायत अनुगमन गर्दै त्यहाँ उपचाररत बिरामी र कुरुवासँग समेत कुराकानी गरेका हुन्। 

कुराकानीका दौरान मन्त्री यादवले उनीहरूसँग उपचार, चिकित्सक र स्वास्थ्यकर्मीहरूले गर्ने व्यवहार, औषधिको उपलब्धता र अस्पतालमा उपलब्ध अन्य सेवाको गुणस्तरबारे बुझेका थिए।  

बिरामीले अस्पतालस्थित फार्मेसीमा सबै प्रकारका औषधि उपलब्ध नरहेको, ओपिडी टिकट काट्ने काउन्टरमा बढी भिडभाड रहेको, चिकित्सकहरूले ओपिडीमा पर्याप्त समय नदिएको गुनासो गरेका थिए। 

मन्त्री यादवले बिरामीले गरेकाे गुनासोलाई यथाशीघ्र सम्बोधन गर्न अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. एनामुल हकलाई निर्देशन दिए। 

फार्मेसीमा औषधिको व्यवस्थापनका लागि मन्त्रालयसँग बजेट माग गर्न र ओपिडी सेवाका लागि आउने बिरामीको सहजताका निमित्त टिकट काउन्टर थप्दै सो स्थानलाई वातानुकूलित बनाउन पनि निर्देशन दिए। 

अनुगमनपश्चात् मन्त्री यादवले अस्पताल विकास समितिका सदस्य, मेसु, चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरूसँग पनि छलफल गरे। 

सो क्रममा मेसु डा. हकले भवन पुरानो हुँदा बिरामीको उपचारमा समस्या आइरहेको दुखेसो पोखे। उनले भने, ‘अस्पतालमा रहेका अधिकांश भवनको अवस्था जर्जर छ। वर्षायाममा पानी चुहिँदा बिरामीको उपचारमा कठिनाइ आउँछ।’

डा. हकले नारायणी अस्पताल तीन सय ५० बेडमा स्तरोन्नति भएको वर्षौँ बितिसक्दा पनि कर्मचारी दरबन्दी सय बेडअनुसारकै रहेको बताए। ‘दरबन्दी नहुँदा जनशक्ति अभाव छ। हामीले अपेक्षित ढंगबाट सेवा प्रवाह गर्न सकेका छैनौँ। बेडअनुसारको दरबन्दी कायम गर्न मेरो आग्रह छ,’ उनले भने। 

उनले क्वार्टर, मेसिनरी र अन्य पूर्वाधार अभावलगायतका समस्या पनि मन्त्रीसमक्ष राखेका थिए।