१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार १o:५३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

विकदम्पतीको पीडा- 'भन्छन्, कम्मरबाट दिसा गराएर छाेराेलाई सात वर्षको बनायौँ’

आर्थिक अभावले सात वर्षीय बालकको पूर्णरुपमा उपचार हुन सकेन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १o:५३:oo

सात वर्षीय आशिष विक । जसको जन्मजात मलद्वार थिएन । आशिष रेसुंगा नगरपालिका– १४ का बाबुराम र कमला विश्वकर्माका छोरा हुन् । पहिलो सन्तानको जन्मले विकदम्पतीमा खुसीको सीमा रहेन । तर, मलद्वार नभएको पत्तो लागेपछि विकदम्पतीलाई पीडा भयो । त्यस्तो अवस्थामा कसैले पनि बच्चा बाँच्ने कल्पना पनि गरेनन् । बुबा–आमाले पाल्पा मिसन अस्पताल पुर्‍याए । अस्पतालले कम्मरबाट दिसा गर्ने ठाउँ बनाइदिएर पठायो ।

विकदम्पतीले चार वर्षसम्म निकै सकसले छोरो हुर्काए । चार वर्षसम्म आशिष राम्रोसँग उठ्न सक्दैन थिए । ‘एकछिन छोड्न मिलेन । दिसापिसाब स्याहार गरेरै चार वर्ष झेँलेँ,’ कमलाले भनिन्, ‘कोखबाट दिसा हुँदा चिसो भएर बाबु पटक–पटक बिरामी हुन्थ्यो ।’ आर्थिक रूपमा घरको अवस्था राम्रो नभएपछि बिरामी छोरा र श्रीमती छोडेर बाबुराम भारत गए । तर, छोराको स्याहार र उपचारमा समस्या भएपछि एक वर्षमै घर फर्किए ।

उनीहरूले बच्चाको पीडा बढ्दै गएपछि काठमाडाैंको कान्ति बाल अस्पतालमा तीनपटक लगे । तर, उपचारको विकल्प ननिस्किएपछि बच्चा लिएर विकदम्पती घर फर्किए । दुई वर्ष कतै उपचारमा लैजाने अवस्था परिवारले देखेन । 

कमला भन्छिन्- अस्पतालमा देउता भेटेँ

आशिष गत कात्तिकमा चिसोले बिरामी परेपछि बाबुराम र कमलाले गुल्मी अस्पताल तम्घास ल्याए । बच्चाको अवस्थाबारे अस्पतालमा गाइँगुइँ चल्यो । त्यही वेला नेपाल रक्तदाता स्वमंसेवी समाज गुल्मीका अध्यक्ष ध्रुव पाण्डेयले बच्चा देखे । बच्चाको कारुणिक अवस्था देखेपछि आफ्नो सर्कलमा पाण्डेयले कुरा गरेर सहयोग संकलन अभियान सुरु गरे ।

केही रकम संकलन भएपछि करिब तीन महिनापछि गत फागुनमा आशिषलाई विकदम्पतीले काठमाडाैं मोडल अस्पताल पुर्‍याए । अस्पतालले उपचार सुरु गर्‍यो । बच्चाको पहिलो शल्यक्रिया सफल भएपछि २६ दिनमा विकदम्पती घर फर्किए ।

वैशाख दोस्रो साता उनकाे दोस्रो शल्यक्रिया पनि भएको छ । रक्तदाता समाजका अध्यक्ष पाण्डेयका अनुसार जिल्लामा आफूलगायतका समाजका पदाधिकारी र सदस्य, कारागारका कैदीबन्दी, महेन्द्र मावि, क्लबलगायतका संस्थाले आर्थिक सहयोग गरेका छन् । यसैगरी काठमाडौंमा सामाजिक अभियन्ता केदारप्रसाद न्यौपाने र मेघा तिमल्सेनाले ठूलो आर्थिक सहयोग गरेर बच्चालाई अहिलेको अवस्थामा ल्याएको पाण्डेयले बताए ।

बच्चाको उपचारमा साढे चार लाख रुपैयाँ लागेपछि अस्पतालकै छुटको कारण करिब साढे तीन लाख खर्चमा उपचार गरिएको समाजले जनाएको छ । बच्चाको शल्यक्रिया अझै गर्नुपर्ने अवस्था छ । समाजले गरेको सहयोगप्रति परिवार निकै खुसी  छ । ‘कैयौँपटक अस्पताल पुगेर फर्कियाैँ । अहिले बल्ल बुझेँ पैसा नभएर उपचार नभएको रहेछ,’ आमा कमलाले भनिन्, ‘गुल्मी अस्पतालमा पाण्डेय सरलाई देउताको रूपमा भेटेँ ।’ 

उनीहरू छोराको उपचार छिटो भएर पूर्ण रूपमा निकाे होस् भन्ने चाहन्छन् । विकदम्पतीलाई अहिले ‘सबै ठीक छ हजुर पैसाकै कमी छ’ भने झैँ भएको छ । अस्पतालले रकम जुटाएर छिटोभन्दा छिटो अर्को शल्यक्रिया गरे बच्चा सामान्य जीवनमा फर्कन सक्ने बताएकाले सबैसँग सहयोगको याचना गरिएको रक्तदाता समाजका संस्थापक अध्यक्ष नवराज मरासिनीले बताए ।

महेन्द्र माविका प्राचार्य तथा समाजका सल्लाहकार कृष्ण मरासिनीले बच्चाको उपचारमा समेत आफूहरूले सहयोग गरेको बताउँदै उपचारपछि परिवारले विद्यालयमा भर्ना गरे सबै खर्च व्यहोर्नेसमेत प्रतिबद्धता जनाए ।

सहयोगका लागि आशिष विश्वकर्माको नाममा रहेको प्रभु बैंक तम्घास शाखाको खाता नम्बर १०५०१३२१७९९०००११ रहेको छ । वा फोन नं ९८६७४९६९५७ मा सम्पर्क गर्न सकिने परिवारले जनाएको छ। 


 

ad
ad