१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
फिफा विश्वकप २०२६ छनोट खेल आयोजनाका लागि रंगशाला मर्मत हुँदै ।
रमेश सुवेदी काठमाडाैं
२o८१ जेठ ६ आइतबार o६:४o:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

राखेप र एन्फाको द्वन्द्व : काठमाडौंमा हुने विश्वकप छनोट फेरि सर्ने जोखिम

आगामी २४ जेठमा दशरथ रंगशालामा हुने तय भएको नेपाल र युएईबीचको फिफा विश्वकप २०२६ छनोट खेलका लागि राखेपले मैदान मर्मत गरिरहेको छ । तर, एन्फाले भने प्रतियोगिता नेपालमै हुनेमा शंका जनाएको छ ।

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o६:४o:oo

फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणमा आगामी २४ जेठमा नेपाल र युएईबीचको खेल दशरथ रंगशालामा हुने तय भएको छ । तर, राष्ट्रिय खेलकुद परिषद्(राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा)को ‘आन्तरिक द्वन्द्व’ले काठमाडौंमा हुने प्रतियोगिता अन्तै सर्ने जोखिम पनि छ । 

राखेपले युएईविरुद्ध हुने दोस्रो चरणको ‘होम गेम’ दशरथ रंगशालामै गराउने योजनाका साथ मैदान मर्मत गरिरहेको छ । तर, एन्फाले प्रतियोगिता आयोजना हुनेमा शंका रहेको बताइरहेको छ । एसियाली फुटबल महासंघ (एएफसी)ले नै यस्तो शंका व्यक्त गरेको उसको भनाइ छ । जानकारहरू भने दुई संस्थाको आन्तरिक द्वन्द्वका कारण यस्तो भइरहेको बताउँछन् । 
एन्फा प्रवक्ता सुरेश शाहले प्रारम्भिक छलफलका क्रममा एएफसीले नेपालमा खेल हुनेमा शंका गरेको बताए । उनका अनुसार दशरथ रंगशालाको ‘फ्लड लाइट, मैदानको पिचको अवस्था र सुरक्षाको विषयमा एएफसीले प्रश्न गरेको छ । ‘एएफसीसँग प्रारम्भिक छलफल भएको छ । फ्लड लाइट, मैदानको अवस्था र सुरक्षाको विषयमा उसको प्रश्न छ,’ शाहले भने, ‘हामी राखेप र एएफसीलाई समन्वय गर्दै प्रतियोगिता नेपालमै गराउन प्रयास गर्नेछौँ ।’ 

राखेप सदस्यसचिव टंकलाल घिसिङले भने प्रतियोगिता दशरथ रंगशालामा नहुने विषयमा एन्फाबाट कुनै पत्र नआएको बताए । कुनै पनि हालतमा नेपालमै खेल गर्न राखेप प्रयासरत रहेको उनको भनाइ छ । पछिल्लो समय पदाधिकारीलाई विदेश भ्रमणमा पठाउने योजनामा राखेप बाधक बनेपछि एन्फाले असहयोग गरेको राखेपको बुझाइ छ । ‘यमनसँगको खेल यहीँ हुने, अब त्यही पूर्वाधारमा युएईविरुद्धको खेल नहुने कुरा हुन्छ ? रातारात एएफसीको पनि मापदण्ड त परिवर्तन पक्कै भएन होला,’ राखेप सदस्यसचिव टंकलाल घिसिङले भने । 

पछिल्लोपटक नेपाल र बहराइनबीचको खेल ८ चैतमा दशरथ रंगशालामै हुने तय थियो । तर, लापरबाही गर्दै एन्फाले रंगशालामा अन्य प्रतियोगिताका लागि राखेपसँग स्वीकृति मागेको थियो । विश्वकप छनोट खेलअघि रंगशाला मर्मत गर्ने जिम्मेवारी पाएको एन्फाले दायित्व पूरा गर्न सकेन । एएफसीका प्रतिनिधि आएर मैदानको दुबो राम्रो नभएको, माटोको सतह नमिलेकोलगायत कारण देखाउँदै प्रतियोगिता नेपालमा नहुने निर्णय गरेपछि खेल बहराइन पुगेको थियो । 

त्यसपछि मन्त्रालय र राखेपको सार्वजनिक आलोचना भएको थियो । बहराइनमा भएको खेलमा नेपाल ५–० ले पराजित भयो । १३ चैतमा बहराइनमै भएको अर्काे खेलमा पनि नेपाल ३–० ले पराजित भएको थियो । बहराइनअघि नेपाली टोली मलेसिया भ्रमणमा गएको थियो । त्यतिखेर एन्फाले बहराइन र मलेसियामा दुई दर्जनबढी पदाधिकारी खेलाडीसँगै पठाएको थियो । 

यो घटनापछि राखेपले दशरथ रंगशालाको सम्पूर्ण जिम्मेवारी आफैँ लिएको छ । एन्फालाई दिएको सबै सुुविधा पनि खोसेको छ । युएईविरुद्ध हुने खेलको टिकट बिक्रीबाट एन्फाले कति पाउने ? कति आम्दानी हुने भन्ने केही टुंगो छैन । त्यसैले पनि एन्फाले नेपालमा खेल गराउने विषयमा आनाकानी गरेको स्रोतको भनाइ छ । 

रातारात मैदानको मापदण्ड परिवर्तन हुँदैन
टंकलाल घिसिङ, सदस्यसचिव, राखेप

मैदान पिच र फ्लड लाइटको अवस्था ठीक छ । परिषद्लाई जवाफ आएको छैन । कुनै पनि हालतमा खेल नेपालमै हुन्छ । पाँच महिनाअघि फ्लड लाइट यही थियो । मैदान यही हो । रातारात मैदानको मापदण्ड चेन्ज हुँदैन । उहाँहरूलाई मन लागेका वेला गराउन हुने, अहिले नहुने भन्ने हुँदैन ।

एएफसी र राखेपसँग सहकार्य गर्छाैँ
सुरेश शाह, प्रवक्ता, एन्फा

दशरथ रंगशालाको फ्लड लाइट, मैदान पिचको अवस्था र सुरक्षाको विषयमा एएफसीले प्रश्न गरेको छ । प्रारम्भिक छलफलमा खेल गराउन आनाकानी गरेको छ । हामी राखेप र एएफसीसँग समन्वय गरेर प्रतियोगिता दशरथ रंगशालामै गराउने प्रयासमै रहनेछौँ । 

ad
ad