१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १६:११:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

उद्योगमन्त्रीको प्रतिबद्धता : कच्चा पदार्थ र तयारी वस्तुमा दुई तहको भन्सार, दोलखाको म्याग्नेसाइट खानी सञ्चालनमा ल्याउने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १६:११:oo

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली उद्योगलाई संरक्षण गर्ने नीतिअनुरूप आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट ल्याइने बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको छलफलमा उनले नेपालमा औद्योगिकीकरण गर्ने नीतिअनुरूप सरकारले बजेट ल्याउने बताएका हुन्।

‘हामीले तयारी वस्तु र औद्योगिक कच्चा पदार्थ आयातमा दुई तहको फरकमा भन्सारदर कायम गर्दै छौँ,’ मन्त्रालयमा भएको उक्त भेटमा मन्त्री भण्डारीले भने, ‘सरकारले यसपटक नेपाली उद्योगलाई संरक्षण गर्ने नीतिअनुरूप नै बजेट ल्याउनेछ, यसका लागि उद्योगी–व्यवसायी ढुक्क हुनुभए हुन्छ।’

मन्त्री भण्डारीले बजेटमार्फत देशमा उद्यमशीलता विकासलाई समेत उच्च प्राथमिकता दिइने बताए। पछिल्लो समय देशमा औद्योगिक वातावरण बिग्रिएको भन्दै अहिलेको अवस्थामा नेपाली उद्योगी–व्यवसायीको आत्मविश्वास बढाउनुपर्ने दायित्व सरकारलाई रहेको र सोहीअनुरूप उद्योगी–व्यवसायीसँग सहकार्य गरेर सरकार अघि बढ्नेसमेत उनले जानकारी दिए। ‘अहिले देशमा पुँजीको विकासका साथै राष्ट्रिय उत्पादन बढाउनुपर्ने जरुरी छ, तर यसका लागि निजी क्षेत्रको साथ र सहयोग चाहिन्छ,’ महासंघ प्रतिनिधिमण्डलसँगको भेटमा उनले भने, ‘यसका लागि सरकार र निजी क्षेत्र सँगसँगै अघि बढ्नेछ।’

यसैगरी, मन्त्री भण्डारीले दोलखामा रहेको ओरियन्ड म्याग्नेसाइट खानीलाई समेत सरकारले तत्काल सञ्चालनमा ल्याउने बताए। ‘उक्त उद्योग लामो समयदेखि बन्द अवस्थामा छ, अब सञ्चालनमा ल्याउन के–कस्ता नीतिगत व्यवस्था गर्नुपर्छ त्यसका लागि सरकार तयार छ,’ उनले भने। सरकारको एक मात्रै नीति देशभित्र औद्योगिक वातावरण निर्माण गर्ने भएकाले उद्योगी–व्यवसायीको सोहीअनुरूप साथ र सहयोग आवश्यक पर्ने बताए।

कार्यक्रममा उद्योगसचिव कृष्णबहादुर राउतले सरकारले आगामी आर्थिक वर्षको नीतिमार्फत देशमा उद्योगी–व्यवसायीको मनोबल उच्च बनाई औद्योगिक वातावरण निर्माण गर्ने नीति लिएको भन्दै हाल देखिएका समस्यालाई बजेटमार्फत सम्बोधन गरिने बताए। ‘नेपाल उद्याेग तथा व्यवसायी महासंघले अहिले जुन समस्याहरू हामीलाई ज्ञापनपत्रमार्फत बुझाउनुभएको छ त्यसलाई उद्योगी र राष्ट्र हितमा हुने गरी बजेटमार्फत सम्बोधन गरिनेछ,’ सचिव राउतले भने।

ad
ad