१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o८:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

 एथलेटिक्समा आशिषले भंग गरे ३६ वर्षअघिको रेकर्ड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:२o:oo

सुदूरपश्चिमका आशिष महरले ३६ वर्षअघिको ट्रिपलजम्पको राष्ट्रिय कीर्तिमान तोडेका छन् । १४औँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्डअन्तर्गत एथलेटिक्सअन्तर्गत जुनियर छात्र ट्रिपलजम्पमा १४.१९ मिटर जम्प गर्दै महरले ०४४ मा धनवीर चौधरीले राखेको १४.०६ मिटरको रेकर्ड भंग गरेका हुन् ।

प्रतियोगिताको बिहीबार जुनियरतर्फ तीन राष्ट्रिय कीर्तिमान बनेका छन् । महरले जुनियरतर्फको राष्ट्रिय रेकर्ड तोड्दा धनवीर पनि  थिए । उनले ३६ वर्षअघिको आफ्नो रेकर्ड तोडेका महरलाई नगदसहित प्रोत्साहन गरेका थिए । छात्रातर्फको ट्रिपलजम्पमा लुम्बिनीकी अनिशा थारू पहिलो भइन् । उनले १०.५७ मिटर जम्प गरिन् । 

छात्रा तीन हजार मिटर दौडमा सुदूरपश्चिमकी देवकीकुमारी धामी जुनियर राष्ट्रिय कीर्तिमानसहित पहिलो भइन् । देवकीले निर्धारित दूरी १० मिनेट ५२.८२ सेकेन्डमा पूरा गर्दै ०७५ मा राममाया बुढाले राखेको १० मिनेट ५७.२ सेकेन्डको कीर्तिमान तोडेकी हुन् । छात्रमा कर्णालीका अजय विकले स्वर्ण जिते ।

उनले दूरी पूरा गर्न नौ मिनेट २४.२ सेकेन्ड समय लगाए ।छात्रा ४ गुणा ४ सय मिटर रिलेमा भावना फर्साल, सरिता खड्का, हिमाली शाही र कृष्णा राना सम्मिलित कर्णाली टोलीले कीर्तिमानी स्वर्ण जिते । कर्णालीले निर्धारित दूरी ४ मिनेट १७.२ सेकेन्डमा पार गर्‍यो । यसअघि लुम्बिनीका अरुणा रिजाल, पूर्णिमा खड्का, पूजा चौधरी र करुणा रिजालको नाममा ४ मिनेट २३.८ सेकेन्डको कीर्तिमान थियो । तीनदिने एथलेटिक्स प्रतियोगितामा योसहित पाँच जुनियर राष्ट्रिय कीर्तिमान बने ।

 एथलेटिक्समा रेकर्ड
पहिलो दिन गण्डकीका गणेश विकले छात्र हाइजम्पमा १.८१ मिटर जम्प गर्दै जुनियर राष्ट्रिय रेकर्ड राखेका थिए । दोस्रो दिन कर्णालीकी सरिता खड्काले छात्रा आठ सय मिटर दौड दुई मिनेट २८.५ सेकेन्डमा पूरा गर्दै कीर्तिमान रचेकी थिइन् । बिहीबारै भएको सटपुटको छात्रमा कर्णालीका बालकुमार नकाल पहिलो भए ।

उनले १२.९५ मिटर टाढा फाले । छात्रामा सुदूरपश्चिमकी कृष्णा बम १०.५७ मिटर टाढा फाल्दै शीर्ष स्थानमा रहिन् । छात्रको दुई सय मिटर दौडमा मधेशका आदेशकुमार यादव पहिलो भए । उनले २२.८ सेकेन्ड समय खर्चे । सुदूरपश्चिमका चन्द्र बोहरा दोस्रो तथा बागमतीका सन्तबहादुर दराई तेस्रो भए । छात्रामा कोशीकी आरती चौधरीले निर्धारित दूरी २८.२ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन् ।

ad
ad