
सुदूरपश्चिम विश्वविद्यालयले वैशाख दोस्रो साता चौथो दीक्षान्त समारोह गर्ने भएको छ। सुदूरपश्चिम विश्वविद्यालयले आगामी आइतबार (९ वैशाख)मा चौथो दीक्षान्त समारोह गर्न लागेको हो। दीक्षान्त समारोहको तयारी अन्तिम चरणमा पुगेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
परीक्षा नियन्त्रक अनुराधा रोकायाले कुल एक हजार तीन सय ३७ विद्यार्थीमध्ये तीन सय ७६ जना प्रत्यक्ष दीक्षित हुने बताइन्। ‘हामीले यसपटक अनलाइन पनि फारम संकलन गरेका थियौँ,' ‘उनले भने, ‘स्थानीयस्तरमै नभएका बाह्य क्षेत्रमा रहेका विद्यार्थीको सहजताका लागि अनलाइन फारम भर्ने व्यवस्था गरेका थियौँ।’
व्यवस्थापन संकाय केन्द्रीय क्याम्पस स्नातकोत्तर तहका विद्यार्थी हेमन्त भट्टले चान्सलर र केन्द्रीय क्याम्पस इन्जिनियरिङ संकाय स्नातक तहका नवीनप्रसाद भट्टले भाइस चान्सलर पदक पाउने भएका छन्।
यस्तै निराकुमारी जोशी, गणेशदत्त शर्मा, वीरेन्द्र चौधरी, हरिप्रसाद अवस्थी, अभिषेक गिरी, सुनील थापा, नवीनप्रसाद जोशी र टार्जन भण्डारीले गोल्ड मेडल पाउन लागेका छन्। यसपटक एमफिलतर्फ पनि चार विद्यार्थी दीक्षित हुन लागेका छन्। शिक्षा र मानविकी संकायका २-२विद्यार्थी दीक्षित हुन लागेका छन्।
प्रधानमन्त्री एवं सुपविका कुलपति पुष्पकमल दाहाल(प्रचण्ड)को अध्यक्षतामा हुने कार्यक्रममा कुमाउ विश्वविद्यालयका कुलपति दिवानसिंह रावतको प्रमुख आतिथ्य हुनेछ। उक्त दीक्षान्त समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठसहित सहभागिता हुनेछन्।
सुदूरपश्चिम विश्वविद्यालयका निमित्त उपकुलपति कर्णबहादुर थापाले यसपटकको दीक्षान्त समारोह समयमै हुने बताए। सुपविका निमित्त उपकुलपति थापाले दीक्षान्त समारोहअघि प्रिसिनेटबाट ग्रेसलिट पारित गर्ने भएकाले कुनै नयाँ निर्णय नहुने भएकाले विवादरहित हुने बताए।