मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
भरत सी
Invalid date format o९:५९:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कार्यदिशा र चार आयामिक विचार

Read Time : > 3 मिनेट
भरत सी
नयाँ पत्रिका
Invalid date format o९:५९:oo

आजको २१औँ  शताब्दीमा क्रान्तिको २०औँ शदीको कार्यदिशाले पुग्दैन । वस्तुस्थितिमा धेरै ठूलो परिवर्तन आएको छ । नेपालमा माओवादी जनयुद्धको धक्का र ०७४ मा बनेको नेकपा (नेकपा) बहुमतको सरकारको असफलतापछि नयाँ स्थिति बनेको छ । त्यसैले यो शताब्दीमा क्रान्तिको नयाँ कार्यदिशा विकासको आवश्यकता छ । जुन विकास प्रक्रियामा एकीकृत जनक्रान्तिको कार्यदिशा प्रवेश गरेको छ । यो कार्यदिशा प्रयोग र परीक्षणमा सफल हुँदै चार आयामिक विचारमा विकास भएको छ । 

नयाँ वस्तुस्थिति र कार्यदिशा :  लेनिनका अनुसार माक्र्सवादको सार ‘ठोस वस्तुको ठोस विश्लेषण’मा अन्तर्निहित छ । यो चौथो औद्योगिक क्रान्तिको युग हो । जो सन् २०१६ मा ‘कलाउस स्कवाब’को ‘द फोर्थ इन्डस्ट्रियल रिभोल्युसन’ पुस्तकसँगै घनीभूत चर्चा र प्रयोगमा छ । यो युग विज्ञान, सूचना, कम्प्युटर र डिजिटल प्रविधिको विकाससँग जोडिएको छ । प्रविधिले मानव समाजमा असाधारण परिवर्तन ल्याएको छ । 

एकीकृत जनक्रान्तिको कार्यदिशा :  क) कारण– एकीकृत जनक्रान्तिको कार्यदिशा संश्लेषणको ठोस कारण नेपालमा माओवादी जनयुद्धले खाएको धक्का र व्यहोरेको असफलता नै हो । असफलता नराम्रो भए पनि नयाँ कार्यदिशा जन्मिनु राम्रो हो ।

ख) इतिहास– मालेमावादी सामाजिक क्रान्तिको विज्ञानमा २०औँ शताब्दीको दोस्रो र चौथो तथा पाँचौँ दशकमा प्रयोग, संश्लेषण र सफल क्रान्तिका ‘सशस्त्र जनविद्रोह’ र ‘दीर्घकालीन जनयुद्ध’ नै आधारभूत कार्यदिशा हुन् । तर, तिनको प्रतिरोधमा पुँजीवादी तथा साम्राज्यवादीले ‘प्रतिविद्रोह’ र ‘प्रतिदीर्घकालीन युद्ध’को रणनीति विकास गरेपछि भने ती कार्यदिशा सफल छैनन् । 

ग) आधार/विशेषता– एकीकृत जनक्रान्तिको कार्यदिशाका निम्न आधार तथा विशेषता रहेका छन् ः अ) भूमण्डलीकृत पुँजीवाद, आ) मध्यमवर्गको विकास, इ) नगर समाजको विकास (गाउँ र सहरको दूरी घट्नु), ई) विज्ञान–प्रविधिको विकास, उ) दलाल पुँजीवादको समस्या, ऊ) देशभक्त शक्तिको उपस्थिति, ऋ) मिश्रित नेपाली समाजको बनोट, ए) माओवादी जनयुद्धको धक्का र अनुभव, ऐ) भूपरिवेष्ठितता । एकीकृत जनक्रान्तिका यी नौमध्ये अघिल्ला चार सार्वभौमिक र पछिल्ला पाँच विशिष्ट नयाँ वस्तुस्थितिका आधार तथा विशेषता हुन् ।

नेपालमा माओवादी जनयुद्धले खाएको धक्का र व्यहोरेको असफलताले गर्दा एकीकृत जनक्रान्तिको कार्यदिशा संश्लेषण आवश्यक भएको छ
 

घ) प्रस्ताव र संश्लेषण– कमरेड किरण नेतृत्वको नेकपा–माओवादीको केसको बैठकमा पहिलोपटक भिन्न (नयाँ कार्यदिशाको अर्थमा एकीकृत सिद्धान्त तथा रणनीति) रूपमा २०७१ सालको सुरुमा विप्वल सीद्वारा ‘एकीकृत कार्यदिशा’को प्रस्ताव गरिएको थियो भने विप्लव नेतृत्वको नेकपाको २०७३ सालको आठौँ महाधिवेशनमा ‘एकीकृत जनक्रान्तिको कार्यदिशा’को रूपमा संश्लेषण गरिएको थियो ।

ङ) प्रयोग र परीक्षण– नयाँ कार्यदिशाको पहिलो प्रयोग पार्टी पुनर्गठनमा भएको थियो । नेपाली कम्युनिस्ट आन्दोलन टुटफुट र विभाजनको लामो शृंखलामा सम्भवतः विनाकुनै तिक्तता तत्कालीन पार्टी प्रमुखलाई चिठी दिएर नयाँ पार्टी बनाएको यो नै पहिलो घटना थियो भने यो नयाँ कार्यदिशा परीक्षणमा सफल र वैज्ञानिक सावित भएको निम्न बुँदामा विश्लेषण गर्न सकिन्छ :

अ) बल र विकल्प– एकीकृत जनक्रान्तिको कार्यदिशामा बल सार्वभौमिक आधारभूत तत्व हो । नेकपाले यो नयाँ कार्यदिशाको प्रयोगद्वारा नै आफूलाई विकल्पका रूपमा विकास गरेको छ । 

आ) प्रतिबन्ध र सहमति– नेकपामाथि सरकारले प्रतिबन्ध लगायो । जसले नेकपालाई वैकल्पिक शक्तिका रूपमा चौतर्फी स्थापित गर्न सकारात्मक योगदान गर्‍यो । सरकारी प्रतिबन्धको उद्देश्य नेकपालाई नष्ट गर्नु थियो, तर सरकार असफल भयो, बरु उल्टै नेकपासँग सहमति गर्न बाध्य भयो ।

इ) चुनाव प्रयोग र बहिष्कार– नेकपाले पछिल्लो स्थानीय चुनाव प्रयोग गर्‍यो । जुन नयाँ कार्यदिशाद्वारा निर्देशित थियो । तर, सामान्य मानिस (जहाँ निश्चित नेता पनि पर्छन्) ले बुझ्न सकेनन् । क्षति सहेरै भए पनि पार्टीले चुनावसम्बन्धी सही बुझाइ स्थापित गर्‍यो । 

ई) समाजवादी मोर्चा र भविष्य– शास्त्रीय मालेमावादी दृष्टिकोणबाट हेर्दा असम्भव लाग्ने ‘समाजवादी मोर्चा’ केवल एकीकृत जनक्रान्तिको कार्यदिशाले सम्भव बनाएको हो । यसले यथास्थिति र प्रतिगमनलाई होइन, परिवर्तनलाई सहयोग गरिरहेको छ । 

च) विकास र संश्लेषण– एकीकृत जनक्रान्तिको कार्यदिशा प्रयोग र परीक्षणमा सफल देखिएको छ । अब यो कार्यदिशामा मात्र सीमित छैन, बरु यो एकीकृत जनक्रान्तिको विचारमा विकास भएको छ र मालेमावादी विशिष्ट विचारको रूपमा संश्लेषणको आवश्यकता छ । जसलाई निम्न चार आयामिक विचारका रूपमा विश्लेषण गरिनेछ :

१. दर्शन– एकीकृत जनक्रान्तिको विचारको पहिलो आयाम दर्शन हो र यसको विकसित नयाँ नियम– ‘अनिश्चय–सम्भावना, रक्षा र रूपान्तरणको नियम’ हो । सचेत प्रयत्न गरिएन भने पुँजीवादको अन्त्य र समाजवाद साम्यवादमा पुग्ने निश्चित देखिएन । त्यसैले पुँजीवादको अन्त्य गर्दै समाजवादलाई साम्यवादमा पुर्‍याउन यो नयाँ नियमले मार्गदर्शन गर्छ भने विपरीतको एकता र संघर्षमा ती विपरीत एक–अर्कामा हुने रूपान्तरणको तीव्रतालाई सम्बोधन गर्न द्वन्द्वात्मक भौतिकवादको बुझाइको व्यावहारिक अपर्याप्ततालाई पनि यो नयाँ नियमले सम्बोधन गर्छ । 

२. राजनीतिक अर्थशास्त्र– ‘एकीकृत स्वामित्व’ दोस्रो आयाम हो । पुँजीवादी निजी र समाजवादी सामूहिक स्वामित्वको विगतको अभ्यासबाट शिक्षा लिएर सामूहिक स्वामित्व (जो आफैँ संक्रमणकालीन हो) को पनि पहिलो चरणको संक्रमणकालीन स्वामित्व आवश्यक देखिएको छ । अहिले नेकपाको ‘उत्पादन क्रान्ति’ यही नयाँ स्वामित्वअन्तर्गत भइरहेको छ ।

३. वैज्ञानिक समाजवाद– एकीकृत जनक्रान्तिको कार्यदिशा, जसको माथि नै विवेचना भइसक्यो । यहाँ थप वर्गीय अधिनायकत्वलाई वैचारिक नेतृत्वमा विकास गर्ने, पार्टी र जनताको संयुक्त सत्ता अभ्यास गर्न एकीकृत निर्वाचन प्रणाली अवलम्बन गर्ने र नयाँ ‘सी’ मानव जाति निर्माण गर्ने कुरा उल्लेख गर्न सकिन्छ ।

४. सामरिक कार्यदिशा– एकीकृत सामरिक रणनीति, जहाँ जनता र पार्टीको एकीकृत अभिव्यक्ति हुन्छ अनि तयारी र पहलकदमीको वैज्ञानिक एकात्मकता हुन्छ । लक्ष्यमा पुग्न सही विचार र जनता, चौतर्फी सबै साधन, तरिका र मोर्चालाई एकीकृत गर्न जरुरी हुन्छ । 

निष्कर्ष :  विश्वमा पहिलो चरणमा समाजवाद आएर ढल्नु र पछिल्लो चरणमा क्रान्ति नहुनुको एउटै कारण समयसापेक्ष कार्यदिशा र विचारको विकास नहुनु हो भने एकीकृत जनक्रान्तिको विकसित विचारले यो समस्याको हल गर्ने प्रयास गरेको छ । जसले कम्युनिस्ट जनमतबहुल नेपालमा इतिहासको पुनरावृत्ति होइन, समाजवादलाई सार्थक बनाई शान्ति र समृद्धि हासिल गर्न सघाउनेछ । 
(सी नेकपाका स्थायी समिति सदस्य हुन्)