१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
एजेन्सी नयाँदिल्ली
२o८१ बैशाख १७ सोमबार १o:o१:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

भाजपाको चुनावी संकल्पपत्र सार्वजनिक : भारतलाई उत्पादनको केन्द्र बनाउने मोदीको घोषणा

संकल्पपत्र महिला, युवा, गरिब र किसानको सशक्तीकरणमा केन्द्रित

Read Time : > 1 मिनेट
एजेन्सी, नयाँदिल्ली
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १o:o१:oo

 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक खर्च बढाउने, पूर्वाधार विकास र भारतलाई विश्वव्यापी उत्पादन केन्द्र बनाउने घोषणा गरेका छन् । आइतबार भारतीय जनता पार्टी (भाजपा)को चुनावी संकल्पपत्र सार्वजनिक गर्दै मोदीले सो घोषणा गरेका हुन् । मोदी तेस्रो पाँच वर्षको कार्यकालका लागि सत्तामा फर्कने आशामा छन् । उनी तथा भाजपाका अन्य नेताहरूले बहुचरणको आमनिर्वाचन सुरु हुनु केही दिनअघि विश्वको सबैभन्दा ठूलो लोकतन्त्रमा पार्टीको तर्फबाट आफ्ना प्रतिबद्धता सार्वजनिक गरे । 

संकल्पपत्र महिला, युवा, गरिब र किसानको सशक्तीकरणमा केन्द्रित छ । ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, ट्रान्सजेन्डरलाई आयुष्मान भारत योजनाअन्तर्गत ल्याइनेछ । तीन करोड घर र सस्तो पाइपलाइन ग्यास संकल्पपत्रमा उल्लेख गरिएको छ । 

मोदीले आफ्नो पार्टीको १० वर्षको शासनमा सुरु गरिएका सामाजिक कार्यक्रमलाई विस्तार गर्ने वाचा गरे । यसमा स्वास्थ्य सेवा, खाना पकाउने ग्यास र निःशुल्क अन्नका साथै गरिबका लागि लाखौँ निःशुल्क घर समावेश छन् । मोदी सरकारले गरिब किसानलाई प्रतिवर्ष ६ हजार भारतीय रुपैयाँ (७३ अमेरिकी डलर) प्रदान गरिरहेको छ । 

प्रधानमन्त्री मोदीले सन् २०१४ मा सत्तामा आएपछि आफ्नो सरकारको नीतिले २५ करोड मानिसलाई गरिबीबाट बाहिर निकालेको बताए । एक अर्ब ४० करोडभन्दा धेरै जनसंख्या भएको भारत विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक हो ।भाजपाका अध्यक्ष जेपी नड्डाले एक प्रतिशतभन्दा कम भारतीय जनता अहिले चरम गरिबीमा बाँचिरहेको बताए । 

भारतको लोकसभा निर्वाचन यही अप्रिल १९ गतेका लागि तय गरिएको छ । १ जुनसम्म हुने निर्वाचनको नतिजा जुन ४ मा घोषणा गरिनेछ । अधिकांश सर्वेक्षणले मोदी र भाजपाको जितको भविष्यवाणी गरेका छन् । यद्यपि, विपक्षी कांग्रेस पार्टीले मोदीले भारतको लोकतन्त्रलाई कमजोर बनाएको र धनी वर्गकोको हितलाई समर्थन गरेको तर्क दिएको छ ।

मोदीले मुलुकभर व्यापक प्रचार गरिरहेका छन् र सन् २०२७ सम्ममा देशको अर्थतन्त्रलाई करिब २७ खर्ब डलरबाट बढाएर ५० खर्ब डलरसम्म पु¥याउने वाचा गरेका छन् । उनले बेलायती उपनिवेशबाट स्वतन्त्र भएको एक सय वर्षको खुसियाली मनाउँदै गर्दा सन् २०४७ सम्ममा भारतलाई विकसित मुलुक बन्ने मार्गमा लैजाने पनि वाचा गरेका छन् ।

प्रधानमन्त्री मोदीले आफ्नो पार्टी भाजपाले भारतलाई औषधि, ऊर्जा, सेमिकन्डक्टर र पर्यटन उद्योगको केन्द्रका रूपमा विकास गर्ने बताए । भारतले आफ्नो रेल्वे, हवाईमार्ग र जलमार्गसहित पूर्वाधारको आधुनिकीकरण गर्ने पनि उनले बताए । साथै, उनले युवाका लागि नोकरी बढाउने र युवा उद्यमीका लागि सस्तो ऋणमा पहुँच पुर्‍याउने उल्लेख गरे । हिन्दुवादी नेताका रूपमा मोदी भारतमा अत्यन्त लोकप्रिय छन् । उनको शासनकालमा देशमा द्रुतगतिमा आर्थिक विकास भएको छ ।

ad
ad