१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o९:२९:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई विजयी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o९:२९:oo

एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई भारी मतले विजयी भएका छन्। दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्ड हलमा शुक्रबार साँझ निर्वाचनमार्फत सम्पन्न आठौँ जिल्ला अधिवेशनमा अध्यक्षका अर्का प्रत्यासी निवर्तमान अध्यक्ष रामप्रसाद दंगाललाई १५२ मतले पछि पार्दै निवर्तमान उपाध्यक्ष राई अध्यक्षमा विजयी भएका हुन्।

अध्यक्षमा विजयी राईले ३३९ मत ल्याउँदा दंगालले १८७ मत मात्र ल्याएको निर्वाचनमण्डलका प्रमुख निर्वाचन अधिकृत लालप्रसाद घिमिरेले जानकारी दिए। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपानिवासी राई सातौँ जिल्ला अधिवेशनमा उपाध्याक्ष निर्वाचित भएका थिए। 

उपाध्यक्षमा राई समूहकै कुमार आचार्य ३५८ मतसहित विजयी भएका छन्। उपाध्यक्षका अर्का प्रत्यासी उपिनकुमार राईलाई २२४ मतले पछि पार्दै निवर्तमान सचिव आचार्य उपाध्यक्षमा विजयी भएका हुन्। 

पाँच पदाधिकारीसहित ९० जनाको जिल्ला कार्यसमितिको सचिवमा सुरेन्द्रकुमार राई यसअघि नै निर्विरोध निर्वाचित भएका छन्। दुवै पक्षमा साझा देखिने राई उपसचिवबाट सचिवमा निर्विरोध चयन भएका हुन्। 

सातजना नेताको प्रतिस्पर्धा भएको उपसचिवमा राजन बञ्जरा विजयी भएका छन्। एकजना खुला उपसचिवका लागि सातजना उम्मेदवारबीच भएको निर्वाचनमा विजयी बञ्जराले १४० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी गीरेन्द्रबहादुर राईले १३५ मत प्राप्त गरेका छन्।  

समावेशी उपसचिवमा कविता राई विजयी भएकी छिन्। उनले ४१२ मत ल्याएर विजयी हुँदा प्रतिद्वन्द्वी भगवती प्रधानले ८० मत मात्र ल्याएकी छिन्। आदिवासी जनजाति कोटामा जुद्धबहादुर पुलामीमगर १३२ मतसहित विजयी भएका छन्।

एकजनाका लागि भएको निर्वाचनमा ६ जनाको प्रतिस्पर्धा भएको थियो। एकजना दलित कोटाका लागि भएको निर्वाचनमा रमेश परियार ‘प्यासी’ २११ मतसहित विजयी भएका छन्। दलित कोटामा चारजनाको प्रतिस्पर्धा भएको थियो। 

दलित महिलामा रेखा रम्तेल १५० मतसहित विजयी भएकी छिन्। उक्त कोटामा तीनजनाको प्रतिस्पर्धा भएको थियो। खुला महिला कोटामा कुसुम राई, प्रतिमा विष्ट (पौडेल), पुण्यकुमारी मगर र हीराकुमारी वन (गिरी) विजयी भएका छन्। चारजनाको कोटामा ६ जनाको प्रतिस्पर्धा भएको थियो। 

खुला कोटामा अनिश कार्की, अषिश राई, जगत राई, लोकेन्द्र राई र सनमान खड्का विजयी भएका छन् । पाँचजनाको कोटामा १७ जनाको प्रतिस्पर्धा भएको निर्वाचन समितिले जनाएको छ।

लेखा समिति उपाध्यक्षमा निर्मला थापा (आचार्य) विजयी भएकी छिन्। लेखा समिति उपाध्यक्षमा विजयी आचार्यले नन्दकुमार तामाङलाई १०७ मतले पछि पारेकी हुन्।  

भूगोलअन्तर्गत दुईवटा स्थानीय तहको मात्र निर्वाचन भएको थियो। दश स्थानीय तह रहेको जिल्लामा हलेसी तुवाचुङ नगरपालिका र ऐँसेलुखर्क गाउँपालिकाको लागि मात्र भूगोलअन्तर्गतको निर्वाचन भएको हो। 

हलेसी तुवाचुङ नगरपालिकामा दुई महिला सदस्यका लागि निर्वाचन भएको थियो। तीनजनाको प्रतिस्पर्धा भएको निर्वाचनमा उर्मिला विश्वकर्मा, कुन्ताकुमारी बुढाथोकी र टार्मिला राई विजयी भएका छन्। 

तीन सदस्यको लागि निर्वाचन भएको ऐँसेलुखर्क गाउँपालिकामा कृष्णकुमार राई, टेकेन्द्र राजभण्डारी र फूलकमल राई विजयी भएका छन्। चारजनाको प्रतिस्पर्धा भएको उक्त निर्वाचनमा गणेशबहादुर नेपाल पराजित भएका छन्।  

भूगोलअन्तर्गत अन्य स्थानीय तहमा सर्वसम्मत सदस्य चयन भएको निर्वाचन समितिले जनाएको छ। भूगोलबाट आएका जिल्ला सदस्यहरूको नामावली निर्वाचन समितिले यसअघि नै सार्वजनिक गरेको थियो। 

चैत–२८ गते एमालेका केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उद्घाटन गरेको एमाले खोटाङको आठौँ जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि निर्वाचनमा होमिएको थियो। अधिवेशनमा स्थायी समिति सदस्य एवं कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राई, पोलिटब्युरो सदस्य विशाल भट्टराई, खोटाङ इन्चार्ज एवं खानेपानीमन्त्री राजेन्द्र राईलगायतको उपस्थिति रहेको थियाे।

अध्यक्षमा विजयी राईलाई पोलिटब्युरो सदस्य विशाल भट्टराईलगायतको साथ रहेको थियो। पराजित दंगाललाई केन्द्रीय सदस्यहरू उषाकला राई, रमेश पौडेल, खगेन्द्र राईलगायतको साथ रहेको थियो थियो।

तीन/तीनजना केन्द्रीय सदस्यको साथ पाएको निवर्तमान दंगालको प्यानेल (समूह) नै पराजित भएकाे छ । निर्वाचनमा ५३९ मत खसेको जनाइएको छ। आठौँ जिल्ला अधिवेशनमा ५६६ जना प्रतिनिधि सहभागी भएको एमाले खोटाङले जनाएको छ। 

ad
ad