१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
तस्बिर : भैरव माध्यामिक विद्यालय नराकोटमा अध्ययनरत विद्यार्थी। मानदत्त रावल/नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १२:४८:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जुम्लामा शिक्षाकाे गुणस्तर खस्किँदो, सिँजाका चार विद्यालयको नतिजा शून्य

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १२:४८:oo

सिँजा गाउँपालिकाले सञ्चालन गरेको पालिकास्तरीय कक्षा आठको परीक्षाकाे नतिजा निराशाजनक देखिएको छ।

सिँजा गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले कक्षा आठको वार्षिक परीक्षा २–९ चैतसम्म सञ्चालन गरेको थियो। १२ वटा विद्यालयका विद्यार्थीको परीक्षाका लागि पाँचवटा परीक्षा केन्द्र तोकिएको थियो।कालिका आधारभूत विद्यालय गोँराबाट २१ जना विद्यार्थी परीक्षामा सहभागी भए। तीमध्ये एकजना मात्रै ग्रेडवृद्धिमा परे। 

यस्तै, महादेव माध्यमिक विद्यालय गोठीपिँगीबाट १९ जना विद्यार्थी परीक्षामा सहभागी भए। यो विद्यालयबाट पनि एक विद्यार्थीले मात्रै ग्रेडवृद्धि गर्न सफल भए। यस्तै, देउती आधारभूत विद्यालयका १० जना विद्यार्थी परीक्षामा सहभागी भए र सबै विद्यार्थी अनुत्तीर्ण रहे। 

यस्तै, अर्को कैलाश माध्यमिक विद्यालय फुङग्रका ३६ जना विद्यार्थीले कक्षा आठको वार्षिक परीक्षामा सहभागिता जनाए। उनीहरूमध्ये एक उत्तीर्ण र पाँचजना ग्रेडवृद्धिमा परे। 

भैरव माध्यमिक विद्यालय पालिकाको मुकाम नराकोटमा रहेको विद्यालय हो। नराकोट मुकामको मुटु नराकोटमै रहेको विद्यालयबाट २८ जनाले परीक्षा दिए। तर, त्यहाँ पनि चार परीक्षार्थी उत्तीर्ण र सातले ग्रेडवृद्धि गरे बाँकी अनुत्तीर्ण रहे।

माध्यमिक विद्यालय चुलेलगाउँबाट २७ विद्यार्थीले परीक्षा दिए। चारजना उत्तीर्ण र सातले ग्रेडवृद्धि गरे। बाँकी विद्यार्थी असफल रहे। शारदा आधारभूत विद्यालय गाडापानीबाट २२ जना परीक्षार्थीमध्ये एक उत्तीर्ण र दुईले ग्रेडवृद्धि गरे। 

फुटासिली आधारभूत विद्यालयका १० जनामध्ये ६ जना उत्तीर्ण र दुईजना ग्रेडवृद्धिमा परेको जनाएको छ। जनज्योति आधारभूत विद्यालय रुगाका एक परीक्षार्थी मात्रै ग्रेडवृद्धिमा परे।

माध्यमिक विद्यालय जोडुबाट २२ जना विद्यार्थीमध्ये दुईजना उत्तीर्ण र चारजना विद्यार्थी ग्रेडवृद्धिमा परे। केदारनाथ आधारभूत विद्यालय बारेगाउँका ११ जना विद्यार्थीमध्ये तीनजना विद्यार्थी उत्तीर्ण र चार विद्यार्थी ग्रेडवृद्धिमा परेका छन्।  

मालिका माध्यमिक विद्यालय धापाका ६४ जना विद्यार्थीमध्ये २५ जना विद्यार्थी उत्तीर्ण र १३ विद्यार्थी ग्रेडवृद्धिमा परे। यस्तै, देउती आधारभूत विद्यालय भाडगाउँका प्रधानाध्यापक मानबहादुर रावतका अनुसार परीक्षामा सबै विद्यार्थी फेल हुनुको कारण विद्यार्थी, शिक्षक र अभिभावक सबैको कमजोरी देखियो। 

उनले भने– विद्यार्थी ६ घण्टा मात्रै शिक्षकको निगरानी हुन्छन्। १८ घण्टा अभिभावकसँग हुन्छन्। शिक्षाको गुणस्तरमा यो परीक्षाको नजिताले पुष्टि गरेका छ। अब पनि सुधार नभएको खण्डमा शिक्षक, विद्यार्थी र अभिभावककाे भविष्य अन्याेल नै देखिन्छ। 

कालिका आधारभूत गोराकी प्रधानाध्यापक माग्ली शाहीले भनिन्– प्राविको शिक्षकले कक्षा आठसम्म पढाउनुपरेको छ। विषयगत शिक्षक दरबन्दी छैन। हरेक वर्ष पाठ्यक्रम परिवर्तन भएको हुन्छ। हामीमा दक्षता कमी नै भएर होला परीक्षाको नतिजा शून्य आएको छ। गणित विषयको एक अनुदान कोटा शिक्षक, चारजना स्थायी दरबन्दी र एकजना इसिडी शिक्षक छौँ। ६ जना विद्यार्थीले आठ कक्षासम्म पढाउनुपरेको छ। 

यस्तो नतिजा आउनुमा विद्यार्थी, अभिभावक र शिक्षकको उत्तिकै जिम्मेवार रहेको उनले बताइन्। भनिन्– विद्यार्थीमा पनि अध्ययनको जागरुकता छैन। नियमित विद्यालय नआउने, आए पनि दिउँसो भागेर विद्यार्थी घर जाने गर्दछन्। अभिभावकले पनि आफ्नो बच्चा पढ्छ, पढ्दैन हेर्नुपर्दछ। 

कक्षा आठको वार्षिक परीक्षामा शून्य उत्तीर्ण भएको विद्यालय महादेव मावि गोठीपिंगीका प्रधानाध्यापक कृष्ण शाहीले भने– यो नतिजाले लज्जित नै बनायो। 

वर्षभरि पढाएर नतिजा सन्तोषजनक नहुनु दुःखद पक्षले हो। विद्यालयमा शिक्षक दरबन्दी पनि अभाव नै छ। प्रावि तहका शिक्षकले निमावि, मावि कक्षा पढाउनुपर्ने स्थिति छ। शिक्षक दरबन्दी अभाव छ। शिक्षक, अभिभावक र विद्यार्थी सवै पक्षको कमजोरी देखिएको छ। 

शैक्षिक सत्र पनि हिमाली जिल्लाको सुहाउँदो भएन। चिसोको कारण हिमाली जिल्ला जुम्लामा पुस र माघमा विद्यालय बन्द नै हुन्छन्। फागुनमा पनि राम्रोसँग पढाइ नहुँदा पढेका कुरा विद्यार्थीले बिर्सिसकेका हुन्छन्। घरमा विद्यार्थी पढ्ने वातावरण पनि नहुदा सन्तोषजनक नतिजा नआएको उनले बताए। 

विद्यार्थीले औपचारिक शिक्षा प्राप्तमा बेवास्ता, अभिभावकले छोराछोरीको पढाइप्रति चासो नदिनु, दरबन्दीअनुसार शिक्षक नहुनु, विषयगत शिक्षक नहुनु, प्रावि तहका शिक्षकले निमावि, मावि तहसम्म पढाउनुपर्ने शिक्षामा समस्या छन्। 

शिक्षामा राजनीतीकरण हुनु, शिक्षक विद्यालयमा नियमित उपस्थित नहुनु, तालिमप्राप्त दक्ष शिक्षक नहुनु, भएका शिक्षकले दक्षता प्रयोगमा ल्याउन नसक्नु, अनुगमन मूल्यांकन प्रभावकारी नहुनु,  शैक्षिक वातावरण नहुनु, शिक्षक नियुक्तिमा आफ्न्त, राजनीतीकरण हुनुले शिक्षाको गुणस्तर बिग्रेको हो। 
 
सिँजा गाउँपालिकाको यो नजिता एक उदाहरण मात्रै हो। जिल्लाको शैक्षिक गुणस्तर निकै खस्किँदो अवस्थामा रहेको राष्ट्रिय मानव अधिकार आयोग जुम्लाका प्रमुख धनराज शाहीले बताए। उनले भने– सरोकारवाला निकाय, अभिभावक, शिक्षक र विद्यार्थीको सोचनिय विषय बनेको छ। 

सिँजा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख शंकर धितालले भने, ‘शिक्षामा गुणस्तर ल्याउनका लागि कक्षा आठको परीक्षा एसइईसहर मर्यादित बनाएका थियौँ ।’ उनले भने, ‘अन्तरविद्यालय परीक्षा केन्द्र बनाएका थियौँ। शिक्षाको गुणस्तर मापन गर्नकै लागि मर्यादित परीक्षा सञ्चालन गर्दा वास्तविक परीक्षाको नतिजा आएको हो।’  

कक्षा आठको वार्षिक परीक्षामा दुई सय ७४ जना सहभागी परीक्षार्थी मध्ये ४६ जना उत्तीर्ण भएका छन्। ४७ जना विद्यार्थी ग्रेडवृद्धिमा परेका छन्। एक सय ८१ जना विद्यार्थी अनुत्तीर्ण भएको शाखा प्रमुख धितालले बताए। 

शिक्षा क्षेत्रमा लामो अनुभव भएका सिँजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल पूर्वशिक्षक हुन् । शिक्षा क्षेत्रको अनुभव भएका अध्यक्ष धितालले भने, ‘यो कक्षा आठको परीक्षा नतिजाले शिक्षा गुणस्तर मापन भएका छ। उनले भने बिरामी भएको शिक्षा गुणस्तरका मापन गर्न एक्सरे गरेका हौँ। एक्सरेले शिक्षामा जे हो त्यही देखिएको छ। अब हामीलाई शिक्षा सुधारात्मक काम गर्न नतिजाले प्रेरित गरेको छ।’ 

 

ad
ad