१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
राखेपको ६०औँ वार्षिकोत्सवमा पुरुषतर्फ एथलेटिक्सका दीपक अधिकारीलाई अवार्ड प्रदान गर्दै प्रधानमन्त्री प्रचण्ड । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o८:२७:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

खेलकुदको बजेट बढाउने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:२७:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेलकुद क्षेत्रको बजेट बढाउने प्रतिबद्धता गरेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ६०औँ वार्षिकोत्सवमा प्रचण्डले खेलकुद क्षेत्रको विकासमा बजेट बढाउने प्रयास गर्ने जनाएका हुन् । ‘सुरुदेखि नै खेल क्षेत्रलाई प्राथमिकतामा राखेको छु, यसपटक बजेटको आकार बढाउन सक्दो पहल गर्नेछु,’ उनले भने । खेलाडीलाई दिन बाँकी पुरस्कार रकमसमेत तत्काल दिलाउने प्रयास हुने र त्यसतर्फ सरकारको ध्यानाकर्षण भइरहेको प्रचण्डले बताए । ‘खेलाडीलाई प्रोत्साहन गर्न पुरस्कार धनराशि पनि मन खोलेरै दिनुपर्छ भन्ने पक्षमा छु, सँगसँगै खेलाडीलाई दिन बाँकी पुरस्कार रकम छिट्टै निकासा हुनेछ,’ उनले भने । 

कार्यक्रमलाई दुई घण्टा समय दिएका प्रधानमन्त्री प्रचण्डले नेपालका लागि खेलकुद क्षेत्र बहुआयामिक सम्भावनायुक्त क्षेत्र भएकाले यसको विकासमा सरकारले विशेष ध्यान दिने बताएका छन् । ‘यो एउटा यस्तो क्षेत्र हो, जहाँ खेल कूटनीतिमार्फत ठुल्ठूला युद्ध र मानवसिर्जित विपत्ति समाधान भएका छन्, ठुल्ठूला द्वन्द्व र सम्भावित नरसंहार टरेका छन्,’ उनले भने, ‘खेल कूटनीतिमार्फत आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनर्मिलनका आधार खडा भएका छन् । त्यसैले शारीरिक र मानसिक विकासका साथै अर्थतन्त्रको सुदृढीकरण, कूटनीतिक सन्तुलन र सहकार्य एवं देशको बहुआयामिक विकासका निम्ति खेल क्षेत्रको भूमिका निर्णायक देखिँदै आएको छ ।’

उनले सरकार खेल क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिको प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीति निर्माण गर्न र संस्थागत एवं संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिबद्ध रहेको बताए । पछिल्लो समय राष्ट्रियस्तरमा खेलकुदको विकास र अन्तर्राष्ट्रिय पदक हासिल हुँदा खेलाडीमा आत्मविश्वास बढ्दै गएको उनको भनाइ छ । चीनमा सम्पन्न १९औँ एसियाली खेलकुदमा नेपालले राम्रो नजिता हासिल गरेको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले पोखरा, बेलझुन्डी र च्यासल रंगशाला निर्माण सम्पन्न गरिएको जानकारी दिए । 

पछिल्लो समय महिला खेलाडीले देशभित्र र बाहिर कीर्तिमान हासिल गरेको उल्लेख गर्दै उनले यस्ता उपलब्धिले देशका लागि उत्प्रेरणा प्रदान गरेको जनाए । मूलपानी, भरतपुरको गौतमबुद्ध र विराटनगरको रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी निर्माण शीघ्र सम्पन्न गर्न उच्च महत्व दिएको उनको भनाइ रह्यो । 

प्रधानमन्त्री प्रचण्डले अहिले पनि आफू बिहान पसिना निस्कने गरी टेबलटेनिस खेल्ने गरेको बताए । ‘आजभोलि मेरो बिहानी टेबलटेनिस खेलेर बित्छ । पहिला–पहिला फुटबल खेल्थेँ । बिहान फुटबल र बेलुका संगीत सुन्छु । म पहिलोपटक प्रधानमन्त्री हुँदादेखि नै खेल र संगीतलाई प्राथमिकतामा राख्दै आइरहेको छु,’ उनले भने, ‘राखेपका सदस्यसचिव र खेलकुदमन्त्री युवा छन् । म पनि झन्डै–झन्डै उहाँजस्तै युवा हुँ ।’

मन्त्री र सदस्यसचिवलाई साथ
प्रधानमन्त्री प्रचण्डले खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेपका सदस्यसचिव टंकलाल घिसिङ दुवै युवा भएकाले खेलकुद ऊर्जावान हुने विश्वास लिएका छन् । ‘अहिले संयोग मान्नुपर्छ, खेलकुदमा मन्त्री र सदस्यसचिव युवा हुनुहुन्छ । उहाँहरू दुवैलाई मेरो साथ छ । उहाँहरूले खेल क्षेत्रमा केही गर्नुपर्ने दृढ शक्ति र संकल्प लिनुभएको छ, यो सम्बन्धले गुणात्मक प्रगति हुनेमा विश्वास लिएको छु,’ उनले भने । 

ऐन संशोधन छिट्टै
खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ संशोधन गर्ने बताएका छन् । ऐनमा केही बुँदा बाझिएको र त्यसलाई राखेपको सहयोगमा संशोधन गर्ने मन्त्री श्रेष्ठले बताए । ‘ऐनमा संशोधन गर्नुपर्ने देखिएको छ । यसैमा राखेपसँग काम गरिरहेको छौँ । पहिलो चरणको काम सकिएपछि निचोडमा पुग्छौँ,’ उनले भने । आगामी एक वर्षमा खेलकुदमा देखिने गरी काम गर्ने र राखेपको ६१औँ वार्षिकोत्सव भव्य बनाउने उनले घोषणा गरे । ‘खेलकुदमा धेरै गर्नुपर्नेछ । यसअघि कसैले नबुझेजस्तो लाग्यो, तर यहाँ उत्साह र ऊर्जा छ । सानो बजेट भएपछि यसलाई देखिने गरी काम गर्न सकिन्छ,’ उनले भने, ‘आगामी वर्षमा तपाईंहरूले केही परिवर्तन भएको देख्न पाउन हुनेछ ।’ खेलकुदमा सानो बजेट रहे पनि ७५३ स्थानीय तहका जनप्रतिनिधिबाट बजेट माग भएपछि त्यसलाई परिपूर्ति गर्न गाह्रो भएको उनको धारणा रह्यो । यसैबीच राखेपका सदस्यसचिव टंकलाल घिसिङले खेलकुदमा पछिल्लो वर्ष कुल बजेटको ०.०६ प्रतिशत मात्र रहेको जनाए । यसपटक उनले यो ०.१२ प्रतिशत हुन सक्ने जनाए । 

दीपक र सुष्मा सर्वाेत्कृष्ट खेलाडी 
राखेपले आफ्नो ६०औँ वार्षिकोत्सवका अवसरमा पुरुषमा एथलेटिक्सका दीपक अधिकारी र महिलामा बक्सिङकी सुष्मा तामाङलाई सर्वोत्कृष्ट खेलाडीबाट पुरस्कृत गरेको छ । दुवैले जनही समान एक लाख पुरस्कार पाए । राखेपले सुष्मा र दीपकसहित पाँच खेलाडी तथा १८ जनालाई सम्मान गरेको छ । जुनियर पुरुषमा क्रिकेटका अर्जुन कुमाल र महिलामा पौडीकी डुवाना लामाले सर्वोत्कृष्ट खेलाडीको अवार्ड हात पारे । पारा एथलिट खेलाडीको अवार्ड पौडीका भीमबहादुर कुमालले जिते । नवलपरासीको मध्यविन्दु नगरपालिकालाई उत्कृष्ट स्थानीय तह तथा नेपाल भलिबल संघलाई उत्कृष्ट राष्ट्रिय खेल संघबाट सम्मानित गरिएको छ । कर्मचारीतर्फ भोजानन्द राई, सुनीलकुमार दाहाल, शारदा दाहाल, मुम्ताज अली इद्रिसी, मञ्जुर आलम खान, उमादेवी गुरुङ, विन महर्जन र राज श्रेष्ठ पुरस्कृत भए । खेलपत्रकारमा दुर्गानाथ सुवेदी र सविना कार्की सम्मानित भए । 

ad
ad