१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १४:३१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

उत्तरपुस्तिका हराएको विषयमा अध्ययन भइरहेको छ : शिक्षामन्त्री श्रेष्ठ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १४:३१:oo

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयले लिएको परीक्षाका केही उत्तरपुस्तिका हराएको विषयमा छानबिन समिति गठन गरी अध्ययन भइरहेको बताएकी छिन्। 

प्रतिनिधिसभाको आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले उठाएका प्रश्न तथा विषयमाथि जवाफ दिँदै उनले तोकिएको परीक्षा तालिका परिवर्तन भएको विषयमा पनि छानबिन समिति गठन भई अध्ययन सुरु भएको बताइन्।  

‘प्रतिनिधिसभामा यही चैत १ देखि २० गतेसम्म शिक्षा मन्त्रालयसँग सम्बन्धित ४५ वटा प्रश्न तथा धारणा उठेका छन्,’ उनले भनिन्, ‘उत्तरपुस्तिका हराएको, तोकिएको समयमा परीक्षा सञ्चालन हुन नसकेको विषयमा छानबिन समिति गठन गरी अध्ययन भइरहेको छ।’

शिक्षक सेवा आयोगले तोकेको शिक्षक भर्नासम्बन्धी मापदण्डलाई पुनरावलोकनका लागि कार्यदल गठन भएको पनि सांसद श्रेष्ठले बताइन्। 

शिक्षकको अनुमतिपत्र तथा सेवा आयोगको परीक्षामा सोधिने प्रश्नहरूमाथि अध्ययन भइरहेको उनको भनाइ थियो। सूचना प्रविधिको अहिलेको समयमा कस्तो शिक्षकबाट पठनपाठन भइरहेको छ भनेर अध्ययन गर्न विज्ञ सम्मिलित समिति बनाइएको पनि उनले संसद्लाई जानकारी गराइन्। 
     
नेपालमा थप मेडिकल कलेज खोलेर विदेशी विद्यार्थी ल्याउन सकिने–नसकिने विषयमा गृह मन्त्रालयसँग छलफल भइसकेको शिक्षामन्त्री श्रेष्ठले बताइन्। ‘अहिले नेपालमा आउने विदेशीलाई पर्यटक र गैर–पर्यटन भनेर छुट्याइने रहेछ। अध्ययनका लागि आउनेहरूका विषयमा पनि के गर्न सकिन्छ भनेर अध्ययन तथा छलफल भइरहेको छ,’ उनले भनिन्। 

विद्यार्थीले पढाइ शुल्क बुझाउन नसकेका कारण परीक्षामा सम्मिलित हुन नपाएको भन्ने गुनासो आएकोमा त्यसबारे यकिन जानकारी पाउन सके कारबाही प्रक्रिया थाल्ने शिक्षामन्त्री श्रेष्ठले बताइन्। 

त्रिभुवन विश्वविद्यालयबाट गरिने सम्पूर्ण कामलाई डिजिटल प्रविधिमा लैजान बोलपत्र प्रक्रिया अघि बढिसकेको र यसपछि ट्रान्सक्रिप्टलगायतका प्रमाणपत्रहरू डिजिटल रूपमै उपलब्ध गराउने गरी काम अघि बढाइएको उनको भनाइ छ। 

उनले शिक्षामा लगानी बढाउनुपर्ने आवश्यकता रहेको भन्दै प्राविधिक र व्यावहारिक शिक्षालाई थप परिणाममुखी बनाउन मन्त्रालयले काम गरिरहेको पनि जानकारी गराइन्। 

प्राविधिक शिक्षालाई निःशुल्क बनाउने तथा यस्तो शिक्षा लिइसकेका व्यक्तिलाई सीधै श्रमबजारसँग जोड्नेबारे कसरी काम गर्न सकिन्छ भनेर मन्त्रालयले अध्ययन गरिरहेको उनको दाबी छ। 
 

ad
ad