
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै वामपन्थी शक्तिलाई नजिक ल्याउन सरकारको समीकरण फेरबदल गर्ने जोखिम मोलेको बताएका छन् । समाजवादी मोर्चाले मंगलबार काठमाडौंमा आयोजित अन्तर्क्रियामा उनले वामपन्थी शक्तिबीच एकता र सहकार्य भए मात्र समाजवादको यात्रा सहज बन्ने पनि बताए ।
‘म अहिले धेरै व्याख्या गर्न चाहन्न । कमरेडहरूलाई थाहै छ, मैले जोखिम मोलेकै हो,’ उनले भने, ‘नेपाल मात्र त्यस्तो परिस्थितिमा छ जहाँका समाजवादी, राष्ट्रवादीहरू एक ठाउँमा केन्द्रित हुने हो भने समाजवादी देश बन्न सक्छ । यसैले पनि सबैलाई एक ठाउँमा ल्याउन मैले जोखिम मोलेकै हो ।’
संविधानमा थुप्रै पुँजीवादका विशेषता रहेकाले जित हासिल गरेरै समाजवादतिर अगाडि बढ्नुपर्नेमा उनको जोड थियो । ‘यो संविधान पूर्ण छैन । यो सम्झौताको दस्ताबेज हो । संविधानमा पुँजीवादका पनि थुप्रै विशेषता छन्, समाजवादका पनि विशेषता छन्,’ प्रचण्डले भने, ‘पुँजीवादी र प्रतिक्रियावादीले जित्दै गए भने यी उपलब्धि पनि उल्टिनेछन् । हामी एकताबद्ध नहुने हो भने त्यतातिर जाने सम्भावना पनि रहन्छ ।’
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीले आफ्ना कार्यकर्तालाई रूपान्तरण गर्न सके मात्र छिटो समाजवादको आधार तयार हुँदै जाने बताए । ‘हामी जनतासँग जोडिन्छौँ कि जोडिँदैनौँ, बस्तीमा पुग्छौँ कि पुग्दैनौँ कम्युनिस्ट पार्टीहरूले समीक्षा गर्नुपर्छ । भ्रष्टीकरण, कार्यकर्तामा देखिएको व्यक्तिवाद रोक्न सकेका छौँ ? मैले के पाएँबाट सुरु गर्ने प्रवृत्तिबाट कार्यकर्ता रूपान्तरण गर्न सकेका छौँ ? जनताको कुरा बेग्लै हो,’ नेपालले भने । समाजवादी मोर्चाले सरकारले गरेका राम्रा कामलाई प्रोत्साहित गर्नुपर्ने, तर कमजोरी छ भने सुझाव दिएर ध्यानाकर्षण गराउने, जनतामा चेतना जगाउने, विश्वास जगाउने काममा लाग्नुपर्नेमा नेपालले जोड दिए ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिलेको शासकीय स्वरूपबाट समाजवाद नआउने भन्दै संविधान संशोधनमा जोड दिए । ‘अहिलेको संविधानमा समाजवादउन्मुख लेखेको भए पनि, अहिलेको संविधान र संवैधानिक व्यवस्था समाजवादको बाधक छ । यसलाई संशोधन गरौँ । अहिलेको शासकीय स्वरूपबाट समाजवाद हुनै सक्दैन । हामी गरिरहेका छौँ, तपाईंहरूले तमासा हेरिराख्नुभएकै छ । यो शासकीय स्वरूप बदल्नुपर्छ,’ यादवले भने ।
नेकपाका महासचिव तथा समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्दले अहिलेको समस्याको समाधान नेपाली विशेषताको समाजवादबाट मात्र सम्भव रहेको जिकिर गरे । ‘हामी कम्युनिस्टहरूले जनताको कसरी नेतृत्व गर्ने भन्ने स्पष्ट दृष्टिकोण दिएको छ । आजको सबै समस्याको समाधान नेपाली विशेषताको समाजवादबाट मात्रै सम्भव छ । बाहिर केही गलत ढंगले भाष्य निर्माण भइरहेका छन्,’ चन्दले भने । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सत्ता, संसद् र सडक तीनतिरैबाट संघर्ष गरेर समाजवादको आधार तयार गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘अब नीति, कार्यक्रम, संगठन, अभियान र वर्गसंघर्षमा निकटता बढाऔँ,’ खनालले भने, ‘बालुवाटारबाट समाजवाद आउँदैन । सत्ता, संसद् र सडक संघर्ष गरौँ ।’