१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
रमेश रावल सुर्खेत
२o८१ बैशाख २० बिहीबार o६:४२:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

विश्वासको मत लिने कर्णालीका मुख्यमन्त्री शर्माको अडान, एमाले असन्तुष्ट

Read Time : > 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:४२:oo

कर्णालीको मुख्यमन्त्री एमालेलाई दिने निर्णयपछि माओवादी नेताहरू नेतृत्वसँग असन्तुष्ट बनेका छन् । सोमबार बेलुका प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णालीका मुख्यमन्त्री एमालेलाई दिने केन्द्रमा सहमति भएको भन्दै आवश्यक सहयोग गर्न माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्ल र मुख्यमन्त्री राजकुमार शर्मालाई निर्देशन दिएका थिए । तर, पार्टी नेतृत्वको निर्देशनविपरीत मुख्यमन्त्री शर्माले संसद्मा विश्वासको मत लिने बताएका छन् । 

शर्माले मंगलबार प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता गराइसकेको अवस्थामा केन्द्रले गलत तरिकाले सोच्दै नसोचेर निर्णय गरेको माओवादी सांसदहरूको भनाइ छ । केन्द्रको निर्णयपछि अन्योलमा परेका मुख्यमन्त्री शर्माले उपस्थित नहुन नसक्ने भन्दै मंगलबार विश्वासको मत लिएनन् । बेसमय र गलत तरिकाले निर्णय आएको सरकारका प्रवक्ता एवं कानुनमन्त्री कृष्णबहादुर जिसीले बताए । ‘मुख्यमन्त्रीले राजीनामा दिने कुरा नै हुन्न, प्रदेश सभाको कार्यसूचीअनुसार विश्वासको मत लिने कुरा भइसकेको छ,’ उनले भने, ‘संवैधानिक प्रक्रिया अवलम्बन गरेर अघि बढिसकेपछि केन्द्रले निर्णय गर्दा प्रदेशको स्वायत्तता हरण हुने गरेर गर्नु राम्रो हुँदैन ।’

गत वर्ष बालुवाटारमा बसेको तत्कालीन एमाले–माओवादी सत्तागठबन्धनको बैठकले कर्णालीमा पूरै कार्यकाल माओवादीलाई दिने सहमति भएको थियो । तर, तीन महिना नपुग्दै एमाले सरकारबाट बाहिरियो । त्यसपछि कांग्रेस–माओवादी गठबन्धनले पनि मुख्यमन्त्री शर्मालाई नै निरन्तरता दिएका थिए । यद्यपि, पहिलाको सहमति जे भए पनि आपसी सहमतिमा एमालेलाई आधा कार्यकाल सत्ता हस्तान्तरण गर्न आफू तयार भएको मुख्यमन्त्री शर्माले बताउँदै आएका छन् । कर्णाली प्रदेश सभाको बैठक स्थगित भएको छ । मुख्यमन्त्री शर्माको पत्रका आधारमा मंगलबार तय भएको प्रदेश सभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको हो । विशेष कारणवश विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न असमर्थ भएकाले बैठक बुधबारका लागि सार्न आफूले पत्राचार गरेको शर्माले बताए ।

एमाले भन्छ– वार्ता सकारात्मक  दिशामा अगाडि बढेको छ 
मंगलबार दिउँसो कर्णालीका मुख्यमन्त्री शर्माको निवासमा एमाले र माओवादीबीच भएको वार्ता सकारात्मक दिशामा अगाडि बढेको नेताहरूले बताएका छन् । एमाले कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य यामलाल कँडेल, माओवादी कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्ल, पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, मुख्यमन्त्री शर्मा र कर्णाली प्रदेश अध्यक्ष विमला केसीबीच छलफल भएको थियो । कर्णालीको नेतृत्व एमालेलाई दिने केन्द्रमा सहमति भएपछि देखिएको विवाद समाधान गर्न दुवै पक्षका नेताबीच छलफल जारी छ । तर, छलफल सकरात्मक रहे पनि अझै टुंगोमा नपुगेको एमाले कर्णाली इन्चार्ज भट्टले बताए । ‘ठोस सहमति हुन सकेको छैन्,’ उनले भने, ‘छलफल सकारात्मक रूपमा अघि बढेको छ ।’
 

ad
ad