१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० चैत १४ बुधबार ०८:३९:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एसिया कप नेपालले पनि खेल्ने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० चैत १४ बुधबार ०८:३९:००

समूह ‘ए’मा नेपाली महिला क्रिकेट टोलीले आइसिसी वरीयताको दोस्रो स्थानको भारत र आठौँ वरीयताको पाकिस्तानविरुद्ध खेल्ने

श्रीलंकामा आयोजना हुने एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपाली महिला राष्ट्रिय टोलीले पनि प्रतिस्पर्धा गर्ने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसिसी)ले मंगलबार प्रतियोगिता ड्र र खेल तालिका सार्वजनिक गर्दा नेपालले सहभातिगा जनाउने पक्का गरेको हो । गत फागुनमा मलेसियामा भएको एसिसी प्रिमियर कपमा नेपाल सेमिफाइनलबाट बाहिरिएको थियो । एसिसीले यस प्रतियोगितालाई एसिया कपको छनोटको रूपमा राखेको थियो । प्रतियोगिताको फाइनलमा पुगेका मलेसिया र युएईले एसिया कपमा स्थान बनाएका थिए । सेमिफाइनलबाट पराजित नेपाल र थाइल्यान्ड एसिया कप खेल्नबाट वञ्चित भए । 

नेपाल सेमिफाइनलमा मलेसियासँग चार विकेटले पराजित हुँदा एसिया कप खेल्ने सम्भावना समाप्त भएको थियो । तर, एसिसीले आसन्न एसिया कपलाई प्रतिस्पर्धात्मक बनाउने र एसियन क्षेत्रका महिला क्रिकेटरलाई एक्सपोजर गराउने उद्देश्य राखी थप दुई टोली समावेश गर्ने निर्णय गरेको छ । यससँगै नेपालसँगै थाइल्यान्डसमेत एसिया कपमा छनोट भएका हुन् । यो नेपाली महिला टोलीको एसिया कपमा तेस्रो सहभागिता हुनेछ । यसअघि नेपालले २०१२ र २०१६ मा टी–२० एसिया कप खेलेको थियो । 

महिला क्रिकेटरलाई एक्सपोज गराउने उद्देश्य
एसिसीका अध्यक्ष जय साहले एसिया कपमा आठ टोलीबीच प्रतिस्पर्धा गराउने निर्णय भएको जनाएका छन् । ‘हामीले यसपटक एसिया कपमा आठ राष्ट्रबीच हुने निर्णय गरेका छौँ, यसले एसियाको महिला क्रिकेट विकासमा सहयोग मिल्नेछ,’ साहले मंगलबार जारी गरेको विज्ञिप्तमा भनेका छन्, ‘प्रतियोगिताले आयोजक, एसिसी मात्र नभए समर्थकसमेत खुसी छन् ।’ अध्यक्ष साहले विश्वमा एसियन क्षेत्रका महिला खेलाडीहरूको उपस्थित बाक्लो बनाउन पनि एसिया कप माध्यमको रूपमा रहेको जनाए । 

‘एसियन क्रिकेटमा प्रतिभाशाली महिला क्रिकेटर छन्, उनीहरूलाई एक्सपोजको खाँचो भएको महसुस गरेको छु,’ उनले भने, ‘हामीहरूको क्षेत्रबाट आउँदा दिनमा महिला क्रिकेटरले राम्रो प्रदर्शन गर्नेसमेत अपेक्षा लिएको छु ।’ एसिसीको क्यालेन्डरमा महिला अन्तर्राष्ट्रिय टी–२० एसिया कप महŒवपूर्ण प्रतियोगिताको रूपमा रहेको उनले बताए । ‘महिलाहरूबीच खेलिने एसिया कप महत्वपूर्ण प्रतियोगिता हो,’ उनले भने, ‘उनीहरूले यसलाई राम्रो प्लाटफर्मका रूपमा प्रयोग गर्नेछन्, जसले आफूलाई विश्वमा चिनाउने प्रयास गर्नेछन् ।’ 

भारत र पाकिस्तानको समूहमा नेपाल
एसिसीले निकालेको ‘ड्र’ अनुसार नेपाल समूह ‘ए’मा परेको छ । यस समूहमा भारत, पाकिस्तान र युएई छन् । एसिया कप खेल्ने मौका पाएको नेपाल एक किसिमले कठिन समूह परेको छ । संयोग कस्तो रह्यो भने यसै वर्ष पाकिस्तान र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेको ५० ओभरको एसिया कपमा नेपाली राष्ट्रिय पुरुष टोली पनि भारत र पाकिस्तान रहेको समूहमै थिए । नेपालको महिला टोलीले विश्व क्रिकेटकै शक्तिशाली राष्ट्रविरुद्ध प्रतिस्पर्धा गर्न अवसर पाएको छ । नेपालले आफ्नो पहिलो खेल ११ जुलाईमा पाकिस्तानविरुद्ध खेल्नेछ । २२ जुलाईमा युएईसँग प्रतिस्पर्धा गरेको नेपालले समूहको अन्तिम खेलमा २३ जुलाईमा भारतविरुद्ध खेल्ने तालिका छ । 

आइसिसी वरीयतामा भारत दोस्रो स्थानमा
आइसिसीको महिलातर्फको अन्तर्राष्ट्रिय टी–२० वरीयतामा भारत दोस्रो स्थानमा रहेको छ । भारतले दुई सय ६२ रेटिङ अंक जोडेको छ । पाकिस्तान आठौँ स्थानमा छ । पाकिस्तानले दुई सय २१ रेटिङ प्राप्त गरेको छ । भारत र पाकिस्तानका प्रतिद्वन्द्वी नेपाल आइसिसीको वरीयताको २१औँ स्थानमा छ । नेपालले ३२ खेलमा ९७ रेटिङ हात पारेको छ । नेपालको अर्का प्रतिद्वन्द्वी युएई वरीयताको १६औँ स्थानमा छ । समूह ‘बी’मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्यान्ड रहेका छन् । प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।