१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार o७:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सशस्त्र प्रहरी बलको एक प्लाटुन फौज चौबीसै घण्टा सीमा गस्तीमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o७:३२:oo

‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’अन्तर्गत सशस्त्र प्रहरी बल नेपालले चौबीसै घण्टा सीमा क्षेत्रमा गस्ती परिचालन गर्न थालेको छ । ‘सीमा पैदल गस्ती परिचालनसम्बन्धी अवधारणापत्र, २०८०’ तयार गरी लागू गर्दै सशस्त्रले सीमा सुरक्षामा थप सक्रियता बढाएको हो । 

अन्तर्राष्ट्रिय सीमा इलाकामा एक प्लाटुन सशस्त्र प्रहरी बल नेपालको फौज परिचालनमार्फत सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले यो अवधारणापत्र तयार गरी लागू गरिएको सशस्ध प्रहरी सहप्रवक्ता शैलेन्द्र थापाले बताए । अब प्रत्येक प्रदेशमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा एक प्लाटुन टोली चौबीसै घण्टा सीमा गस्तीमा तैनाथ रहनेछ ।

सीमासँग जोडिएका जिल्लाहरूका सीमास्तम्भ तथा दशगजा क्षेत्रको सुरक्षा, सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण, सीमा अतिक्रमणको अनुगमन तथा रोकथाम, सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण तथा गैरकानुनी गतिविधि नियन्त्रण गर्न थप प्रभावकारी बनाउने उद्देश्यले यो अवधारणापत्रसहित फौज परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ। यसका साथै सशस्त्र प्रहरी बल र छिमेकी मित्रराष्ट्रका समकक्षीसँग समन्वय र सहकार्यमा समेत सहयोग पुग्ने सहप्रवक्ता थापा बताउँछन्।

जिम्मेवारी इलाकाको भौगोलिक, सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिकलगायतका वर्तमान स्थितिहरूबारे जानकारी लिनुका साथै सीमा सुरक्षाको अवस्था, सीमास्तम्भ तथा दशगजा क्षेत्रको अतिक्रमणबारे जानकारी अद्यावधिक हुने कार्यक्रमको लक्ष्य छ । प्रभावकारी सुरक्षा व्यवस्थापन र सीमावासी नागरिकहरूसँग अन्तर्क्रियाबाट सकारात्मक सम्बन्ध र सामीप्यता अभिवृद्धि भई सीमा सुरक्षामा प्रभावकारिता बढ्ने विश्वाससमेत लिइएका सशस्त्र प्रहरीले जनाएको छ ।  

सीमा गस्तीअन्तर्गत प्रत्येक बाहिनीले गण, गुल्म, प्रस्तावित सीमा सुरक्षा गुल्म, बिओपी र बेसहरूसमेतको जनशक्ति समावेश गरी सीमा क्षेत्रको दशगजा इलाकामा बन्दोबस्तीका सामग्रीसहित परिचालन हुनेछ । साथै, एक जिल्लाबाट अर्को जिल्लामा क्रस गस्ती सञ्चालन गर्ने तथा सीमा पैदल गस्तीले अर्को गस्तीसँग लिंंकअप गरी गस्तीलाई चक्रको रूपमा निरन्तरता दिने सशस्त्र प्रहरीको योजना छ । 

आवश्यकताबमोजिम स्थानीयवासी, जनप्रतिनिधि, अन्य निकाय तथा समकक्षीहरूसँग भेटभाट, अन्तर्क्रिया, विपत् जोखिम न्यूनीकरण, मानव बेचबिखन तथा सीमा अपराधसम्बन्धी सचेतनामूलक कार्यक्रम गर्नुका साथै तराईका जिल्लाहरूमा मात्र नभई समयको अनुकूलता हेरी अन्य सीमावर्ती जिल्लाहरूमा समेत सीमा पैदल गस्ती गर्ने योजना बनाएको छ ।

सीमा पैदल गस्तीसम्बन्धी अवधारणा तयार पारेलगत्तै मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले यसको सुरुवात गरेको छ । जसअनुसार नं. १३ गण पर्साले सीमा सुरक्षाको संवेदनशीलतालाई मध्यनजर गर्दै सीमानजिकका नागरिकहरूमा शान्ति सुरक्षाको प्रत्याभूति दिई सीमास्तम्भहरूको समेत संरक्षणमा ध्यान राख्दै पैदल गस्तीको सुरुवात गरेको छ ।  

गस्तीका क्रममा सीमावासी नागरिकहरूसँग अन्तर्क्रिया कार्यक्रम, सीमा सुरक्षाको महत्व तथा सीमामा हुने अवैध क्रियाकलाप नियन्त्रण गर्न सशस्त्र प्रहरी बल नेपालको भूमिका र स्थानीयवासीको सहयोगको विषयहरूमा समेत छलफल गरिएको थियो । सीमा गस्तीको आवश्यकताअनुसार सम्बन्धित जिल्लाका गणपति, बाहिनीपति र प्रधान कार्यालयबाट समेत अनुगमन हुने सहप्रवक्ता थापाले जानकारी दिए ।

ad
ad