
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम खारेज गरी बजेट पुनर्निर्माणमा खर्च गरिने
१६ असोजमा बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पले भत्काएको बाजुरा त्रिवेणी नगरपालिका– ५ किम्नीको जनज्योति आधारभूत विद्यालयको भवनमा जोखिम मोलेरै पठनपाठन । भूकम्पले एक दुईकोठे र एउटा इसिडी कक्षा सञ्चालन हुने भवन भत्काएको छ । जनज्योतिमा कक्षा तीनसम्म पढाइ हुन्छ । तस्बिर : गगन अयडी/नयाँ पत्रिका
सरकारले चार वर्षअघि सुरु भएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम खारेज गरी उक्त बजेट भूकम्पबाट भत्किएका विद्यालय भवन पुर्निर्माणमा खर्च गर्ने तयारी गरेको छ । जाजरकोट र बझाङ केन्द्रविन्दु भएर गएका भूकम्पको पुनर्निर्माणमा कम्तीमा एक खर्ब दायित्व थपिने भएपछि स्रोतको चापमा रहेको सरकारले उपलब्धिविहीन कार्यक्रम खारेज गर्ने क्रममा राष्ट्रपति शैक्षिक सुधारलाई पहिलो प्राथमिकता राखेको हो ।
शिक्षा मन्त्रालयका अन्य कार्यक्रमसँग जुधेको र बजेट दुरुपयोग भएको भन्दै आलोचना भइरहेका वेला आगामी आर्थिक वर्ष ०८१/८२ देखि यो कार्यक्रममा बजेट विनियोजन नगर्नेबारे अर्थमन्त्री वर्षमान पुन र शिक्षामन्त्री सुमना श्रेष्ठसहितको छलफल भएको छ । मन्त्री पुनका अनुसार राष्ट्रपति शैक्षिक सुधारको चालू आवमा विनियोजन भएको बजेट विद्यालय भवन पुनर्निर्माणमा खर्च गरिनेछ भने आगामी आवबाट यो कार्यक्रममा बजेट विनियोजन हुने छैन ।
‘पछिल्ला भूकम्पका पूर्ण र आंशिक गरी करिब सात सय विद्यालय भवन भत्किएका छन्, पुनर्निर्माण गर्नुपर्नेछ । आगामी आवबाट राष्ट्रपति शैक्षिक सुधारमा बजेट विनियोजन हुँदैन, पुनर्निर्माणमा खर्च हुन्छ,’ मन्त्री पुनको भनाइ उद्धृत गर्दै प्रेस संयोजक दयानिधि भट्टले भने ।
शिक्षामन्त्री श्रेष्ठका निजी सचिव प्रकाश सापकोटाका अनुसार यो वर्ष राष्ट्रपति शैैक्षिक सुधार कार्यक्रममा एक अर्ब बजेट विनियोजन भएको छ, जुन अहिलेसम्म खर्च भएको छैन ।
०७२ को भूकम्पपछिको पुनर्निर्माणमा खर्च नभएको तीन अर्ब पनि विद्यालय पुनर्निर्माणमा खर्च हुने
०७२ को भूकम्पपछिको पुनर्निर्माणमा खर्च नभएको शिक्षातर्फको तीन अर्ब १५ जिल्लामा विद्यालय भवन पुनर्निर्माणमा खर्च गरिने भएको छ । केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा)का उपसचिव जीवनबहादुर भण्डारीका अनुसार एसियाली विकास बैंक र जाइकाले पनि जोगिएको तीन अर्ब पछिल्लो भूकम्पछिको पुनर्निर्माणमा खर्च गर्न तयार भएका छन् ।
‘एडिबी र जाइकाले विद्यालय भवन पुनर्निर्माणमा सघाएका थिए, जोगिएको रकम जाजरकोट र बझाङ केन्द्रविन्दु भएर गएका भूकम्पछिको पुनर्निर्माणमा खर्च हुने तय भएको छ,’ उनले भने ।
जाजरकोटको बारेकोट गाउँपालिका– १ लामिडाँडा केन्द्रबिन्दु भएर १७ कात्तिक राति ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसअघि १६ असोजमा बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको थियो । दुबै भूकम्पका कारण १५ जिल्लामा पूर्ण र आंशिक गरी करिब ७ सय विद्यालय भवन भत्किएका तथ्यांक रहे पनि बजेट अनुमान भइसकेको छैन ।