१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o९:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आइपिएलमा दुई सय छक्का लगाउने रसेल नवौँ खेलाडी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o९:१o:oo

वेस्ट इन्डिजका ब्याट्सम्यान एन्ड्रे रसेलले इन्डियन प्रिमियर लिग (आइपिएल)मा दुई सय छक्का संख्या पार गरेका छन् । यो उपलब्धि हात पार्ने उनी आइपिएलका नवौँ खेलाडी हुन् । कोलकाता नाइट राइडर्सका खेलाडी रसेलले शनिबार राति सनराइजर्स हैदराबादलाई ४ रनको रोमाञ्चक जित निकाल्दा रसेलले अलराउन्ड प्रदर्शन गरेका थिए । रसेलले हैदराबादविरुद्ध सर्वाधिक ६४ रन बनाए । उनले २५ बलमा सात छक्का र तीन चौका प्रहार गरेका थिए । रसेल आइपिएलमा दुई छक्का लगाउने तेस्रो वेस्ट इन्डियन खेलाडी हुन् । 

आइपिएल इतिहासमा वेस्ट इन्डिजका बायाँहाते ब्याट्सम्यान क्रिस गेलको नाममा सर्वाधिक छक्काको रेकर्ड रहेको छ । उनले एक सय ४१ इनिङ्समा तीन सय ५७ छक्का लगाएका छन् । दोस्रो स्थानमा मुम्बई इन्डियन्सका रोहित शर्मा छन् । उनले दुई सय ३८ इनिङ्समा दुई सय ५७ छक्का प्रहार गरेका छन् । यसैगरी दक्षिण अफ्रिकाका एबी डी भिलियर्सले दुई सय ५१ छक्का ठोक्न एक सय ७० इनिङ्स खेलेका थिए । 

१७औँ आइपिएलमा चेन्नई सुपर किंग्सको कप्तानी छाडेका महेन्द्र सिंह धोनीले दुई सय ३९ छक्का प्रहार गरेका छन् । उनले दुई सय १८ इनिङ्समा यो उपलब्धि हात पारेका हुन् । रोयल च्यालेन्जर्स बेंग्लोरका विराट कोहलीले दुई सय ३० इनिङ्समा दुई सय ३५ छक्का लगाए । 

राजस्थान २० रनले विजयी
प्रतियोगिताअन्तर्गत आइतबार भएको चौथो खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई २० रनले पराजित गरेको छ । पहिलो ब्याटिङ गरेको राजस्थानले २० ओभरमा चार विकेट गुमाएर १९३ रनको योगफल बनाएको थियो । प्रत्युत्तरमा लखनउले ६ विकेटको क्षतिमा१७३ रन मात्र बनाएको थियो । पहिलो ब्याटिङ गरेको राजस्थानका लागि कप्तान सञ्जु सामसनले अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले ५२ बलमा ६ छक्का र तीन चौकाको सहयोगमा ८२ रनको योगदान दिए । रियान परागले २९ बलमा तीन छक्का र एक चौकाको सहयोगमा ४३ रन जोडे । 

सञ्जु र परागले तेस्रो विकेटका लागि ९३ रनको बलियो साझेदारी गरेका थिए । प्रत्युत्तरमा लखनउको सुरुवात खराब रह्यो । इनिङ्सको पाँचौँ बलमै क्विन्टन डी ककले आफ्नो विकेट गुमाए । लखनउले ७.३ ओभरमा चार विकेट गुमाएर स्कोर बोर्डमा ६० रन मात्र बनाएको थियो । कप्तान लोकेश राहुल र निकोलास पुरनले पाँचौँ विकेटका लागि ८५ रनको साझेदारी गर्दै जितको आशा दिलाएका थिए । तर, लोकेश आउट भएपछि लखउनको आशा समाप्त भयो । उनले ४४ बलमा चार चौका र दुई छक्का प्रहार गरी ५८ रन जोडे । पुरनले अन्तिमसम्म आउट नभई ४१ बलमा समान चार चौका र छक्का प्रहार गरी ६४ रनको योगदान दिए । 

ad
ad