१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
एनभिए भलिबल च्याम्पियनसिपको विजेता टोली । तस्बिर : ज्ञानेन्द्र कार्की/ नयाँ पत्रिका
रमेश सुवेदी काठमाडाैं
२o८१ जेठ ४ शुक्रबार o९:१३:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

एभरेस्ट र हेल्प नेपाल च्याम्पियन

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o९:१३:oo

तीन विभागीय टोलीलाई पछि पार्दै महिलातर्फ एभरेस्ट भलिबल र पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लबलाई आठौँ एनभिए भलिबल च्याम्पियनसिप उपाधि

महिलातर्फ एभरेस्ट भलिबल क्लब र पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब आठौँ एनभिए भलिबल च्याम्पियनसिपको च्याम्पियन बनेका छन् । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा एभरेस्ट पहिलोपटक च्याम्पियन भएको हो । एभरेस्टले पहिलोपटक कुनै पनि राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको हो । यसक्रममा विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध ३–१ सेटको जित निकाल्यो । समूह चरणमा एभरेस्टले पहिलोपटक अर्काे विभागीय टोली त्रिभुवन आर्मीलाई हराएको थियो । दोस्रो पटक अर्काे विभागीय टोली पुलिसलाई पनि हराउन सफल भयो । यसअघि समूह चरणमा व्यहोरेको ३–२ सेटको हार बदला एभरेस्टले फाइनलमा लियो । । 

जितपछि एभरेस्टका प्रशिक्षक अर्जुन घिमिरेले खेलाडीको मिहिनेतले जित निकाल्न सफल भएको बताए । ‘खेलाडीले राम्रो प्रदर्शन गरे । सुरुवाती खेलमा तालमेल नभए पनि त्यसपछि सफल भयौँ,’ प्रशिक्षक घिमिरेले नयाँ पत्रिकासँग भने । राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाहीसँगै एभरेस्टले तीन भारतीय राष्ट्रिय टोलीका खेलाडीलाई समावेश गर्दै उपाधि जित्यो । अरुणाले एभरेस्टमा पुनरागमन गर्दा भारतीय खेलाडीहरू सुर्या थोटंगल, केपी अनुश्री र जिन्सी जोन्सनले पहिलोपटक नेपाली लिग खेल्दै सानदार प्रदर्शन गरे । उनीहरू एभरेस्टले खेलेका हरेक खेलमा दबाबमुक्त रहेर उत्कृष्ट प्रदर्शन गर्न सफल भए । 

अरुणा र भारतीय तीनैजना खेलाडीले १९औँ एसियाली खेलकुद प्रतियोगिता खेलेका थिए । चारजना खेलाडीले सानदार प्रदर्शन गरेर जित निकाल्न सफल भएको प्रशिक्षक घिमिरेले प्रस्ट पारे । ‘अरुणासहित भारतीय खेलाडीले राम्रो प्रदर्शन गरे । पहिलोपटक च्याम्पियन बन्न सफल भयौँ । लिबेरो रिचा थापाले पहिलोपटक यो भूमिकामा खेलेकी हुन् । उनले केही दबाब लिए पनि अनुभवी खेलाडीले सहज वातावरण बनाइदिए । लक्ष्यअनुसार च्याम्पियन बन्न सफल भएका छौँ ।’

पहिलो फाइनल खेलमा एभरेस्टले पहिलो सेट गुमाएर पनि कमब्याक गर्न सफल भएको हो । उषा भण्डारी, पुनम चन्द, कमला पुन, कोपिला राना र शान्ति तामाङ सम्मिलित पुलिसले पहिलो सेट २५–१९ ले जितेको थियो । तर, त्यसपछिका सेटमा एभरेस्टले लगातार २५–२२, २५–१८ र २५–१९ ले आफ्नो पक्षमा पार्न सफल भयो । पुलिसकी अट्याकर उषाले खेलाडी घाइते हुँदा तीन सेटमा समस्या परेको बताइन् । ‘पहिलो सेट राम्रो भएको थियो । तर, लगातार खेलाडी घाइते हुँदा दबाब बनाउन सकेनौँ,’ राष्ट्रिय टोलीकी सदस्यसमेत रहेकी उषाले भनिन्, ‘फाइनलमा राम्रो प्रदर्शन हुन सकेन ।’ जितपछि एभरेस्ट र हेल्प नेपाल दुवैले समान पाँच लाख पाएका छन् । 

लगातार च्याम्पियन 
प्रतियोगितामा हेल्प नेपाल लगातार च्याम्पियन बनेको छ । तीनजना पाकिस्तानी खेलाडीको साथ पाएको हेल्प नेपालले फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि ३–२ को रोमाञ्चक जित निकाल्यो । राष्ट्रिय टोलीका खेलाडीले भरिएको आर्मीले लगातार दुई सेटमा अग्रता बनाए पनि हार व्यहोर्न पुगेको थियो । पहिलो सेट आर्मीले २५–२० ले जित्यो । 

प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटमा हेल्प नेपालले २७–२५ ले जित्दै बराबरी गरेको हो । तेस्रो सेट पुनः आर्मीले २५–२३ ले जित्दै खेलमा २–१ ले अगाडि बढ्यो । तर, चौथो सेटमा पाकिस्तानी खेलाडीहरू उस्मान, फखर र साफिक चम्किएपछि हेल्प नेपाल २९–२७ ले जित निकाल्दै खेल २–२ को बराबरीमा पु¥याएका हुन् । चौथो सेटमा आर्मी दुई टाइम आउट लिँदा ८–० ले पछि थियो । राष्ट्रिय टोलीका कप्तान मानबहादुर श्रेष्ठसँगै राजेन्द्र विष्ट, हरि अधिकारी, धनबहादुर भट्ट क्षेत्री, दुर्गा महतो, दुर्गाबहादुर खड्का र इश्वर तामाङ चम्किएपछि आर्मी कमब्याक गर्न सफल रह्यो । 

तर, निर्णायक पाँचौँ सेटमा अग्रता बनाएर पनि आर्मी २२–२० ले पराजित हुन पुगेको हो । लगातार दोस्रोपटक च्याम्पियन भएपछि हेल्प नेपालका प्रशिक्षक उत्सव खड्का खुसी देखिए, ‘लगातार च्याम्पियन भएका छौँ । खुसी छु,’ खड्काले भने, ‘पाकिस्तानी र नेपाली खेलाडीबीच राम्रो तालमेल रह्यो । लगातार सेटमा पछि परे पनि पुनरागमन गर्नेमा विश्वस्त थिए,’ खड्काले भने । यसअघि हेल्प नेपालले गण्डकी प्रदेश तथा आर्मीले अर्को विभागीय टोली पुलिसलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन् । प्रतियोगितामा उपविजेता हुने पुलिस र आर्मी दुबैले दुई लाख प्राप्त गरेका छन् । 

एपिएफ र पुलिस तेस्रो 
प्रतियोगिताको महिलातर्फ विभागीय टोलीद्वय एपिएफ र नेपाल पुलिस तेस्रो भएका छन् । महिलातर्फ एपिएफले न्यु डायमन्डलाई ३–१ को सेटमा हरायो । पहिलो सेट एपिएफले २५–२२ ले जितेको थियो । दोस्रो सेटमा न्यु डायमन्डले २५–२३ ले जित्दै खेल बराबरीमा ल्यायो । तर, राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीले भरिएको एपिएफले बाँकी सेट २५–१४ र २५–२१ ले जित्नै आफ्नो पक्षमा पार्न सफल भयो । पुरुषतर्फ पुलिसले गण्डकी प्रदेशलाई २५–१६, २५–२० र २९–२७ को सोझो सेटमा हराउँदै तेस्रो स्थान हासिल गर्न सफल भए । तेस्रो हुने दुवै टोलीले एक लाख २५ हजार रुपैयाँ प्राप्त गरे ।

ad
ad