१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format ११:४१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पाँच वर्षदेखि त्रिपालमै पहिरोपीडित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:४१:oo

धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चामवासका पहिरोपीडितहरू पाँच वर्षदेखि त्रिपालमै बिताउन बाध्य भएका छन्। थातथलो पहिरोले पुरिएपछि विस्तापित बनेका उनीहरूको बस्ती स्थानान्तरण हुन नसक्दा त्रिपालमुनिको वास बनेको हो। 

वर्षाैँदेखि बस्दै आएको थातथलोे पहिरोका कारण बस्न योग्य नभएको भूगर्वविद्हरूले बताएका छन्। तर, बस्ती स्थानान्तरण नहुँदा घर न घाटको बनेको पहिरोपीडितहरू बताउँछन्। ‘हावाहुरी र पानी आउँदा ठूला मान्छेहरू जोगिन कठिन छ, बालबालिका कसरी जोगाउने? एउटा टेन्टमा ६/७ जनासम्मको परिवार कसरी बस्नु?’ प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेलाई ज्ञापनपत्र बुझाउँदै पहिरोपीडित पञ्चमाया तामाङ भन्छिन्– ‘अब त बर्खा लाग्यो झनै गाह्रो हुन्छ। पहिले कै बस्तीमा बस्न पनि हुँदैन भन्नुहुन्छ। अन्त जाने ठाउँ छैन। च्यातिएकै त्रिपालमा बर्खा कट्ला र? हामी कहाँ गएर बस्ने ? प्रमुख जिल्ला अधिकारीज्यू !’
 
सुरक्षित स्थानमा वस्ती स्थानान्तरणको लागि हारगुहार गर्दै यहाँका विस्थापितले यसअघि वडा कार्यालय, गाउँपालिका, मुख्यमन्त्री र जिल्ला प्रशासन कार्यालयमा पटक-पटक ज्ञापनपत्र बुझाइसकेका छन्। तर, सुरक्षित ठाउँमा सर्ने आश्वासन मात्रै पाएको पीडितहरूको गुनासो छ।  

२०७५ सालमा बस्तीमा धाँजा फाट्यो। २०७६ सालमा वर्षाका कारण जमिन भासिएर धादिङको गजुरी गाउँपालिका–२, चामवास गाउँ नै पहिरोमा पर्‍यो। जमिन चिरा पर्‍यो। घर र वस्तुभाउ बाँध्ने गोठहरू पनि भत्किए। २१ परिवार विस्थापित भए। त्यति वेलादेखि नै चामवासका पहिरो विस्थापितहरू बाह्रबिसेमा बस्दै आएका छन्। पाँच वर्षदेखि टेन्टमा रातदिन बिताइरहेका विस्थापित परिवारलाई सरकारले अहिलेसम्म ठेगाना लगाउन सकेको छैन। शुक्रबार जिल्ला प्रशासन कार्यालयमा भेटिएकी पहिरो विस्थापित सानुमाया तामाङ भन्छिन्, ‘अघिल्ला सिडियो, मन्त्री, सांसद धेरैसँग हारगुहार गरियो, सबैबाट आश्वासन मात्रै पाइयो, अहिले नयाँ सिडियो आउनुभएको रहेछ, उहाँले हाम्रा लागि केही गरिदिनुहुन्छ कि भन्ने आशा लिएर यहाँ आएका हौँ।’
 
यो बस्तीको पीडा गाउँपालिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, विभिन्न मन्त्रीहरूले पनि पटक-पटक प्रत्यक्ष देखेका छन्। तर, स्थायी प्रबन्ध मिलाउन सकेका छैनन्। आशैआशमा कठिनले पाँच वर्ष बिताए। २१ घरपरिवारका ९२ जना कोही टेन्टमा त कोही पुराना जस्ताको ट्रस्ट बनाएर बसिरहेका छन्। अस्थायी बस्तीमा बालबालिकालाई राख्न सुरक्षित ठाउँ छैन। बस्ने र खानेको ठेगान छैन, बालबालिकाले पढ्न पाएका छैनन्। टेन्ट र जस्तापाताबाट छिरेको पानीले ओछ्यान भिजाउँछ। अब वर्षातको समय दुई मुठी सास कसरी जोगाउने भन्ने चिन्ताले पिरोलेको विशु तामाङ बताउँछन्। 
 
सुरक्षित ठाउँमा बस्ती स्थानान्तरण गरिदिनुपर्ने, जीविकोपार्जनका लागि वैकल्पिक व्यवस्था मिलाइदिनुपर्ने र महिलाहरूलाई सीपसहित साना उद्यम सञ्चालन गर्ने व्यवस्था मिलाइदिनुपर्ने मागसहित ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्र बुझ्दै धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बस्ती स्थानान्तरण गर्न यही आर्थिक वर्षमा काम सुरु गरिने बताए।