१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० चैत १० शनिबार ०८:०७:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

बहराइनसँग नेपाल पाँच गोलले पराजित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० चैत १० शनिबार ०८:०७:००

नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार फिफा विश्वकप २०२७ अन्तर्गत छनोट खेलमा बहराइनसँग ५–० ले पराजित भएको छ । बहराइनको रिफास्थित रंगशालामा कमजोर तयारी र आन्तरिक विवादका साथ पुगेको नेपाली टोलीले खेलको कुनै पनि समयमा उत्कृष्ट प्रदर्शन गर्न सकेन । मुख्य प्रशिक्षक अल्बर्टो एनेसले युवा खेलाडीलाई पहिलो प्राथमिकता राखेको प्रतिस्पर्धामा बहराइनले पहिलो हाफमै तीन गोल गरेको थियो । दोस्रो हाफमा रक्षापंक्तिमा केही सुधार हुँदा नेपालले दुई गोल मात्र व्यहोरेको थियो । 

बहराइनले खेलको दोस्रो मिनेटमै अग्रता लिएको थियो । माहदी अल हुमाइदानले घरेलु टोलीलाई १–० को अग्रता दिलाए । एक गोल खाएर सम्हालिन नपाएको नेपालको पोस्टमा बहराइनले खेलको नवौँ मिनेटमा दोस्रो गोल थप्यो । यसपटक सायद बाकरले गोल गरे । पहिलो हाफको अतिरिक्त समयमा अली मादनले बहराइनलाई ३–० को अग्रता दिलाए । बहराइनले चौथो गोल गर्न ३७ मिनेट प्रतीक्षा गर्‍यो । खेलको ८७औँ मिनेटमा इब्राहिमले बहराइनलाई ४–० को अग्रता दिलाए । खेलको अन्तिम इन्जुरी समयमा बहराइनका लागि इस्मिलले पेनाल्टीमा ५–० को विजयी गोल गरे । बहराइनका खेलाडीलाई नेपालका लाकेन लिम्बूले बक्सभित्र लडाएपछि अस्ट्रेलियन रेफ्री एलेक्जान्डर किङले पेनाल्टी दिएका थिए । 

समूह ‘एच’मा बहराइनले छनोट खेलमा दोस्रो जित निकालेको हो । बहराइन ६ अंकका साथ दोस्रो स्थानमा छ । नेपालको यो तेस्रो हार हो । नेपाल पहिलो खेलमा युएईसँग ४–० र यमनसँग २–० ले पराजित भएको थियो । अहिलेसम्म नेपाल अंकविहीन छ । युएई तीन खेलमा तीन जितसहित नौ अंकका साथ पहिलो स्थानमा छ । यमन तीन खेलमा एक जितसहित तीन अंकका साथ तेस्रो स्थानमा छ । नेपालले पहिलो चरणमा लाओसलाई हराउँदै दोस्रो चरणको स्थान पक्का गरेको थियो । चारमध्ये शीर्ष दुई टोली एसिया कपमा छनोट हुनेछन् । 

चार खेलाडीको डेब्यु
प्रशिक्षक एनेसले बहराइनविरुद्ध चार खेलाडीले डेब्यु गरेका थिए । बहराइनविरुद्ध घोषित टोलीमा धेरै युवा खेलाडी समावेश भए पनि प्रशिक्षक एनेसले चार नयाँ खेलाडी खेलाएका हुन् । डेब्यु गर्नेमा डिफेन्डरद्वय अभिषेक लिम्बू र सौभाग्य राई (सञ्जित) तथा स्ट्राइकर समीर तामाङ र सञ्जीव विष्ट रहेका छन् । अभिषेकले पहिलो ११ मै रही डेब्यु गरे । टोलीका नियमित डिफेन्डर रोहित चन्दको स्थानमा अभिषेक पहिलो रोजाइमा परेका हुन् । रोहित इन्डोनेसियाको लिगमा व्यस्त छन् । सौभाग्यले मध्यान्तरपछि डेब्यु गरेका थिए । उनले सुमित श्रेष्ठलाई विस्थापन गरेका थिए । समीरले खेलको ७९औँ मिनेटमा हिसुब थपलियाको स्थान लिए ।