१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
बागलुङ निसीखोलाकी सात वर्षीया सेञ्जल शाही
मुख्य समाचार प्रिन्ट संस्करण

मध्यराति कान्ति लगिएकी बालिका ‘बेड छैन’ भन्दै फिर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o९:१५:oo

बागलुङ निसीखोलाकी सात वर्षीया सेञ्जल शाहीलाई अभिभावकले मंगलबार राति ११:४० बजे कान्ति बाल अस्पतालको इमर्जेन्सीमा पुर्‍याए । गम्भीर अवस्थाकी उनलाई पिआइसियूमा राखेर उपचार गर्नुपर्ने निष्कर्ष चिकित्सकले निकाले । तर, अस्पतालमा पिआइसियू बेड खाली नभएको भन्दै अन्यत्र लैजान भन्दै भर्ना गर्न मानेनन् ।

‘अस्पतालले बिरामीको परिवारको हारगुहारलाई नसुनेर बाहिरै लैजान भनिरहेको र बिरामीको अवस्था झन् नाजुक भएर छटपटाइरहेको दृश्य कारुणिक थियो,’ बालिकाको उपचारमा पहल गर्न राति नै अस्पताल पुगेका राजु सुवेदीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले पनि त्यहाँका डाक्टरलाई बचाइदिनुहोस् भनेर अनुनयविनय गरेँ । तर, उनीहरू यति निर्दयी बनेर उभिए कि मैले मान्छे यस्तोसम्म हुन्छ भन्ने कल्पनासमेत गरेको थिइनँ । जब कि मलाई अस्पतालकै एकजना जुनियर कर्मचारीबाट एउटा पिआइसियू खाली भएको सूचना प्राप्त भएको थियो ।’

सामाजिक सञ्जालमा विरोध भएपछि अस्पताल प्रशासनले बुधबार विज्ञप्ति जारी गर्दै पिआइसियू बेड नभएका कारण बिरामी फर्काउनुपरेको दाबी गरेको छ । ‘त्यति वेलासम्म यस अस्पतालमा पिआइसियू बेड खाली नभएकाले अन्यत्र विकल्प खोज्नका लागि समयमा नै जानकारी गराइएको, तर बिरामीका अभिभावकहरूले इन्ट्युबेट (श्वासनलीमा ट्युब राखिएको) गरिराखेको बच्चालाई त्यही अवस्थामा इमर्जेन्सीमा उपचार जारी राख्न दबाब दिएको, जुन चिकित्सकीय हिसाबले तर्कसंगत एवं व्यावहारिक नदेखिएकाले बारम्बार पिआइसियू बेड खोज्न सुझाव दिइएको,’ विज्ञप्तिमा भनिएको छ । 

कान्तिले फिर्ता गरेपछि राति नै बालिकालाई चाबहिलस्थित नेपाल–भारत मैत्री अस्पताल पुर्‍याइएको थियो । उनको उपचार भइरहेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अस्पतालले बिरामीलाई चेकजाँच नगरी फिर्ता पठाउन नमिल्ने बताउँदै छानबिन हुने बताएका छन् । ‘अस्पतालको हाताभित्र पुगेका बिरामीलाई हेर्दै नहेरी फिर्ता गर्न पाइँदैन,’ उनले भने, ‘त्यसो भएको हो भने अस्पतालका निर्देशक र जिम्मेवार तहमा बसेकासँग सोधपुछ गरिन्छ, आवश्यक परेमा कारबाही हुन्छ ।’ 

ad
ad