१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
तस्बिर साैजन्य : अर्थमन्त्रीकाे सचिवालय ।
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १४:१३:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

जलविद्युत् र मल कारखानामा लगानी गर्न रुसलाई अर्थमन्त्री पुनको आग्रह

रुसी राजदूतले भने, ‘प्रस्ताव सकारात्मक छ, रुसी लगानीकर्ताहरूसँग पहल गर्नेछु’

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १४:१३:oo

अर्थमन्त्री वर्षमान पुन अनन्तले ठूला जलविद्युत् आयोजना र रासायनिक मल कारखानामा लगानी गर्न रुसलाई आग्रह गरेका छन् । 
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बुधबार रुसी राजदूत अलेक्सेई ए. नोभिकोभसँगको भेटमा अर्थमन्त्रीले नेपालको जलविद्युत् र मल उत्पादनमा लगानी ल्याउन आग्रह गरेका हुन् । 

‘हामीले विद्युतका लागि अन्तर्राष्ट्रिय बजारको सुनिश्चितता गरिसकेका छौँ । नेपालको जलविद्युत् क्षेत्र अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि उपयुक्त क्षेत्र हो,’ मन्त्री पुनले भने, ‘सरकारले स्वदेशमै रासायनिक मल कारखाना खोल्ने नीति लिएको छ । रुस मलको कच्चा पदार्थ उत्पादन गर्ने विश्वकै ठूलो देश हो । मल कारखाना खोल्न इच्छुक हुनुहुन्छ भने पनि वातावरण बनाउन हामी तयार छौँ ।’ 

जवाफमा राजदूत नोभिकोभले मन्त्री पुनको प्रस्ताव सकारात्मक रहेको भन्दै रुसी लगानीकर्तासँग संवाद गरी लगानी ल्याउने वातावरण बनाउन पहल गर्ने बताए । 

भू–राजनीतिक कारणले पनि रुसी लगानीका लागि नेपालमा अत्यन्तै सकारात्मक वातावरण रहेको उनको भनाइ थियो । 

‘नेपालका दुवै छिमेकी चीन र भारतसँग हाम्रो राम्रो सम्बन्ध छ,’ रुसी राजदूतले भने, ‘रुस यस्तो देश हो, जसले नेपाल, भारत र चीन तीनवटैलाई खुसी पारेर काम गर्न सक्छ ।’ उनले नेपाल–भारत सीमा क्षेत्रमा दुवै मुलुकलाई लक्षित गरी मल कारखाना खोल्ने वा उत्पादित सामग्री ल्याएर बेच्न सकिने दुवै सम्भावना रहेको बताएका थिए । 

मन्त्री पुनले आगामी वैशाखमा हुने लगानी सम्मेलनमा बढीभन्दा बढी रुसी लगानीकर्ता आउने वातावरण बनाउन राजदूत नोभिकोभलाई आग्रह गरे । रुस र नेपालबीच लामो सम्बन्ध रहेको तथा रुस सरकारले पूर्व–पश्चिम राजमार्गको एक खण्ड तथा जलविद्युतसहित अन्य पूर्वधार निर्माणमा नेपाललाई सहयोग गरेको स्मरण मन्त्री पुनले गरेका थिए । 

राजदूत नोभिकोभका अनुसार रुसको उद्योग वाणिज्य संघको नेतृत्वमा लगानी सम्मेलनमार्फत लगानी गर्न सकिने क्षेत्रको पहिचानका लागि बिहीबार एक प्रतिनिधिमण्डल नेपाल आउँदै छ । प्रतिनिधिमण्डलले सरकारी अधिकारी, लगानी बोर्ड र निजी क्षेत्रसँग साक्षात्कार गर्ने उनले बताए । 

फरक प्रसंगमा मन्त्री पुनले द्विपक्षीय सम्झौताविना नै रुसी सेनामा नेपाली युवा भर्ती भएको विषयमा राजदूत नोभिकोभसँग चासो राखेका थिए । पुनले नेपालको परराष्ट्र मन्त्रालयमार्फत त्यसबारे रुसी सरकारलाई जानकारी गराएको स्मरण गरे । 

उनले रुसी सेनामा कार्यरत नेपालीलाई स्वदेश फिर्तीको वातावरण बनाउन रादजूत नोभिकोभलाई आग्रह गरे । यस्तै उनले रुस–युक्रेन युद्धमा मृत्यु भएकाको शव नेपाल ल्याउने वातावरण बनाउन, घाइतेको उपचार तथा मृतक परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न रुसको ध्यानाकर्षण गराए । 

उनले भने, ‘रुसी सेनामा आफ्ना नागरिक भर्ती गराउने हाम्रो नीति नभएको विषयमा परराष्ट्र मन्त्रालयले यसअघि नै स्पष्ट गरिसकेकै छ । तैपनि विभिन्न बाटो भएर गएका नेपाली रुसी सेनामा भर्ती भएका छन्, यसमा नेपाल सरकार र आमजनताको गम्भीर चासो र चिन्ता छ । म यहाँमार्फत रुस सरकारलाई रुसी सेनामा कार्यरत नेपालीको घर फिर्तीको वातावरणका लागि आग्रह गर्दछु ।’ 

जवाफमा राजदूत नोभिकोभले नेपालीलाई सेनामा भर्ती गर्ने कार्यमा नेपाल सरकार दोषी नभएको स्पष्ट गरे । तर, रुसले पनि उनीहरूलाई बोलाएर भर्ती नगरेको तर्क उनको थियो । भारत र दुबईसहित विभिन्न मुलुकबाट अवैध रूपमा गएका नेपाली स्वेच्छाले सेनामा भर्ती भएको उनले उल्लेख गरे । यद्यपि, रुसी सेनामा कार्यरत नेपाली मारिएकामा आफूहरू दुःखी भएको उनले बताए । 

रुसले फिर्ता पठाउन चाहे पनि सबै नेपाली स्वदेश फर्कन इच्छुक नभएको आफूले खबर पाएको दाबी उनले गरे । ‘नेपालले पठाएर र हामीले आह्वान गरेर उनीहरू सेनामा भर्ती भएका होइनन् । स्वेच्छाले भर्ती भएकाले स्वदेश फर्क भन्दा पनि धेरै नेपाली नफर्कने मनस्थितिमा रहेको खबर हामीले पाएका छौँ,’ उनले भने । 

उनले सञ्चारमाध्यममा आएका समाचारलाई मात्र आधार बनाएर धारणा नबनाउन आग्रह गरेका थिए । उनले युक्रेनी सेनाले बन्धक बनाएका नेपालीलाई युद्धबन्दी साटासाट गरेर मुक्त गराउने तयारी भइरहेको जानकारी मन्त्री पुनलाई दिए । 

‘हाम्रो सेनाको नियन्त्रणमा रहेका युक्रेनी फौजका सदस्यहरूसँग साटेर भए पनि नेपालीलाई युक्रेनबाट मुक्त गर्ने तयारी छ,’ राजदूत नोभिकोभले भने । यस्तै उनले अवैध बाटोबाट रुसी सेनामा भर्ती हुन जाने युवालाई नेपालले रोक्नुपर्ने सुझावसमेत दिए ।

ad
ad