१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका थाइल्याण्ड
२o८१ बैशाख १९ बुधबार १२:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

२७ देशमा बसोवास गर्ने नेपालीभाषीको भेलाद्वारा बैंककमा एएनओ गठन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, थाइल्याण्ड
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १२:o७:oo

विश्वका विभिन्न देशमा बसोवास गरिरहेका नेपालीभाषीको थाइल्यान्डको राजधानी बैंककमा भएको भेलाले नेपाली जातिलाई एकत्रित गरी नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न एसाेसिएसन अफ नेपाली ओरिजिन (एएनओ) गठन गरेको छ।

विश्वका कम्तीमा २७ देशका नेपाली मूलका सामाजिक अभियन्ताहरूको प्रतिनिधित्व रहेको सोमबारको भेलालाई पहिलो महाधिवेशनको स्वरूप दिएर भुटानमा जन्मी हाल अमेरिकामा बसोवास गर्दै आएका नेपाली मूलका समाजसेवी डिल्ली अधिकारीको अध्यक्षतामा ५४ सदस्यीय कार्यसमिति गठन गरिएको हो।

अधिकारी इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष हुन्। सो फाउन्डेसनको सहयोग र समन्वयमा बैंककमा नेपालीभाषीको यो पहिलो महाधिवेशनको आयोजना गरिएको हो।

विश्वका २७ देशमा रहेका एक सयजनाभन्दा बढी नेपालीभाषीको सहभागिता रहेको सो भेलाले उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, महासचिव चूडामणि भट्टराई, सचिव चिरनजंग थापा, सहसचिव अर्जुनकुमार पौडेल, कोषाध्यक्ष उदयनारायण मिश्र र सहकोषाध्यक्षमा गोपी कार्की तथा सदस्यहरू चयन गरेको छ।

यसैगरी, संस्थाको बोर्ड अफ ट्रस्टीमा अध्यक्ष डिल्ली अधिकारीसहित सदस्यहरूमा सुशीलकुमार पन्त, चूडामणि भट्टराई, साधना घिमिरे, बाबुकृष्ण कार्की, सुनिता गुरुङ, ओमराज गुरुङ, वात्सना राई, टिबी गुरुङ, विरास अधिकारी र करिश्मा सुब्बालाई चयन गरेको छ।

विश्वका विभिन्न मुलुकमा स्थायी बसोवास गर्दै आएका सम्पूर्ण नेपाली जातिको चाहना भावनात्मक रूपमा आफ्नो मातृ तथा पितृ भूमिप्रति समर्पित भई नेपालका लागि योगदान गर्न आपसी भाइचारा, सदभाव एवं सहयोग कायम गर्न तथा नेपाली जातीय, सांस्कृतिक पहिचानलाई समेत जीवन्त राख्न एएनओको गठन गरिएको सो महाधिवेशनको उद्घाटनका क्रममा जानकारी दिइयो।

महाधिवेशनको उद्घाटन गर्दै थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वलीले एएनओ विश्वमा रहेका नेपालीभाषीलाई एकताको सूत्रमा बाँध्न र एक–आपसमा सहयोग र सदभाव कायम राख्न सक्ने संस्थाका रूपमा विकास होस् भनी कामना गरे।

नेपाल र नेपालीका नाममा जे–जस्ता संस्था स्थापना भए पनि तथा नेपाली संगठित भए पनि नेपाली भाषा, साहित्य, संस्कार र संस्कृतिको संरक्षण र संवर्द्धन एवं नेपालीबीचको सहयोग र समन्वयमा लाग्न उनले सुझाव दिए। उनले नेपाली मूलका र नेपालीभाषी नागरिक जो जुन देशमा छन् त्यहाँ उनीहरू इज्जतसाथ बस्न पाउनुपर्ने धारणा पनि राखे।

एएनओका अध्यक्ष अधिकारीले यो अभियान विशुद्ध रूपमा संसारमा छरिएर रहेका नेपालीभाषी दाजुभाइ तथा दिदीबहिनीलाई एकताको एउटै मालामा गाँस्ने भावना र उद्देश्यले सुरु गरिएको जानकारी दिए। 

उनले संसारमा रहेका नेपाली नागरिकका छोराछोरीलाई पनि नेपाली भाषा, संस्कार, संस्कृतिको ज्ञान दिलाई उनीहरूमा पनि नेपाली पहिचानको जगेर्ना गरिराख्न तथा विदेशमा रहेका भावी सन्ततिहरूलाई आफ्नो मातृ तथा पितृभूमिबारे सदैव जानकार बनाइराख्न यो संस्थाले काम गर्ने जानकारी दिए।

सो संस्थाका उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले संस्थाको कानुनी व्यवस्थाबारे जानकारी दिँदै जो–जहाँ रहे पनि भाषा र संस्कृतिका माध्यमबाट यस संस्थाले विश्वका नेपालीभाषी समुदायलाई जोड्ने धारणा राखे। 

संस्थाका महासचिव चूडामणि भट्टराईले संस्था गठनको उद्देश्यबारे जानकारी गराउँदै विभिन्न ४५ भन्दा बढी मुलुकका नेपालीभाषी अभियानमा जोडिएको जानकारी दिए। 

कार्यक्रममा साउदी अरेबियास्थित नेपाली राजदूतावासका नियोग उपप्रमुख डा. डम्मरुबल्लभ पौडेलले नेपालमा लगानीका क्षेत्र र अवसरबारे जानकारी दिँदै यसका लागि एएनओमा आबद्ध रहेका विश्वका नेपालीभाषीले पनि पहल गर्नुपर्ने बताए।

सो कार्यक्रममा विभिन्न देशबाट आएका प्रतिनिधिले भूगोलको भन्दा भावनाको सीमा फराकिलो हुने भन्दै आफ्नो मातृ तथा पितृभूमिसँग यस संस्थामार्फत जोडिन पाएकामा खुसी व्यक्त गरेका थिए। 

पहिलो महाधिवेशन भनिएको सो भेलामा नेपालसहित भारत, थाइल्यान्ड, म्यानमार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, संयुक्त राज्य अमेरिका, बेलायत, पोर्चुगल, जर्मनी, दक्षिण कोरिया, इटाली, न्युजिल्यान्ड, भियतनाम, कम्बोडिया, बहराइनलगायतका २७ देशमा बसोवास गरिरहेका नेपालीको सहभागिता रहेको थियो।

ad
ad