१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० चैत ७ बुधबार ०६:१४:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सुन काण्डमा मुछिएपछि हटाइए लमजुङका सिडिओ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० चैत ७ बुधबार ०६:१४:००

सुन तस्करीमा संलग्न आरोपीसँग निकट सम्बन्ध देखिएपछि गृह मन्त्रालयले लमजुङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) उमाकान्त अधिकारीलाई हटाएको छ । सुनको अवैध पैठारीसम्बन्धी जाँचबुझ आयोगले उनलाई निगरानीमा राख्न सिफारिस गरेको आधारमा हटाइएको गृह मन्त्रालयले जनाएको छ । आयोगको सिफारिसअनुसार उनलाई शुक्रबार नै जिम्मेवारीमुक्त गरेको हो । मन्त्रालयले मंगलबार लमजुङमा सहसचिव बुद्धबहादुर गुरुङलाई खटाएको छ । गुरुङ तीन सातादेखि गृहको ‘बरन्डा’मा थिए ।

लमजुङका सिडिओ रहेका उपसचिव अधिकारी यसअघि गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखामै कार्यरत थिए । त्यसवेला सुन तस्करीमा संलग्न व्यक्तिहरूसँग उनको दोहोरो संवाद देखिएको स्रोत बताउँछ । सोमबार पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरासँग पनि उनको यस विषयमा कुराकानी भएको जाँचबुझ आयोगले १ चैतमा बुझाएको प्रतिवेदनमा उल्लेख छ । 

अभियुक्तहरूसँग दोहोरो संवाद देखिएपछि उनलाई हटाइएको गृहका एक अधिकारीले बताए । उनी दुई महिनाअघि मात्र लमजुङमा गएका थिए । सुन तस्करी प्रकरणमा प्रस्ट प्रमाण नभएका, तर शंकास्पद देखिएका केही व्यक्तिलाई निगरानीमा राख्न आयोगले सिफारिस गरेकोमा त्यस्ता व्यक्तिहरूलाई जिम्मेवारीमुक्तसमेत गरिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)की प्रमुख किरण बज्राचार्यसहित चार प्रहरी अधिकृतलाई जिम्मेवारीमुक्त गरेर कारबाही प्रक्रिया अघि बढाइएको छ ।

बज्राचार्यसहित एसपी सञ्जयसिंह थापा, डिएसपीहरू दुर्गा दाहाल र रुगम कुँवरले समेत अभियुक्तलाई जोगाउन भूमिका खेलेको देखिएको भन्दै आयोगले कारबाही सिफारिस गरेको थियो । अन्य केही अवकाशप्राप्त प्रहरी अधिकारी र बहालवाला कर्मचारीलाई समेत निगरानीमा राख्न भनिएको छ । पूर्वसभामुख कृष्णबहादुर महरालाई मुद्दा नै चलाउन सिफारिस भएको आधारमा उनी सोमबार पक्राउ परिसकेका छन् । 

११ जिल्लाका सिडिओ फेरिए 
गृह मन्त्रालयले मंगलबार २२ सहसचिव र उपसचिवको सरुवा गरेको छ । जसमा ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । संखुवासभामा सहसचिव धु्रवबहादुर खड्का, अर्घाखाँचीमा सूर्यबहादुर खत्री, लमजुङमा बुद्धबहादुर गुरुङ र ओखलढुंगामा नारायण ढकाललाई खटाइएको छ । त्यस्तै, रोल्पामा खिमबहादुर रायमाझी, जाजरकोटमा ऋषिराज आचार्य, धनुषामा रामुराज कडरिया, खोटाङमा शिवकुमार कार्की, दार्चुलामा यज्ञराज जोशी, तेह्रथुममा मीना अर्याल र ताप्लेजुङमा रवीन्द्र आचार्यलाई सिडिओ बनाइएको छ ।

गृहले सिडिओ सरुवासम्बन्धी नयाँ कार्यविधि बनाएर सरुवा गरेको हो । सरुवा गर्दा वरिष्ठ र अनुभवीलाई प्राथमिकता दिइने र सहसचिवलाई पहिलोपटक जिम्मेवारी दिँदा ख वा ग वर्गका जिल्लामा मात्र जिम्मेवारी दिइने उल्लेख छ । अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी कोषहरि निरौलालाई दिइएको छ । विभागको महानिर्देशक रहेका रुद्रसिंह तामाङविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि उनी निलम्बनमा परेसँगै विभाग नेतृत्वविहीन थियो ।