१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
पवन तिमिल्सिना काठमाडाैं
२o८१ जेठ २ बुधबार o७:२o:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

राजस्व संकलन ९.६६% ले वृद्धि

गत आव ०७९/८० को तुलनामा चालू आवको आठ महिनामा राष्ट्रको कुल खर्चमा राजस्वको योगदान ४.४९ प्रतिशतले बढ्यो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o७:२o:oo

चालू आर्थिक वर्षको आठ महिनामा ६ खर्ब ३९ अर्ब चार करोड ६० लाख राजस्व संकलन भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.६६ प्रतिशतले बढी हो । गत आवको फागुनसम्म पाँच खर्ब ८२ अर्ब ७७ करोड १२ लाख रुपैयाँ संकलन भएको थियो । तर, सरकारले निर्धारण गरेको लक्ष्यको अनुपातमा भने राजस्व संकलन ७३.९६ प्रतिशत मात्रै संकलन भएको छ । सरकारले चालू आवको फागुन महिनासम्म आठ खर्ब ६४ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

आठ महिनामा सरकारले आठ खर्ब एक अर्ब ५८ करोड रुपैयाँ खर्च गरेको छ । यस अवधिमा भएको कुल खर्चमा राजस्वको योगदान ७९.७२ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षमा सोही अवधिमा भएको खर्चमा तत्कालीन समयमा उठेको राजस्वको योगदान ७४.७८ प्रतिशत थियो । यसले खर्चमा राजस्वको योगदान बढ्दै गइरहेको देखाएको छ । 

आन्तरिक राजस्वमा आएको सुधारले समग्र राजस्व वृद्धिमा टेवा पुगेको हो । आन्तरिक राजस्व विभागले यस अवधिमा तीन खर्ब ११ अर्ब ९१ करोड १७ लाख रुपैयाँ संकलन गरेको छ । यो गत आर्थिक वर्षको फागुनसम्मको संकलनको तुलनामा ९.९९ प्रतिशतले बढी हो । गत आवको यस अवधिमा विभागले दुई खर्ब ८३ अर्ब ५८ करोड ३९ लाख रुपैयाँ उठेको थियो । 

चालू आवमा आयकर र मूल्य अभिवृद्धि कर (भ्याट) संकलनमा उल्लेख्य वृद्धि भएको छ । जसले आन्तरिक राजस्व संकलन बढाउन मद्दत पुगेको छ । खासगरी आन्तरिक राजस्वतर्फ चालू आर्थिक वर्षमा नयाँखाले करका दायरा विस्तार भएकाले सुधार आइरहेको छ । हवाई कम्पनीहरूले तिर्नुपर्ने भ्याट, विलासिता शुल्क, वैदेशिक पर्यटन शुल्क, वैदेशिक रोजगार सेवा शुल्कजस्ता नयाँ किसिमका करले राजस्व बढाउन मद्दत पुगेको देखिन्छ । 

आयकरतर्फ एक खर्ब ६७ अर्ब ३३ करोड रुपैयाँ संकलन भएको छ । यो गत आर्थिक वर्षको फागुनसम्मको तुलनामा १६.१४ प्रतिशत हो । गत आवको यस अवधिमा एक खर्ब ४४ अर्बको आयकर संकलन भएको थियो । त्यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) संकलनमा ८.१८ प्रतिशतले वृद्धि भएको छ । आठ महिनामा एक खर्ब ९० अर्ब ७३ करोड १८ लाख भ्याट संकलन भएको छ । गत आवको सोही अवधिमा एक खर्ब ७६ अर्ब ३१ करोडको भ्याट उठेको थियो । हवाई कम्पनीले उडान गर्दा यात्रुबाट टिकट शुल्कमा भ्याट लाग्ने व्यवस्थाले भ्याट संकलन बढाउन मद्दत पुगेको छ । उत्पादन, बिक्री र सेवाबापत भ्याट ७५ अर्ब ३३ करोड ७३ लाख उठेको छ । यो गत आवको सोही अवधिको तुलनामा ९.४९ प्रतिशत बढी हो । 

आयातबापत उठ्ने भ्याट एक खर्ब १५ अर्ब ३९ करोड संकलन भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ७.३३ प्रतिशत बढी हो । भन्सार महसुल संकलनमा ११.१६ प्रतिशतले वृद्धि भएको छ । फागुनसम्ममा एक खर्ब २७ अर्ब ४७ करोडको महसुल उठेको छ । गत आवको सोही अवधिमा एक खर्ब १४ अर्बको महसुल संकलन भएको थियो । 

समग्रमा भन्सार विभागले उठाउने राजस्वमा ९.८३ प्रतिशतले वृद्धि भएको छ । चालू आर्थिक वर्षको आठ महिनामा भन्सार विभागले दुई खर्ब ६६ अर्ब ७६ करोड राजस्व संकलन गरेको छ । गत वर्ष विभागले दुई खर्ब ४२ अर्ब ८८ करोडको राजस्व उठाएको थियो । 

आन्तरिक उत्पादन कमजोर रहँदा अन्तःशुल्क संकलन गत वर्षकै हाराहारी
आन्तरिक उत्पादन कमजोर रहेकाले अन्तःशुल्क संकलन गत वर्षकै हाराहारीमा मात्रै संकलन भएको छ । आठ महिनामा ९१ अर्ब चार करोडको अन्तःशुल्क संकलन भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ०.८० प्रतिशत मात्रै बढी हो । गत वर्ष यही अवधिमा ९० अर्ब ३२ करोड उठेको थियो । 

कुल अन्तःशुल्कमध्ये आन्तरिक उत्पादनबापत उठेको अन्तःशुल्कको वृद्धिदर ऋणात्मक छ । यस अवधिमा ६७ अर्ब १५ करोडको अन्तःशुल्क संकलन भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३.५५ प्रतिशत कम हो । आयातीत वस्तुहरूमा लाग्ने अन्तःशुल्क संकलन भने १५.५५ प्रतिशतले बढी उठेको छ । मन्त्रालयका अनुसार २३ अर्ब ८८ करोड ९३ लाख आयातीत वस्तुको अन्तःशुल्क संकलन भएको छ । गत वर्ष यही अवधिमा २० अर्ब ६९ करोड उठेको थियो । 

विदेश पढ्न जाने विद्यार्थीले तिर्ने शुल्क बढाउँदा शिक्षा सेवा शुल्क ९५.२१ प्रतिशतले बढ्यो
विदेश जाने विद्यार्थीले विदेशी मुद्रा सटहीबापत तिर्ने शुल्कमा १ प्रतिशत विन्दुका दरले कर बढाउँदा शिक्षा सेवा शुल्कमा वृद्धि भएको छ । यस्तो शुल्क ९५.२१ प्रतिशतले बढी हो । आठ महिनामा दुई अर्ब सात करोड ७१ लाख शिक्षा सेवा शुल्क संकलन भएको छ ।

गत आवको आठ महिनामा एक अर्ब ६ करोड यस्तो संकलन भएको थियो । लक्ष्यको तुलनामा पनि यस्तो शुल्क ४८ करोड ६७ लाखले बढी हो । गैरकरबापत सरकारले ६० अर्ब ३७ करोड ३५ लाख राजस्व उठाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ७.२४ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा ५६ अर्ब २९ करोड ८६ लाख गैरकर उठेको थियो ।

ad
ad