१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण २८ सोमबार १५:२४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालमा सहायता बढाउन विश्व बैंकलाई अर्थमन्त्री पुनको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण २८ सोमबार १५:२४:००

नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालमा सहायता बढाउन विश्व बैंकलाई आग्रह गरेका छन्।

विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर फेरिस हदाद जेर्बोससँग सोमबार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले अर्थतन्त्र अझै केही दबाबमा रहेकाले नेपाललाई प्राथमितामा राख्न आग्रह गरे।

विश्व बैंक नेपालको ठूलोमध्येको विकास साझेदार भएकाले समन्वय र सहकार्यको अपेक्षा पनि उच्चस्तरकै रहेको उनको भनाइ थियो। सरकारको खर्च बढाउने, रोजगारी सिर्जना र आर्थिक गतिविधिमा तीव्रता पैदा गरेर अर्थतन्त्र चलायमान बनाउने सरकारको नीति सफल बनाउन महत्वपूर्ण विकास साझेदारका हैसियतले विश्व बैंकको सहयोग जरुरी रहेकामा उनले जोड दिए।

‘कतिपय आन्तरिक र कतिपय बाह्य कारणले अर्थतन्त्र केही दबाबमा छ,’ पुनले भने, ‘यो चुनौतीपूर्ण अवस्थामा विश्व बैंकबाट थप सहयोगको अपेक्षा गरेको छु।’ आफूसँग विगतमा अर्थसहित विकासे मन्त्रालय सम्हालेको अनुभव रहेको र १२ वर्षपछि फेरि अर्थ मन्त्रालयको नेतृत्वमा आएकाले पुँजीगत खर्च बढाउने गरी काम गर्ने विश्वास पुनले व्यक्त गरे।

मन्त्री पुनले विश्व बैंकको लगानीमा निर्माण हुने भनिएको महत्वाकांक्षी माथिल्लो अरुण जलविद्युत् आयोजना, प्रदेश तथा स्थानीय सडक, डिजिटल नेपालसम्बन्धी आयोजनाको काम अगाडि बढाइने बताए।

भेटमा डाइरेक्टर जेर्बोसले विश्व बैंकको लगानीमा सञ्चालित आयोजनाको प्रगति सन्तोषजनक बनाउन सरकारका तर्फबाट गर्नुपर्ने समन्वयका लागि मन्त्री पुनको ध्यानाकर्षण गराए। उनले विश्व बैंकले निर्माण गर्दै गरेको नयाँ साझेदारी रणनीतिको खाकाबारे समेत मन्त्री पुनलाई अवगत गराए।

उनले आगामी जुनमा काठमाडौंमा हुने विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडिए) २१ सम्बन्धी बैठकको तयारीबारे मन्त्री पुनलाई जानकारी दिएका थिए। आइडिएले विकासोन्मुख मुलुकका लागि वित्तीय सहायता, सहुलियतपूर्ण ऋण र अनुदान प्रदान गर्दै आएको छ।