१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार २१:३२:oo
Read Time : > 2 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

चलचित्र ‘सतीदेवी’को विशेष प्रदर्शन, रुँदै निस्किए दर्शक

मध्येनपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डेले भने, यस्तो मौलिक चलचित्रलाई सकेको सहयोग गर्छु

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार २१:३२:oo

लक्ष्मण सुवेदीद्वारा लिखित, निर्मित तथा निर्देशित चलचित्र ‘सतीदेवी’को बुधबार दमौलीको क्युएफएक्स सिनेमामा विशेष प्रदर्शनी गरिएको छ। 

अधिकांश दृश्य मध्यनेपाल नगरपालिकाका– ५ लगायतका विभिन्न स्थानमा छायांकन गरिएको सो चलचित्रलाई स्थानीय सरकार र जनस्तरबाट माया र सहयोग मिलेकाले उनीहरूलाई नै लक्षित गरी विशेष सो आयोजना गरिएको निर्देशक सुवेदीले जानकारी दिए। 

चलचित्र हेरेपछि लम्जुङको मध्येनपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डेले चलचित्र ‘सतीदेवी’ लाई सम्पूर्ण रूपले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् कार्यक्रमका प्रमुख अथिति नगरप्रमुख पाण्डेले मौलिक कथामा निर्माण गरिएको तथा सार्वजनिक प्रदर्शनअगावै देश–विदेशमा चर्चामा रहेको चलचित्र ‘सतीदेवी’ लाई सबैले साथ दिनुपर्ने धारणा राखे। 

‘हाम्रो मध्यनेपाल नगरपालिकाका विभिन्न स्थानमा छायांकन गरिएको यस चलचित्रले निकै तारिफ पाइरहेको छ। देशको मौलिक कला, संस्कृति तथा कथालाई चलचित्रको माध्यमबाट विश्वसामु पुर्‍याउनु निकै सराहनीय कार्य हो। आफ्नो माटोको सुगन्धलाई उजागर गर्ने ‘सतीदेवी’ टिमलाई हामी सबैले साथ, सहयोग र प्रेरणा दिनुपर्छ,’ नगरप्रमुख पाण्डेले भने, ‘स्थानीयता, नेपालीपना, वास्तविकमा मौलिक विषय वस्तुलाई उठान गर्ने जोकोहीलाई पनि सरकार र सम्बन्धित निकायले भरपुर सहयोग गर्नुपर्छ। यस चलचित्रलाई मध्यनेपाल नगरपालिका र मेरो व्यक्तिगत तबरलेसमेत यथासक्य धेरै सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दछु।’ 

उनले ‘सतीदेवी’ ले उठाएको नारीपक्षको मुद्दा निकै गहन र मननीय रहेको बताउँदै आफूलाई चलचित्र निकै मन परेको प्रतिक्रिया व्यक्त गरे।

कार्यक्रममा ‘सतीदेवी’ को तर्फबाट निर्देशक सुवेदीले नगरप्रमुख पाण्डे, वडा नम्बर ५ का अध्यक्ष ओमवीर गुरुङ, स्थानीय श्री सिर्जनशील एकता मगर समाज, लाफा गाउँ होमस्टे, कलाकार इभन श्रेष्ठ, क्युएफएक्स दमौलीलगायतलाई आभार पत्र प्रदान गरेका थिए । 

विशेष प्रदर्शनी समारोहमा मध्यनेपाल नगरपालिका– ५ का अध्यक्ष ओमवीर गुरुङ, वडा नम्बर ३ का अध्यक्ष केशव न्यौपाने, वडा नम्बर ४ का अध्यक्ष रामबहादुर श्रेष्ठ, वडा नम्बर ७ का अध्यक्ष हिराबहादुर गुरुङ र वडा नम्बर ९ का अध्यक्ष महेशकुमार पाण्डेलगायत जनप्रतिनिधि तथा वडा नम्बर ५ स्थिति लाफा गाउँ होमस्टे, श्री सिर्जनाशील एकता मगर समाजका प्रतिनिधिहरूका साथमा स्थानीयहरूको बाक्लो उपस्थिति थियो। 

चलचित्र हेरेपछि शतप्रतिशत दर्शकले उत्कृष्ट प्रतिक्रिया दिए। वडा नं ५ का अध्यक्ष गुरुङले ‘सतीदेवी’ आफूलाई अत्यन्तै राम्रो लागेको बताउँदै यसप्रकारका मौलिक, वास्तविक स्थिति छर्लङ्ग पार्ने विषयका चलचित्र अझै धेरै बन्नुपर्ने धारणा राखे। 

खैरिनीटारका स्थानीय मीनबहादुरले ‘सतीदेवी’ अहिलेसम्म निर्माण भएका नेपाली चलचित्रमध्ये सबैभन्दा उत्कृष्ट लागेको प्रतिक्रिया दिए भने दमौलीका एक दर्शकले छोराछोरीका बीच हुने गरेको विभेदको अन्त्य गर्न यो चलचित्रले ठूलो भूमिका खेल्ने दाबी गर्दै यो चलचित्र सारा विश्वले हेर्नुपर्ने धारणा राखे। 

एक युवती दर्शकले ‘सतीदेवी’ हेर्दा आफू २०–२२ ठाउँमा भक्कानिएर रोएको बताउँदै अबका दिनमा म छोरी मान्छे हुँ भनेर कमजोर मानसिकता नराख्ने र आफ्नो परिवारका लागि जस्तासुकै संघर्ष गर्न पनि पछि नहट्ने प्रतिबद्धता व्यक्त गरिन्। 

बच्चादेखि वृद्धसम्म उपस्थित भएको शोमा चलचित्र हेरेका अधिकांश दर्शक आँशु पुछ्दै हलबाट बाहिरिएका थिए। कतिपयले चलचित्रमा आफ्नो परिवारकै कथा ठ्याक्कै मिलेको बताउँदै यत्तिको यथार्थपरक चलचित्र पहिला कहिल्यै हेर्न नपाएको प्रतिक्रिया दिएका थिए । 

गत माघ तेस्रो साता सौराहामा सम्पन्न सौराहा दक्षिण एसियाली चलचित्र महोत्सवमा सर्वाेत्कृष्ट चलचित्र र शिव रेग्मी सर्वाेत्कृष्ट चलचित्र निर्देशक अवार्ड जितेको ‘सतीदेवी’ को चर्चाप्रति केही दिनअघि सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले चासो देखाएकी थिइन्। 

निर्देशक सुवेदी सञ्चार मन्त्रालय पुगी मन्त्री शर्मालाई आफ्नो चलचित्रबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए। मन्त्री शर्माले ‘सतीदेवी’ लाई सरकारीस्तरबाट समेत सकेको सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेकी थिइन्। 

दिलासा क्रिएसनले गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा निर्माण गरेको चलचित्र पछिल्लो समय निकै चर्चामा छ। दिलासा, सारा र श्रीदेवी सुवेदी निर्माता रहेको चलचित्रमा मलिका महत, हर्षिका वली, मञ्जिला बानियाँ, कुलबहादुर अधिकारी, रमेश बुढाथोकी, सिर्जना अधिकारी, सन्दीपबाबु लोहनी, सुजिता सिवाकोटी, भोला सापकोटा, मनीषा सापकोटा, सन्देश लिम्बूलगायतका कलाकारले अभिनय गरेका छन्। 

चलचित्रको स्वदेश प्रदर्शन मिति केही समयमै तोकिने निर्देशक सुवेदीले जानकारी दिएका छन्।

ad
ad