Skip This
खस्कँदो मनोबल उकास्ने कसरी ?
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २४ बिहीबार
  • Tuesday, 08 October, 2024
प्रेमराज सिलवाल
२o८o फाल्गुण २४ बिहीबार o६:३५:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

खस्कँदो मनोबल उकास्ने कसरी ?

खस्केको मनोबल उच्च गर्न सकियो भने नेपालको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा प्रगति, समृद्धि र स्थिरताको प्रचुर सम्भावना छ

Read Time : > 4 मिनेट
प्रेमराज सिलवाल
नयाँ पत्रिका
२o८o फाल्गुण २४ बिहीबार o६:३५:oo

खस्केको मनोबल (डाउन मोरल) प्रगति र समृद्धिको बाधक हो । हारेको र कमजोर मनस्थिति तथा खस्केको मनोबलबाट अघि बढ्दा कोही पनि लक्ष्यमा पुग्न सक्दैन । वर्तमान नेपालको राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, नैतिक, प्राविधिक, भौतिक र समग्र विकासमा मनोबल खस्कन पुग्दा सर्वत्र निराशा, कमजोरी र अविश्वास बढ्दै गएको छ । खस्केको मनोबललाई उच्च गर्नु सर्वाधिक चुनौतीपूर्ण देखिएको छ । खस्केको मनोबल उच्च गर्न सकियो भने नेपालको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा प्रगति, समृद्धि र स्थिरताको सम्भावना देखिन्छ ।

उच्च शिक्षा आर्जनदेखि रोजगारीका अवसरको खोजीमा बिदेसिने युवाको संख्या बढिरहेको छ । ४० लाखभन्दा बढी नेपाली विभिन्न उद्देश्यले देशबाहिर पुगेका छन् । बिदेशिने क्रम दैनिक बढ्दो छ । यसबाट वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्ससमेत बढिरहेको छ । सोही कारण बैंकमा लगानीयोग्य पुँजी (नगद) को मौज्दात बढिरहेको पनि छ । यद्यपि पुँजीलाई उद्योग, व्यापार र रोजागारी वृृद्धिमा लगानी गर्ने वातारण भने बढ्न सकेको छैन ।

लगानीकर्ता, उद्योगी र व्यवसायीको मनोबल खस्केका कारण ऋण लगानी बढ्न नसकेको हो । औपचारिक शिक्षा आर्जन गरेका, सहरबजारमा घर भएका र नेपालमै आय आर्जन गर्न सक्ने व्यक्ति पनि वैदेशिक रोजगारीमा तानिएका–हानिएका छन् । उच्च शिक्षा आर्जन गरी रोजगारी प्राप्त भएकाहरू पनि बिदेसिने उपाय र प्रक्रियामा लाग्दै गरेका देखिन्छन् । नेपालमा रोजगारी गरेर पैसा बचत गरी धनी हुन सकिन्न भन्ने मनोविज्ञान ह्वात्तै बढेको छ । 

ठूला उद्योग–व्यापारमा लगानी बढाउने होइन, भएको लगानी संकुचन र फिर्ता गरी घरजग्गा वा अनुत्पादक क्षेत्रमा ‘डम्प’ गर्ने प्रवृत्ति बढेको छ । सहरबजारमा चालू हालतमा रहेका साना लगानीमा सञ्चालन हुँदै आएका पेसा, व्यापार र सेवा विस्तार गर्ने होइन, बन्द गर्ने तथा लगानी संकुचन गर्ने सोच बढ्दै गएकाले ‘भाडामा’ र ‘बिक्रीमा’ भन्ने बोर्ड यत्रतत्र देखिन थालेका छन् । साना लगानीकर्ता र व्यवसायीको मनोबल यति धेरै खस्केको छ कि सहरका सबैजसो पसल–व्यवसाय ‘बेच्न पाएहुन्थ्यो’ भन्ने मनस्थितिमा पुगेका देखिन्छन् । कम्पनी र निजी क्षेत्रमा ‘स्टाफ’ कटौती गर्ने तथा खर्च घटाउने प्रवृत्ति बढेको छ । आर्थिक क्षेत्रमा विश्वव्यापी मन्दी आएको र त्यो दर झनै चर्काे हुने हल्ला भूसको आगोजस्तो गरी फैलिँदै गएकाले व्यवसायीको मनोबल नराम्रोसँग खस्कन पुगेको हो । सोही कारण बैँकमा लगानीयोग्य नगदको मौज्दात बढ्दै गएको छ ।

सबै नेता उस्तै छैनन्, सबै सहकारी भाग्दैनन्, देशको विकास र लगानीमा बैँकहरूले भूमिका खेल्दै आएका छन्, नेपालमा पनि मिहिनेत गर्दा धेरै क्षेत्रमा प्रगति गर्न सकिन्छ भनेर विश्वास जगाउन र मनोबल उकास्न चुनौतीपूर्ण भए पनि असम्भव भने छैन
 

बैँकहरूले सरल, सस्तो र सुलभ तरिकाले ऋण लगानी गर्न तयार भएका विभिन्न विज्ञापन जारी गर्दै आएको भए पनि लगानीकर्ताले भर तथा विश्वास गर्न सक्ने वातावरण निर्माण हुन सकेको देखिन्न । किन र कसरी यस्तो अवस्था आयो ? के हल्ला भएजस्तो नेपालको अवस्था त्यस्तै भइसकेको हो त ? आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा आएका यस्ता मनोबल कमजोर पार्ने भ्रमलाई कसरी चिर्न सकिन्छ ? यस्ता अनगिन्ती सवाल अहिले जटिल बन्दै छन् ।

राजनीतिक–सामाजिक क्षेत्रमा अन्योल, विकृति, विसंगति र अविश्वास बढेका कारण त्यसको दुष्प्रभाव सर्वत्र फैलिएको छ । राजनीति नीतिहरूको मूल नीति भएकाले यसको प्रभाव सबै क्षेत्र र पक्षमा पर्छ । राजनीतिक क्षेत्रबाट गिरेको मनोबल क्रमशः सामाजिक र आर्थिक क्षेत्रमा सर्दै गएको छ । राजनीतिक नेतृत्व, नेता, सरकार, सत्ता र लोकतान्त्रिक गणतन्त्रमा अनेकौँ हल्ला र भ्रम फैलिएका या फैलाइएका छन् । कुनै पनि नेता आदर्श (आइडल) बन्न सकेको देखिन्न । ‘सबै एउटै 
ड्याङका मुला हुन्’ भन्ने भाष्य समाजमा फैलिएको छ ।

२०७९ सालमा भएको निर्वाचनले संघीय संसद्मा कुनै एक दलको मात्र होइन, कुनै पनि गठबन्धनले प्रस्ट मत पाएको छैन । यसैबीच केही नयाँ दलको उदय भएको भए पनि तिनको आवाजले कुनै परिवर्तन ल्याउन सक्ने अवस्था देखिन्न । ठूला दल, पार्टी र नेतालाई गाली गर्नु मात्र आफ्नो योग्यता हो भन्ने सोच नयाँ भनिएका दल, समूूह र हित समूहमा बढेकाले विकल्पको पूर्ति हुन सक्ने अवस्था छैन । जति कमजारी भए पनि पुराना र ठूला दललाई नै समर्थन गरी भर पर्नुपर्ने बाध्यता देखिन्छ । यही कारण राजनीतिक–सामाजिक क्षेत्रमा उत्साहको वातावरण निर्माण हुन सकेको छैन । पुराना र ठूला दलमा नयाँ र परिवर्तित सोच, कार्यशैलीसहितको संगठन निर्माण गर्नु आवश्यक भइसकेको छ । 

सार्वजनिक सञ्चार माध्यमबाट चर्का गाली गर्ने र चटके फन्डा गर्नेहरू आफूलाई राजनीतिक र सामाजिक क्षेत्रका अगुवा भन्ने देखाउन नाटक गर्दै आएका भए पनि त्यसमा भर पर्न सकिने अवस्था नहुँदा राजनीतिक संघर्षबाट स्थापित भएका पुराना दलको भरपर्दाे विकल्प देखिएको छैन । हल्लाखल्ला र गाली मात्र गर्ने काम र परिवर्तनमा माखो मार्न नसक्ने व्यक्ति र समूहलाई विश्वास गर्नुपर्ने आधार नहुँदा राजनीतिक–सामाजिक सुधार हुन नसकेको हो । यस्तो अवस्थामा नागरिक र मतदाताको गिरेको मनोबल उच्च बनाउनु चुनौतीपूर्ण देखिएको छ । यसलाई सुधार नगरी अन्य क्षेत्रमा रहेका निराशा चिर्न सकिने अवस्था छैन ।

आर्थिक क्षेत्रमा मनोबल गिर्नुमा पनि राजनीतिक अस्थिरता, अन्योल र विकृति प्रमुख कारक भएको देखिन्छ । समानुपातिक प्रणालीसहितको खर्चिलो, भड्किलो र विकृत चुनावी संस्कृतिका कारण लोकतन्त्र बदनाम भएको हो । यसमा कानुनी, राजनीतिक, प्राविधिक, व्यावहारिक, नैतिक र अभ्यासगत सुधार गर्नु आवश्यक छ । 

आर्थिक क्षेत्रमा अनुशासनहीनता, विकृति र अपचलन बढेकाले बचतकर्तामा अविश्वास बढेको हो । साना बचतकर्ताको मनोबल गिर्न पुग्दा व्यवसायबाट हात झिक्ने प्रवृत्ति बढ्दै गएको छ । मुलुकका ठूला र उत्कृष्ट भनिएका सहकारी धमाधम भाग्ने, बन्द हुने र संकटग्रस्त बन्ने क्रम बढेकाले त्यसको असर बैंक तथा अन्य वित्तीय संस्थामा समेत पर्न थालेका छन् । सहकारी ठगी र बैंकिङ क्षेत्रमा आर्थिक अपचलनसमेतमा राजनीतिक दलका नेता, सुरक्षाकर्मी तथा सरकारी उच्चपदस्थ अधिकारीसहितको नाम जोडिनु र मुछिनुले समग्र आर्थिक क्षेत्रमा विश्वासको खडेरी पर्ने अवस्था बन्न पुगेको हो । यसमा सुधार गर्न अपराधमा संलग्न जोसुकै व्यक्तिलाई छानबिन गरी कानुनी कारबाही गर्न अत्यावश्यक भएको छ । यसरी मात्र बचतकर्ता र लगानीकर्ताको गिरेको मनोबल उच्च बनाउन सकिन्छ ।

अर्काेतर्फ तथ्यहीन, भ्रामक र झुटा हल्ला फैलाउने कतिपय अनलाइन मिडिया, युट्युबर, विभिन्न निजी स्वार्थ जोडिएका व्यक्ति र राजनीतिक अभीष्ट पूर्ति गर्न लागेका समूहले मुलुकको आर्थिक, सामाजिक र राजनीतिक क्षेत्र तहसनहस र ध्वस्त भइसक्यो भन्ने हल्ला व्यापक रूपमा फैलाउँदै आएका छन् । यसले साना लगानीकर्ता, बचतकर्ता र आमनागरिकको मनोबल दिनदिनै गिर्दै गएको छ ।

आर्थिक, सामाजिक र नैतिक संकट बढेका कारण सामान्य नागरिकको मनोबल निरन्तर गिर्दै आएकाले नेपालमा केही पनि ठीक छैनन्, सबै नेता र दल उस्तै हुन्, सबै सहकारी ठग र चोर हुन्, सबै बैंकले ऋण लगानी गर्दा तोक्ने ब्याजमा पछि वृद्धि गर्दै ठग्छन्, सबै नेता चोर हुन्, नेपालमा रोजगारी छैन, व्यापार छैन, उद्योग, व्यापार संकटग्रस्त भइसक्यो र सारमा नेपालमा अब केही पनि सुधार तथा परिवर्तन हुँदैन भन्ने जस्ता ‘मोरल डाउन’ गर्ने खालका भ्रामक हल्ला, भ्रम र भाष्यले बजार लिएको छ । कुनै पनि व्यक्ति र संस्थालाई विश्वास नगर्ने प्रवृत्ति बढेकाले नेपालबाट विदेश जानेहरूको लर्काे दिनदिनै बढ्दै गएको हो । 

गाउँमा अदुवा रोपेर वर्षमा चार लाख कमाउन सक्ने मानिस पनि वर्षमा डेढ दुई लाख कमाउन अरब र मलेसिया जान पासपोर्ट लिने लाइनमा उभिन थालेका छन् । सबै नेता उस्तै छैनन्, सबै सहकारी भाग्दैनन्, देशको विकास र लगानीमा बैंकले भूमिका खेल्दै आएका छन्, नेपालमा पनि मिहिनेत गर्दा धेरै क्षेत्रमा प्रगति र उन्नत्ति गर्न सकिन्छ भनेर विश्वास जगाउन र मनोबल उकास्न चुनौतीपूर्ण भए पनि यसतर्फ सबै गम्भीर बन्ने हो भने असम्भव छैन ।

 नेपालमा पनि धेरै क्षेत्रमा हजारौँ मानिसले प्रगति र उन्नति गरेका छन् । उच्च मनोबल र व्यापक अर्थको इमानदारीसहित कार्य गरेको खण्डमा धेरै प्रगति गर्न सकिन्छ । केवल विश्वास र उच्च मनोबलको खाँचो छ । खस्कँदै गएको मनोबललाई उच्च गर्न सकेको खण्डमा नेपालमा प्रशस्त सुधार, प्रगति र उन्नतिको सम्भावना देखिन्छ । 
(सिलवाल अधिवक्ता हुन्)