काठमाडौंमा पार्किङको सकस

जनताबाट पाइलैपाइलामा कर उठाउने तीन तहका सरकार राजधानी काठमाडौंको दीर्घकालीन पार्किङ समस्या समाधानबारे अलिकति पनि गम्भीर छैनन्

बिहिबार, ११ माघ, २०८०
डिजिटल संस्करण

चीनको राजधानी बेइजिङमा सवारीको बढी चाप नहुने, भित्री सडक तथा ठूला फराकिला सडकको पेटीपट्टिका साइडका कतिपय भाग र स्थानमा सेता धर्का कोरेर निश्चित संख्यामा मोटर गाडी पार्किङ गर्न दिएको देखिन्छ । स्कुटर र साइकललाई समेत छुट्टै स्थान तोकिएका छन् । भूमिगत पार्किङको पर्याप्त व्यवस्था गरिएको छ । दुई करोड ८० लाखभन्दा बढी जनसंख्या भएको, ६ वटा चक्रपथ भएको र निजी मोटरकार मात्रै लाखौँ लाख भएको चीनमा त्यसरी नागरिक र नगरवासीका लागि सरकारले न्यूनतम सहजीकरण तथा सुविधा प्रदान गरेको छ । 

भारतको राजधानी नयाँदिल्लीको कनाड प्लेस, लाल किल्ला, पालिका बजारआसपास निश्चित स्थानमा पार्किङ गर्न दिने गरेको देखिन्छ । तर, नेपालको राजधानी काठमाडौंको मुख्य स्थानको पार्किङलाई आवश्यक नियमन, सहजीकरण र सीमित सुविधा प्रदान गर्नुपर्नेमा उल्टो निषेध, अनावश्यक सरकारी कडाइले राजधानीवासीमा पार्किङको कहर बढेको छ । 

कार्यकारी पदमा रहेका व्यक्तिले ‘पब्लिक कन्जम्सन’ तथा सस्तो लोकप्रियताका आधारमा मात्र निर्णय गर्नुहुँदैन । सस्तो लोकप्रियता बटुल्ने सोचबाट भएका सबै निर्णय र आदेश सही हुँदैनन् । सरकारी वा सार्वजनिक निकायको कार्यकारी पदमा रहेका पदाधिकारीले निर्णय गर्ने वेलामा तीनचोटि सोच्नुपर्छ । 

काठमाडौंमा अहिले सर्वसाधारण, सवारीधनी र पेसाकर्मीले आधारभूत रूपमा पाउनुपर्ने न्यूनतम सवारी पार्किङसम्बन्धी सुविधाबाट वञ्चित भई अन्याय, असुविधा र सरकारी कहर भोग्नुपरेको छ । सवारी चाप कम गर्ने नाममा काठमाडौं महानगरपालिका तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले सीमित रूपमा दिइँदै आएको पार्किङको सुविधालाई पूरै कटौती तथा निषेध गर्दा धेरै उपभोक्ता अन्याय र मर्कामा परेका छन् । 

प्रत्यक्ष सरोकार नभएका तर सार्वजनिक चासो भएकाहरूको आवाज सम्बोधन गर्ने नाममा प्रत्यक्ष रूपमा जोडिएका व्यक्ति, नागरिक र समाजको अधिकार तथा हितप्रतिकूल निर्णय भएमा त्यो अन्यायपूर्ण हुन्छ । प्रत्यक्ष सरोकार नभएका र मर्का नपर्ने व्यक्ति वा पक्षबाट ‘ठीक गर्यो’ भन्दै ताली लगाउने निर्णयले अर्काे पक्ष र वर्गलाई पर्ने अन्याय, मर्का र क्षतिको सम्बन्धमा समेत पहिल्यै विचार गर्नु अत्यावश्यक हुन्छ । 

काठमाडौंको भृकुटीमण्डप, टुँडीखेल वा अन्य कुनै उपयुक्त स्थानमा करिब पाँच हजार मोटरसाइकल र करिब दुई हजार मोटरकार पार्किङ गर्न सकिने सुविधासम्पन्न र आधुनिक भूमिगत पार्किङस्थल निर्माण गर्नु अत्यावश्यक छ
 

काठमाडौंको प्रमुख व्यापारिक केन्द्र न्युरोड क्षेत्रको कालोपत्रे सडकमा पार्किङ पूर्णतः निषेध गर्ने काठमाडौं महानगरपालिको निर्णयले सो क्षेत्र आन्दोलित भएको छ । सो क्षेत्रमा व्यापार, व्यवसाय गरेर बसेका व्यवसायी र स्थानीयवासी महानगरको यस निर्णयबाट मारमा परेका छन् । राजधानीकै प्रमुख व्यापारिक क्षेत्रबाट पार्किङ हटेपछि सो क्षेत्रको व्यापारमै गम्भीर असर पर्ने भन्दै व्यापारीहरू आन्दोलनमा उत्रिँदा पनि महानगर आफ्नो निर्णय बदल्ने मुडमा देखिन्न । यसले कोभिडको मारमा थला परेका व्यवसायीमाथि थप कहर बर्सिएको छ । 

काठमाडौंको भद्रकाली मन्दिरअगाडि पूजा गर्न आउने, नयाँ सवारीसाधनलाई पूजा गर्न ल्याउने, विवाह गर्न आउने र अन्य धार्मिक–सांस्कृतिक उद्देश्यले आउनेका करिब दुई दर्जन मोटरसाइकल र केही थान मोटर अस्थायी रूपमा पार्किङ गरिँदै आएकामा विनाकुनै वस्तुगत औचित्य, अर्थ र कारण अहिले निषेध गरी रोक लगाइएको छ । यसबाट मन्दिरमा आउने भक्तजन र नागरिकमाथि ठूलो अन्याय भएको देखिन्छ । दरबारमार्गमा पहेँलो धर्काे लगाएर एक लाइन पार्किङ गर्न विगतदेखि दिइँदै आएकामा अहिले त्यो पूरै निषेध गरिएको छ । त्यसबाट त्यहाँ लाखौँलाख भाडा तिरेर पेसा–व्यवसाय गर्ने र बजार गर्न आउनेहरूलाई प्रत्यक्ष अन्याय र असुविधा भएको छ । 

प्रदर्शनीमार्गमा एक लाइन पार्किङ गर्न विगतदेखि दिइँदै आएको थियो । सामान्यतः सो क्षेत्रमा कम सवारीसाधन गुड्ने भएकाले कसैलाई असर र अप्ठेरो पनि परेको थिएन । तर, एक्कासि पार्किङ निषेध गर्दा सो क्षेत्रमा विद्यार्थी र भृकुटीमण्डम घुम्न आउने नागरिक बढी मर्कामा परेका छन् । 

बबरमहलस्थित काठमाडौं जिल्ला अदालतबाहिरको सडकपेटी २० फिट फराकिलो रहेको छ । त्यहाँ ६ फिटका मोटरसाइकल पार्किङ गर्दा १४ फिट फुटपाथ बाँकी नै रहन्छ । जहाँ उल्लिखित अदालतमा आउने वकिल र सेवाग्राहीका केही दर्जन मोटरसाइकल पार्किङ विगतदेखि नै गरिँदै आएको थियो ।

सडकको पेटी फराकिलो भएको र तुलनात्मक रूपमा बटुवा कम हिँड्ने सो स्थानमा त्यसरी एक लाइन मोटरसाइकल पार्किङ गर्दा कसैलाई असर र अप्ठेरो परेको देखिन्नथ्यो । अहिलेको निषेधबाट वकिल र सेवाग्राहीलाई प्रत्यक्ष रूपमा असुविधा र दुःख भएको छ । बागबजार क्षेत्रमा एक लाइन मोटरसाइकल मात्र पार्किङ गर्न दिइँदै आएकोमा अहिले रोक लगाइएको छ । जसबाट ठूलो संख्यामा विद्यार्थी, स्थानीय व्यवसायी, घरधनी र नागरिकलाई मर्का परेकोतर्फ अनदेखा गरिएको छ ।

महानगरपालिका प्रमुख बालेन साह र ट्राफिक प्रहरीले सस्तो लोकप्रियताका लागि अनावश्यक रूपमा पार्किङ निषेध गरेका छन् । सार्वजनिक कर्तव्य र दायित्वलाई बेवास्ता गर्दै अनुत्तरदायी र अव्यावहारिक निषेध नागरिकमाथि थोपरिएको छ । यसले समस्या झन्–झन् विकराल बन्दै गएको देखिन्छ । नागरिक र सेवाग्राहीलाई परेको यसप्रकारको अन्यायमा सरकारी र सार्वजनिक कार्यालय सहयोगी होइन, निर्दयी, रमिते र अनुत्तरदायी बन्दै छन् । सरकारी र सार्वजनिक कार्यालयमा पार्किङको पर्याप्त स्थान हुँदा पनि त्यहाँ सर्वसाधारणले सवारीसाधन पार्किङ गर्न पाउँदैनन् । 

नेपाल सरकारले सवारीसाधनमा दुई सयदेखि तीन सय प्रतिशत कर असुल्छ । सवारीसाधनको नवीकरणमा चर्काे शुल्क र जरिवाना लिन्छ । तर, नागरिकलाई दिने सेवा र सुविधामा जिम्मेवार बन्न सक्दैन । पार्किङसम्बन्धी समस्या समाधान गर्न दीर्घकालीन योजना तर्जुमा गरी काठमाडौंको बीचमा ठूलो आकारको भूमिगत वा अन्य सुविधा सम्पन्न पार्किङ स्थलको निर्माणबारे चाहिँ सोच्दै सोच्दैन । 

पाइला–पाइलामा कर लिने र आफूलाई संविधानले व्यापक अधिकार दिएको भन्ने ठान्ने र व्यवहार गर्ने महानगरपालिका पनि दीर्घकालीन पार्किङबारे गम्भीर देखिएन । सत्ताधारी र सरकारी ‘हाकिमको नजरबाट’ हेर्दा सामान्यजस्तो लाग्ने उल्लिखित समस्या वास्तवमा गम्भीर प्रकृतिकोे छ । दीर्घकालीन समाधानको उपाय नखोज्ने हो भने भविष्यमा यसले ठूलो सामाजिक, कानुनी, व्यावहारिक र नैतिक संकट निम्त्याउन सक्ने खतरा बढ्दै गएको देखिन्छ ।

नेपालको संविधानको धारा १६ को उपधारा (१) मा सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकबारे उल्लेख गरिएको छ । सम्मानपूर्वक बाँच्न पाउने वाक्यको ज्यादै फराकिलो अर्थ तथा महत्व हुन्छ । संविधानप्रदत्त सबै अधिकारको उद्देश्य व्यक्तिको जीवनलाई अधिकारसम्पन्न, मर्यादित र सम्मानित तुल्याउनु हो । सम्मानपूर्वक बाँच्न पाउने हकको अर्थ केवल जनावरजस्तो प्रकारले बाँच्नु नपर्ने भन्ने होइन ।

संविधान मूलतः अधिकारहरूको दस्ताबेज हो । संविधानद्वारा निर्दिष्ट गरिएको मनासिब नियन्त्रणको परिधि नाघेर राज्य र सार्वजनिक पदाधिकारीलाई जथाभावी र स्वेच्छाचारी ढंगले नागरिकको संविधानप्रदत्त पेसा, व्यवसायको स्वतन्त्रतामा बन्देज र निश्चित क्षेत्रका नागरिकलाई प्रत्यक्ष अन्याय एवं असुविधा हुने गरी नियन्त्रण गर्न पाउने छुट छैन । सबै नागरिकको सम्मानित र मर्यादित ढंगले आफ्नो पेसा, व्यवसाय गर्न पाउने अधिकार, हक र सुविधामा आँच पु¥याउनु भनेको संविधानमा भएको सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको उल्लंघन गर्नु र मानवअधिकारको समेत हनन गर्नु हो । 

सरकारी र सार्वजनिक निकायले आफ्ना नागरिकलाई शत्रु देशका नागरिकजस्तो गरी भित्र पस्न नदिने शैली अपनाएका छन् । सरकारी र सार्वजनिक कार्यालयको कार्यशैली र रबैया नाफामूलक प्राइभेट कम्पनीको जस्तो देखिन थालेको छ । सरकारी निकाय तथा सार्वजनिक कार्यालयहरू मूलतः नेपाली जनता र सरकारका सार्वजनिक सम्पत्ति हुन् । सरकारी कार्यालयले निजी कम्पनीबाट सुरक्षा गार्ड ल्याएर आफ्ना ढोकामा राख्ने र कार्यालयभित्र पर्याप्त पार्किङ भएका, सुरक्षा संवेदनशीलता नभएका र सार्वजनिक सेवाको भिड अत्यन्त न्यून भएका कार्यालयले समेत नागरिकलाई केही घन्टा पार्किङ गर्न नदिनु अन्याय हो ।

संविधान र कानुनले दिएकोभन्दा पनि बढी आफूलाई अधिकार भएको सोच्ने र व्यवहार गर्ने काठमाडौं महानगरपालिकाले पार्किङसम्बन्धी दीर्घकालीन सोच, योजना र नीति ल्याउन आवश्यक देखेन । काठमाडौंको भृकुटीमण्डप, टुँडीखेल वा अन्य कुनै उपयुक्त स्थानमा सुविधासम्पन्न र आधुनिक भूमिगत पार्किङस्थल निर्माण गर्नु अत्यावश्यक भइसकेको छ । जहाँ करिब पाँच हजार मोटरसाइकल र करिब दुई हजार मोटरकार अटून् । त्यस्तो भौतिक निर्माण तत्कालै थाल्नुपर्ने देखिन्छ । काठमाडौंको पार्किङ र ट्राफिक समस्या डरलाग्दो बन्दै गएकाले त्यस्तो भूमिगत पार्किङ अनिवार्य भएको हो ।

विनाऔचित्य, आधार र आवश्यकता निषेध गरिएका उल्लिखित स्थानमा आवश्यक नियमन गरी तत्कालका लागि पार्किङ खोल्नुको विकल्प देखिन्न । सस्तो लोकिप्रियता र सार्वजनिक खपतका लागि पार्किङ निषेधको अर्थ छैन ।आमनागरिकलाई भरपर्दो पार्किङ सुविधा दिनु राज्यको दायित्व हो । यसतर्फ तीनै तहका सरकारले तत्काल सोचून्, गृहकार्य गरून् र पार्किङका लागि उपयुक्त विकल्प तयार गरून् । अहिले लागू गरिएको पार्किङ निषेधले धेरै क्षेत्रका नागरिकमाथि प्रत्यक्ष कहर सिर्जना गरेको छ । यसलाई तल्काल सच्याइयोस् ।
(सिलवाल अधिवक्ता हुन्)

सुझावित समाचार