प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको मन्त्रिपरिषद् विस्तारमा जसपा र एकीकृत समाजवादीलाई पनि समेट्ने प्रयास गरिरहेका छन् । यसका लागि प्रधानमन्त्रीले दुवै पार्टीका नेताहरूसँग निरन्तर छलफल गरिरहेको बालुवाटार स्रोतले बताएको छ ।
कांग्रेससँगको सहकार्य त्यागेर नयाँ गठबन्धन बनाएका प्रधानमन्त्रीले आफ्नो पार्टी, एमाले र रास्वपाबाट मन्त्री हुनेहरूको नामावली राष्ट्रपति कार्यालयमा पठाइसकेका छन् ।
जसपा र एकीकृत समाजवादीबाट मन्त्री हुनेहरूलाई पनि सहभागी गराउन उनको प्रयास जारी रहेकाले मन्त्रीहरूको शपथको समयसमेत सरेको छ । यसअघि पाँच बजेका लागि शपथको तयारी गरिएकोमा अब पौने ६ बजे शपथ गराइने भएको छ ।
जसपाबाट उपेन्द्र यादवको नेतृत्वमा जसपा सहभागी हुने तयारीमा छ । तर, दुई मन्त्रालय पाएको जसपाले अर्को मन्त्रीको नाम टुंगो लगाइसकेको छैन । यस्तै, एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठकले प्रधानमन्त्रीसँग विभिन्न पाँच सरोकारका विषयमा गम्भीर छलफल गर्ने र त्यसपछि मात्र सरकारमा जाने विषयमा टुंगो लगाउने निर्णय गरेको छ ।
यसका लागि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफ्नो पार्टीका उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाललाई लिएर प्रधानमन्त्रीसँगको छलफलमा बसेका छन् । सो छलफल सकारात्मक भए आजै सरकारमा सहभागी हुने एकीकृत समाजवादीले जनाएको छ ।