१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
लियाना कयाली
२o८१ जेठ २ बुधबार १o:१६:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

प्यालेस्टिनी शरणार्थी लिन इजिप्टको आनाकानी किन ?

इजरायलका अलावा गाजासँग सीमा जोडिएको इजिप्टले इजरायलबाट विस्थापित प्यालेस्टिनी शरणार्थी लिनुपर्ने दबाब अस्वीकार गरेको छ

Read Time : > 2 मिनेट
लियाना कयाली
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १o:१६:oo

इजरायली बमबारी एवं जमिनी हमलाका कारण करिब १५ लाख प्यालेस्टिनी गाजाको दक्षिणी सहर रफाहमा खाँदिएका छन् । दुई लाख ५० हजार जनसंख्या भएको रफाहमा अहिले प्यालेस्टाइनको आधा जनसंख्याले बसोवास गरिरहेका छन् । राष्ट्रसंघका उच्चपदस्थ राहत अधिकारीका अनुसार रफाहमा शरण लिइरहेका प्यालेस्टिनीको अवस्था ‘अत्यधिक खराब’ छ, जहाँ रोग फैलिरहेको छ र भोकमरी बढ्दो छ ।

इजरायलले हालसम्म गाजापट्टीमा २९ हजार प्यालेस्टिनीको हत्या गरिसकेको छ र यस मामिलामा अन्तर्राष्ट्रिय न्यायालयले सम्भावित नरसंहार भएको जनाएको छ । रफाहमा हुने सम्भावित इजरायली हमलाले त्यहाँका मानिसलाई इजिप्टको सिनाई प्रायद्वीपनजिकको सीमामा धकेल्नेछ । रफाहलाई वास्तवमा ‘सुरक्षित क्षेत्र’ मानिएको थियो । तर, अहिले यस क्षेत्रमा पनि हवाई हमला भइरहेको छ । हिंसाबाट जोगिन खोज्नेका लागि अब कुनै सुरक्षित ठाउँ छैन ।

इजरायलका अलावा गाजासँग सीमा जोडिएको इजिप्टले इजरायलबाट विस्थापित प्यालेस्टिनी शरणार्थी लिनुपर्ने दबाबलाई अस्वीकार गरेको छ । विभिन्न रिपोर्टअनुसार इजरायली अधिकारीले इजिप्टलाई गाजाका शरणार्थी स्वीकार गर्न अन्तर्राष्ट्रिय लबी परिचालन गरेको थियो । इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले नाका नखोल्ने अड्डी कसेका छन् । उनले सीमालाई ‘लाल रेखा’ भनेका छन्, जसलाई पार गर्दा ‘प्यालेस्टिनी मुद्दा सकिने’ जनाएका छन् । र, हालै राष्ट्रसंघीय शरणार्थीका उच्चायुक्त फिलिपो ग्रान्डीले इजिप्टको अडानलाई प्रमाणित गरेका छन् । 

इजरायलका अलावा गाजासँग सीमा जोडिएको इजिप्टले इजरायलबाट विस्थापित प्यालेस्टिनी शरणार्थी लिनुपर्ने दबाब अस्वीकार गरेको छ
 

इजिप्ट गाजाबाहिर प्यालेस्टिनीको स्थायी पुनर्वास गरेर जातीय सफायामा साथ दिन चाहन्न । अक्टोबरमा इजरायलको गुप्तचरी मन्त्रालयको खुलासा भएको एक दस्ताबेजमा गाजाका २३ लाख मानिसलाई गाजाबाट लखेटेर इजिप्टको सिनाई मरुभूमिमा शिविरमा बसाउनु रहेको थियो । इजरायलका विभिन्न मन्त्री र सांसदले खुलमखुला प्यालेस्टिनीलाई गाजाबाट लखेटेर त्यहाँ इजरायली बस्ती बसाउनेबारे बोलेका छन् । उसो त नेतन्याहुले गत महिना ‘गाजालाई स्थायी रूपमा अतिक्रमण गर्ने आफ्नो योजना नरहेको’ जनाएका थिए । तर, गाजाबाट प्यालेस्टिनी शरणार्थीलाई इजिप्टमा सार्ने योजनामा संवाद गर्न छाडेका छैनन् । 

सिसी इजिप्टका जनता प्यालेस्टिनी जनताप्रति शक्तिशाली सहानुभूति राख्छन् र प्यालेस्टिनीलाई विस्थापन गर्ने नीतिविरुद्ध छन् भन्नेबारे जानकार छन् । सिसीको इन्कारी प्यालेस्टिनी संघर्षप्रतिको सहानुभूति र इतिहासबाट सिकेको पाठ हो । सन् १९४७–४९ मा इजरायल राज्य निर्माण गर्दा सात लाख ५० हजार प्यालेस्टिनीलाई जायनिस्ट (यहुदी राज्य सर्वोच्चतावादी) शक्तिले निकाला गरेका थिए । इजिप्ट नकबा (प्रलय) को इतिहास दोहोर्‍याउन सहयोगी हुने शक्ति बन्न चाहन्न । तत्कालीन नकबाका कारण अहिलेसम्म ६० लाख शरणार्थी छन् । राष्ट्रसंघका अनुसार एकतिहाइ शरणार्थी शरणार्थी शिविरमा बसिरहेका छन् र इजरायलले यिनलाई घर फर्किन दिएको छैन । यसै सन्दर्भमा नोभेम्बरमा इजरायली कृषिमन्त्री एभी डिच्टरले ‘हामीले गाजामा नकबा चलाइरहेका छौँ’ भनेर घोषणा गरेका थिए ।    

    इजिप्टका लागि सुरक्षा अर्को मुख्य चासोको विषय हो । यदि प्यालेस्टिनीलाई सिनाई क्षेत्रमा बसालियो भने इजिप्टको सो भूमि पनि प्यालेस्टिनी संघर्षको नयाँ अखडा बन्नेछ । यसले इजिप्टलाई इजरायलसँग सैन्य द्वन्द्वतर्फ लैजान सक्छ ।यसबाहेक राष्ट्रपति सिसीले केही वर्षअघि मात्रै उत्तरी सिनाईमा रहेका इस्लामिक उग्रवादीलाई निस्तेज गरेका छन् । यस सन्दर्भमा शरणार्थीको भारी आवागमनले परिस्थितिलाई बिगार्न सक्छ ।  

त्यसैगरी सिसी हमासले आफ्नो सत्ताविरुद्ध ठूलो विपक्षी खडा गरिदिन सक्छ भनेर सशंकित छन् । सन् २०१३ मा राष्ट्रपति मोहमद मोर्सीलाई सैन्य कुबाट सत्ताच्युत गरेपछि सिसी सत्ताले मुस्लिम ब्रदरहुड र अन्य विपक्षीलाई तहसनहस पारेका थिए । स्मरण रहोस्, हमास मुस्लिम ब्रदरहुडको प्यालेस्टिनी शाखाबाट जन्मेको हो । सन् २०१४ देखि २०१६ सम्म इजिप्टको सेनाले हमासले मुस्लिम ब्रदरहुडसँग मिलेर इजिप्टको सत्ता ढाल्ने प्रयास गरेको भन्दै गाजा र इजिप्ट जोड्ने सुरुङमा बमबारी गरी गाजापट्टीमाथिको इजरायली नाकाबन्दीलाई बलियो बनाउन सघाएका थिए । 

यति भन्दै गर्दा हमास र इजिप्टबीचको सम्बन्ध शत्रुतापूर्ण भने छैन । यी दुवैले सिनाई क्षेत्रमा इस्लामिक स्टेटका विद्रोहीविरोधी कारबाहीमा काम गरेका थिए । इजिप्टले हमास र इजरायलबीच हालै भएको र पुराना युद्धविराममा मध्यस्थता गरेको थियो । तथापि, हाल मध्यस्थता हुन सकिरहेको छैन । इजिप्ट र इजरायलबीच सन् १९७९ देखि शान्ति सम्झौता भएको छ र सिसी सत्तामा आएयता दुई मुलुकको सम्बन्ध बलियो पनि बनेको छ । यद्यपि इजिप्टले रफाहमा इजरायलले अतिक्रमण गरे शान्ति–सम्झौता खारेज गर्ने चेतावनी दिएको छ ।

 नेतन्याहुले रफाहमा आउँदा सातामा आक्रमण गर्ने दाबी गरेका छन् । यसैबीच इजिप्टले आफ्नो सीमालाई थप बलियो बनाएको समाचार आएका छन् । अर्थात्, इजिप्टले सम्भावित प्यालेस्टिनी शरणार्थी रोक्न २१ वर्गकिलोमिटरको भित्ते बफर जोन निर्माण गरेको छ । यो कदम इजरायलसँग मिलेर चालिएको हो वा आफैँले हो, स्पष्ट हुन सकेको छैन । तर, बफर जोन बन्दा गाजाका जनता उच्चस्तरको जनघनत्व भएको खुला जेलमा गम्भीर मानवअधिकार उल्लंघन व्यहोर्न अभिशप्त हुनेछन् । 

इजिप्ट र जोर्डनजस्ता मुलुकले ओठे रूपमै भए पनि पछिल्ला केही महिनायता इजरायलको विरोध गरेका छन् । तर, अन्य छिमेकी अरब मुलुकले गाजापट्टीमा सैन्य हमला रोक्न वा राहतको अवस्था सुधार्न गम्भीरतापूर्वक काम गरेका छैनन् । वास्तवमा इजिप्टको लामो समयदेखिको सीमा बन्दले गाजामा आवश्यक सहायतामा पुर्‍याउन सकेको छैन । इजिप्टका अधिकारीले रफाहबाट मुलुक छोड्न खोज्नेबाट हजारौँ डलरको घुस लिएका खबर पनि सतहमा आएका छन्, जसले गाजाका मानिसमाझ निराशा र परित्यक्तको भावना उब्जाएको छ । 

(कयाली सिड्नी विश्वविद्यालयकी पोस्टडक्टरल अनुसन्धाता हुन्) द कन्भर्सेसनबाट
 

ad
ad