पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले आफ्ना दुई सांसदलाई माओवादी पार्टीको अभिलेखबाट हटाइदिन निर्वाचन आयोग र संसद् सचिवालयलाई पत्र पठाएको छ । नेसपाले माओवादीको चुनाव चिह्न लिएर निर्वाचित जनप्रतिनिधिलाई आफ्नै दलको अभिलेखमा राखिदिन अनुरोध गर्दै आयोग र संसद् सचिवालयलाई पत्राचार गरेको हो ।
माओवादीको चुनाव चिह्न हँसिया हथौडा लिएर नेसपाका महिन्द्र राय यादव सर्लाही– ३ बाट निर्वाचित सांसद हुन् भने उमरावती देवी बारा– २ बाट समानुपातिक सांसद हुन् । माओवादी र नेसपाबीच ४ मंसिर ०७९ को निर्वाचनमा तालमेल भई हँसिया हथौडा चुनाव चिह्नमा चुनाव लड्ने सहमति भएको थियो । सहमतिअनुसार हँसिया हथौडा चिह्नबाट चुनाव लडेर प्रतिनिधिसभामा यादव र देवी निर्वाचित भए भने प्रदेश सभातर्फ बागमतीको सिन्धुली २ (२) बाट गंगानारायण श्रेष्ठ र गोरखा २ (२) बाट फणीन्द्र देवकोटा निर्वाचित भएका थिए ।
आयोगका कानुनसचिव यज्ञ भट्टराईले निर्वाचित सांसद समाजवादीको कायम गरिपाऊँ भन्ने खालको निवेदन केही समयअघि आएको र निर्णय भइनसकेको बताए । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले पनि अभिलेखीकरण सम्बन्धमा नेसपाको पत्र प्राप्त भएको बताए । ‘आफ्नो सदस्यलाई उक्त पार्टीबाट प्रतिनिधित्व गरेको व्यहोरा अभिलेखीकरण गरिदिने भनेर पत्र आएको छ । निर्णय केही भएको छैन, निर्णय प्रक्रियामा छ,’ उनले भने । हँसिया हथौडा चुनाव चिह्नबाट निर्वाचित नेसपाका दुईसहित प्रतिनिधिसभामा माओवादी केन्द्रका ३२ सांसद छन् ।