१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
फाइल तस्बिर
२o८१ जेठ २ बुधबार १६:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

फेरिएको राजनीतिक समीकरणपछि सुदूरपश्चिममा नागरिक उन्मुक्ति निर्णायक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १६:o७:oo

केन्द्रमा फेरिएको राजनीतिक समीकरणले सुदूरपश्चिममा सरकार गठनका लागि नागरिक उन्मुक्ति पार्टी निर्णायक देखिएको छ। यहाँ नागरिक उन्मुक्तिले जता समर्थन गर्‍यो उतै सरकार बन्ने स्थिति छ। ५३ सदस्यीय प्रदेश सभा एक सदस्यको निधन भएपछि हाल ५२ सदस्य छन्। 

सरकार गठनका लागि २७ सदस्यको समर्थन आवश्यक पर्छ, तर एमाले–माओवादी गठबन्धनसँग प्रदेशमा सरकार गठनका लागि बहुमत पुग्दैन। नागरिक उन्मुक्तिको समर्थनविना एमाले–माओवादी गठबन्धनबाहेकको सरकार गठन हुने अवस्था पनि छैन।

प्रदेश सभामा एमाले र माओवादी मिल्दा २० सदस्य हुग्छ। सात सदस्य रहेको नागरिक उन्मुक्तिले समर्थन गरेको अवस्थामा मात्र नयाँ गठबन्धनलाई सरकार गठनका लागि आवश्यक २७ मत पुग्छ। सदनमा दोस्रो ठूलो दल माओवादीका सभामुखबाहेक १० र एमालेका १० सदस्य छन्।  

सदनको पहिलो ठूलो दल नेपाली कांग्रेसका हाल १८ सदस्य छन्। सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रहेको अवस्थामा दुर्घटनामा परेर बझाङबाट निर्वाचित कांग्रेस सांसद पृथ्वीबहादुर सिंहको गत असारमा निधन भएको थियो । नागरिक उन्मुक्तिले समर्थन गरेको अवस्थामा प्रदेशमा नयाँ गठबन्धनबाहेकको सरकार बनाउन पनि बहुमत पुग्ने स्थिति छ। 

कांग्रेसका १८, नागरिक उन्मुक्तिका सात र नेकपा एकीकृत समाजवादीका चार सदस्य मिल्दा आवश्यक बहुमत पुग्छ। त्यस्तै कांग्रेस, नागरिक उन्मुक्ति, राप्रपा र स्वतन्त्र मिल्दा पनि सरकार गठनका लागि आवश्यक २७ सिट हुन्छ।  

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा आफ्नो पार्टीको दाबी रहने बताइसकेका छन्। काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नयाँ गठबन्धनप्रति नागरिक उन्मुक्ति सकारात्मक रहेको उल्लेख गर्दै सुदूरपश्चिममा मुख्यमन्त्री दाबी रहने बताए। 

‘सुदूरपश्चिममा थारू मुख्यमन्त्री भएको सबैले हेर्न चाहेका छन्, यो गठबन्धनबाटै हाम्रो मुख्यमन्त्री होस् भन्ने चाहेका छौँ,’ उनले भने।

गत निर्वाचनपछि एमाले–माओवादी गठबन्धनबाट एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री बनेका थिए, तर नागरिक उन्मुक्तिले मत नदिएपछि विश्वासको मत पाउन नसकेर उनको सरकार एक महिनामै ढलेको थियो। 

रावलले मुख्यमन्त्रीको दाबीको सन्दर्भमा अहिलेनै बोल्न हतार हुने बताए। ‘भर्खरै नयाँ गठबन्धन बनेको छ, प्रदेशका सन्दर्भमा पनि गठबन्धनमा केही सहमति होला,’ उनले भने, ‘प्रदेश सरकारको नेतृत्वको सन्दर्भमा हामीले अहिले नै बोल्नु उपयुक्त हुँदैन।’ 

माओवादी संसदीय दलका नेता मानबहादुर धामीले पनि केन्द्रको निर्णयअनुसार प्रदेशमा अगाडि बढ्ने बताएका छन्। सुदूरपश्चिममा अहिले नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नेतृत्वको सरकारमा माओवादी, नागरिक उन्मुक्ति र एकीकृत समाजवादी सहभागी छन्।   
 

ad
ad