१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o९:१७:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

खानीक्षेत्रमा सिमेन्ट उद्योगको लापरबाही : ओभरबडेनले खोला पुरिँदै, स्थानीयका घरखेत जोखिममा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o९:१७:oo

हेटौँडा उपमहानगरपालिका– १६ हटियामा रहेको शिवम् सिमेन्ट उद्योगले चुनढुंगा खानीक्षेत्रमा गरेको लापरबाहीले सुकौरा खोला पुरिने अवस्थामा पुगेको छ । स्थानीयका घरखेत, पानीको मुहान र सार्वजनिक सम्पत्ति जोखिममा परेका छन् । शिवम्ले मकवानपुरगढी गाउँपालिका– ७ को सुकौरा र ८ को खोटारमा रहेको खानीमा चुनढुंगा उत्खनन गर्दा निस्केको ओभरबडेनले नजिकैको सुकौरा पुरिने अवस्थामा पुगेको हो । उद्योगले मापदण्डविपरीत जथाभावी ओभरबडेन खोलामा फाल्दा वर्षायाममा खोलाको सतह बढ्ने र खानी प्रभावित क्षेत्रका बस्ती, स्थानीयको घरखेत, बारी, विद्यालय, खानेपानीलगायतका क्षेत्र जोखिममा पर्ने अवस्था भएको स्थानीयले बताएका छन् । 

वर्षायाममा खानीबाट फालिएको ओभरबडेन बाढीसँगै बगेर आउँँदा स्थानीयको खेतबारी नै ढाक्ने गरेको स्थानीयको भनाइ छ । शिवम्को खानी प्रभावित क्षेत्रका स्थानीयको गुनासोपछि गत मंगलबार गाउँपालिकाको अनुगमन टोलीले खानीक्षेत्रको अनुगमन गरेको थियो भने शनिबार प्रतिनिधिसभाका सदस्य महेश बर्तौला, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंलगायतको टोली खानीक्षेत्रमा पुगेको थियो । स्थानीयको गुनासोपछि मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको नेतृत्वमा राजनीतिक दलका प्रतिनिधिको टोलीले खानीक्षेत्रको अनुगमन गरेको थियो । अनुगमनका क्रममा शिवम्को खानीबाट निस्केको ओभरबडेनलाई निश्चित ठाउँमा डिपोजिट गरेर व्यवस्थापन गर्नुपर्नेमा अव्यवस्थित तरिकाले सुकौरा खोलामा फाल्ने गरेको पाइएको पालिकाका अध्यक्ष स्याङ्तानले बताए । उनले खानीक्षेत्रबाट निस्किएको ओभरबडेन सीधै खोलामा फाल्ने शिवम् सिमेन्टको कार्य गैरजिम्मेवार र मापदण्डविपरीत भएकाले कारबाहीका लागि सरोकारवालाको ध्यानाकर्षण गर्ने निष्कर्ष निकालिएको जानकारी दिए ।

‘हामीले खानीबाट निस्केको ओभरबडेनको उचित व्यवस्थापन नहुँदा खोलामा फालेको विषयमा उद्योग प्रशासनलाई जानकारी गराएका थियौँ । मापदण्डअनुसार सुरक्षित ठाउँमा डम्पिङ गरेर राख्न र गाउँपालिकालाई तिर्नुपर्ने रोयल्टी पालिकालाई नियमानुसार बुझाउन ताकेता गरेका थियौँ, तर सुनुवाइ भएन,’ उनले भने । अध्यक्ष स्याङ्तानले ओभरबडेन हटाउन एक महिनाको समय दिए पनि व्यवस्थापन नगरिएको र ओभरबडेनले वर्षामा तल्लो क्षेत्रका बस्तीहरूमा क्षति पुग्ने हुँदा शिवम्ले तत्काल नियमअनुसार व्यवस्थापन नगरे खानी नै बन्द गराउने चेतानी दिए । ‘ओभरबडेनले खोला पुरिएपछि वर्षायाममा आउने बाढीका कारण स्थानीयको जग्गाजमिन, घरखेत नै जोखिममा पर्ने अवस्था छ । उद्योगले अब पनि अटेर गरे खानी प्रभावित स्थानीयको साथ लिएर आन्दोलनमा उत्रनुको विकल्प छैन,’ अध्यक्ष स्याङ्तानले भने ।

ad
ad