१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
पवन बराइली काठमाडाैं
२o८१ बैशाख २९ शनिबार o६:o१:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

अस्ताए भजनशिरोमणि : जिब्रो गुमाउँदा पनि गुन्जिरहे, जीवन गुमाए पनि गुन्जिरहनेछन् 

Read Time : > 1 मिनेट
पवन बराइली, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार o६:o१:oo

जिब्रो गुमाए पनि नेपाली संगीत दुनियाँमा गुन्जिरहे । अब त जीवन नै गुम्यो र पनि नेपाली संगीत रहेसम्म सम्मानसाथ गुन्जिरहनेछन् । ०३० देखि ०४५ सम्म केवल १५ वर्षको अवधिमा गाएका अजर गीत/भजनले नै भजनशिरोमणि भक्तराज आचार्यलाई गीत–संगीतमा अमर बनाए, बनाइरहनेछन् । 

०४९ मा जिब्रोमा देखिएको खटिरा एक वर्षपछि क्यान्सर पुष्टि भयो । उपचारका क्रममा जिब्रो नै काट्नुपर्‍यो । त्यसपछि गाउन नसकेका उनले तीन दशकपछि सोमबार ८२ वर्षको उमेरमा संसार छाडेका छन् । स्वास्थ्यमा जटिलता देखिएपछि सोमबार दिउँसो ललितपुरको मेडिसिटी अस्पताल लैजाँदै गर्दा बाटैमा उनको निधन भएको हो । आचार्यको शवलाई अन्तिम श्रद्घाञ्जलीका लागि मंगलबार ११ बजे नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिने संगीतकार वसन्त सापकोटाले जानकारी दिए । त्यहाँबाट शवयात्रा गरेर पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम छ । 

आचार्यको ‘जीवन भनुँ त घात छ’, ‘मुटु जलिरहेछ’, यो मन गलिरहेछ’, ‘जति चोट दिन्छौ देऊ मायालु’, ‘सबै बेहोसी नसा पिएर’, ‘हजार आँखा हेर्ने मेरी मायालुलाई’, ‘भुल्नै सकिनँ त्यो क्षण मिलनको’, ‘आँसुजस्तो हो जीवन’, ‘हजार सपनाहरूको माया लागेर आउँछ’लगायत गीतहरू कालजयी छन् ।

नेपाली सुगम संगीतको चर्चा हुन्जेलसम्म भक्तराज आचार्यविनाको इतिहास पूरा नहुने गीतकार दिनेश अधिकारी बताउँछन् । ‘भक्तराज दाइ नेपाली सुगम संगीतको गौरवपूर्ण धरोहर हो । उहाँ नरहे पनि उहाँका सांगीतिक सिर्जना नेपाली संगीत रहेसम्म बाँचिरहन्छन् । उहाँका पालामा थुप्रै प्रतिस्पर्धी थिए । एकदमै राम्रा गायक/गायिका थिए । तर, आफूलाई अलग ढंगबाट परिचित बनाउन सक्ने क्षमता भएका कारण उहाँ भक्तराज आचार्य बन्नुभयो । त्यसैले नेपाली सुगम संगीतको चर्चा हुन्जेलसम्म भक्तराज आचार्यविनाको इतिहास हुँदैन,’ उनले भने । 

क्यान्सरले जिब्रो काट्नुपरेपछि आचार्यले गीत गाउन नसकेको अधिकारीले बताए । ‘त्यो दुर्घटनापछि उहाँको गायन–यात्रा करिबकरिब सकियो । एउटा गायकको जिब्रो काटिनु, त्योभन्दा ठूलो विडम्बना अरू केही हुन सक्दैन,’ उनी सम्झिन्छन्, ‘त्यो दुर्घटनापछि उहाँको घरमा भेट्न जान्थौँ । तर, अमिलो मन लिएर फर्किनुपर्थ्यो ।’ 

आचार्यले ०४२ मा अधिकारीको ‘जीवन भनुँ त घात छ...’ गीत गाएका थिए । अधिकारीको बुझाइमा भक्तराज आचार्य अनुभूतिको तहमा उत्रिएर गाउने गायक हुन् । ‘गायनमा व्याकरणीय शुद्धताको हिसाबले उहाँजस्तो गायक/गायिका बत्ती बालेर खोज्नुपर्छ । गीत गाउँदा व्याकरणको हिसाबले शुद्ध गाउनुपर्छ भन्ने चेत उहाँसँग सधैँ रह्यो । उहाँको आफ्नै पन थियो, त्यसैले उहाँका गीत अमर छन्,’ उनले भने । 

०३० को दशकको दशकको सुरुवातसँगै आचार्यको सांगीतिक जीवनले मोड लिएको थियो । ०३० मा काठमाडौंमा भएको ‘अधिराज्यव्यापी राष्ट्रिय गीत प्रतियोगिता’मा उनले गाएको ‘होसियार यसबखत समयको मुखलाई चिन’ प्रथम भएको थियो । त्यसपछि उनले स्वर्ण पदक पाएका थिए । प्रतियोगितामा प्रथम भएपछि रेडियो नेपालमा जागिरे पनि भए । अलग स्वर र शैलीको परिचय बनाएका भक्तराजले ०३० देखि ०४६ सम्म साढे चार सय गीत रेकर्ड गरिसकेका थिए । दुई दर्जनबाहेक सबै गीत उनले आफ्नै रचनामा तयार पारेका थिए । उनलाई ०५४ मा ठिमीको डबरी परिवारले भजनशिरोमणिको उपाधि दिएको थियो । 

नेपाली संगीत क्षेत्रमा विशिष्ट पहिचान बनाएका भक्तराज आचार्यको समग्र जीवनमा आधारित भएर फिल्म ‘आचार्य’ बनिसकेको छ । फिल्ममा उनको आरोह–अवरोह, सफलता र दुःखहरू समेटिएको छ । प्रशान्त रसाइलीले निर्देशन गरेको फिल्ममा आचार्यका जेठा छोरा सत्यराजले उनको भूमिका अभिनय गरेका छन् । फिल्ममा अचार्यको भोगाइ र पीडाहरूलाई चित्रण गरिएको छ । आचार्यका जेठा छोरा सत्यराज र कान्छा स्वरूप दुवै गायनमै सक्रिय छन् । 
 

ad
ad