१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०८० फाल्गुण १४ सोमबार ०६:०५:००
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : क्रमवेल र चित्रकारको संवाद

Read Time : < 1 मिनेट
२०८० फाल्गुण १४ सोमबार ०६:०५:००

बेलायती सैनिक तथा राजनीतिज्ञ ओलिभर क्रमवेल आफ्नो वीरताका लागि विख्यात थिए । उनको वीरताबाट प्रभावित भएर एक चित्रकार उनीसामु आए र उनको एउटा चित्र बनाउने अवसर पाऊँ भनी अनुरोध गरे । उनले भने, ‘म तपाईंको वीरताको सम्मानमा एउटा चित्र बनाउन चाहन्छु । के त्यसका लागि तपाईं मलाई अनुमति दिनुहुन्छ ?’ चित्रकारको अनुरोध सुनेपछि क्रमवेलले उनलाई आफ्नो चित्र बनाउने स्वीकृति दिए । 

चित्रकार धेरै खुसी भए । तर, चित्र बनाउँदै गर्दा एउटा समस्या देखियो । क्रमवेल जति साहसी, वीर र लडाकु थिए, उति नै कुरूप पनि थिए । उनको अनुहारमा एउटा ठूलै आकारको दानाजस्तो मांसपिण्ड थियो, जसका कारण उनी निकै कुरूपजस्ता देखिन्थे । 

चित्रकारले बडो मिहिनेत गरेर क्रमवेलको चित्र त बनाए, तर उनले जानीजानी सो मांसपिण्ड उनको चित्रबाट हटाइदिए । चित्रमा क्रमवेल धेरै सुन्दर देखिएका थिए । चित्रकार त्यो चित्र लिएर क्रमवेललाई देखाउन गए । क्रमवेलले त्यो चित्र हेर्दै भने, ‘तिम्रो कलाकृति अत्यन्तै सुन्दर छ, तर यो चित्र मेरो होइन । त्यसैले, तिमी बनाउनै चाहन्छौँ भने मेरै चित्र बनाएर देऊ ।’

चित्रकारले उनको भनाइको आशय बुझे । उनले एउटा अर्को चित्र बनाए, जसको अनुहारमा ठूलो आकारको मांसपिण्ड थियो, त्यो नै क्रमवेलको वास्तविक रूप थियो । चित्रकार त्यो दोस्रो चित्र लिएर फेरि क्रमवेललाई देखाउन गए । चित्र देखेपछि क्रमवेलले खुसी हुँदै भने, ‘हो यो चित्र नै मेरो हो । यो चित्र अत्यन्तै सुन्दर पनि छ । सुन साथी, मलाई आफ्नो नराम्रो अनुहार हेर्ने बानी परिसकेको छ । त्यसलाई सिँगारेर राम्रो देखाइरहन जरुरी छैन । आखिर व्यक्ति जस्तो छ, त्यस्तै देखिनु ठीक होइन र ?’ चित्रकार उनलाई हेरेकोहेर्‍यै भए ।