
आइसिसी विश्वकप लिग– २ को दोस्रो खेलमा नामिबियाविरुद्ध नेपालले खराब ब्याटिङ गरेको छ ।
टस जितेर पहिले फिल्डिङ रोजेको नामिबियाले सो निर्णयलाई सही साबित गर्दै नेपाललाई एक सय ६८ रनमै अलआउट गरेको छ । ४३ रन बनाउँदा पहिलो विकेट गुमाएको नेपालले त्यसपछि एक सय रन बनाउँदा मात्र चौथो विकेट गुमाएको थियो । तर, ३७.१ ओभरमै अलआउट हुन पुग्यो ।
नेपाली ब्याटिङ कोल्याप्स बनाउन बेर्नार्ड स्कल्ट्ज र जन निकोल लोफ्टीले चार–चार विकेट लिए । स्कल्ट्जले नेपालको टपअर्डर ध्वस्त पारिदिए । दुवै ओपनर कुशल भुर्तेल र आसिफ शेख, अनिल साह तथा भीम सार्की स्कल्ट्जको सिकार बन्न पुगे ।
यस्तै, निकोलले कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करन केसीको विकेट लिए ।
नेपालका लागि आसिफले सर्वाधिक ५८ रन बनाए । ६४ बल खेलेका उनले एक छक्का र आठ चौका प्रहार गरे । आसिफले कुशल मल्लसँग ५७ रनको साझेदारी गरेपछि नेपालले नामिबियाविरुद्ध राम्रो स्कोर खडा गर्ने सम्भावना देखिएको थियो । तर, आसिफ र कुशल आउट भएसँगै नेपाली इनिङ्स तासको पत्ताझैँ ढल्न पुग्यो ।
कुशल मल्ले ३६, भीम सार्की २६, कुशल भुर्तेल १८ र करनले १२ रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् । कप्तान रोहित, अनिल साह र देव खनाल शून्य रनमै फर्किए भने दीपेन्द्रले ६ र सोमपालले चार रन बनाए । ललित राजवंशी विना कुनै स्कोर अविजित रहे ।