Skip This
आइसिसी विश्वकप लिग–२ - नामिबियाको हारसँगै नेपाल शीर्ष स्थानमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ८ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o फाल्गुण ८ मंगलबार o६:२o:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइसिसी विश्वकप लिग–२ - नामिबियाको हारसँगै नेपाल शीर्ष स्थानमा

नेपाल, नामिबिया र नेदरल्यान्ड्सले दुई खेलमा समान एक जित र हार निकालेका छन्, रनरेटमा नेपाल शीर्ष स्थानमा उक्लेको हो 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o फाल्गुण ८ मंगलबार o६:२o:oo

आइसिसी विश्वकप लिग–२ मा नामिबिया सोमबार त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्ससँग सात विकेटले पराजित भएको छ । नामिबियाको हारसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । दोस्रो संस्करणको लिग–२ को पहिलो शृंखलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्सले समान दुई खेल खेल्दै दुई नै अंक जोडेका छन् ।

सहभागी सबै टोलीले एक हार र जित निकालेका छन् । रनरेटमा नेपाल शीर्ष स्थानमा रहेको हो । नामिबिया दोस्रो स्थानमा छ । नेपालले नामिबियासँग पहिलो खेलमा पराजित भएको थियो । दोस्रो खेलमा सन् २०२३ को एकदिवसीय विश्वकप खेलेको राष्ट्र नेदरल्यान्ड्समाथि सानदार जित निकाल्यो । सानदार जितसँगै नेपालले रनरेटमा सुधार गरेको थियो । नेपालले बुधबार नेदरल्यान्ड्सको सामना गर्नेछ । 

नामिबिया एक सय २३ रनमा समेटियो
नेदरल्यान्ड्सका बलर आर्यन दत्तले करिअरकै उत्कृष्ट बलिङ स्पेल गर्दा पहिलो ब्याटिङ गरेको नामिबियाको बलियो ब्याटिङ कमजोर भयो । नामिबियाले ३५.१ ओभरमा सबै विकेट गुमाएर एक सय २३ रनको न्यून योगफल खडा ग¥यो । आर्यनले नौ ओभरमा ३४ रन खर्चेर ६ विकेट लिए । उनले ३.७७ रनरेटमा बलिङ गरेका थिए । सहज लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले २७.२ ओभरमा तीन विकेटको क्षतिमा एक सय २४ रन जोड्दै लिगमा पहिलो जित निकाल्यो । नेदरल्यान्ड्सको जितमा ओपनर माइकल लेभिटले सर्वाधिक ५७ रनको योगदान दिए । 

उनले पहिलो विकेटका लागि म्याक्स ओ डवाडसँग १५.४ ओभरमा ७८ रनको साझेदारी गरेका थिए । दोस्रो ओपनर म्याक्सले इरास्मुसको ओभरमा विकेट गुमाए । म्याक्सले ४२ बलमा समान दुई चौका र छक्का प्रहार गरी २८ रन जोडे । तेस्रो क्रममा ब्याटिङ गरेको सब्रान्ड इन्गेब्रेचले १४ बलमा ६ रन जोडे । त्यसपछि माइकलले बास डे लिडसँग तेस्रो विकेटका लागि १७ रन जोड्दै टोलीलाई जिततर्फ अग्रसर गराए । इनिङ्सको २३.४ ओभरमा माइकल आउट भए । उनी फ्रेलिंकबाट क्याचआउट भएका थिए । 

उनले ८१ बलमा आठ चौका र दुई छक्का प्रहार गरे । अन्तिमसम्म नटआउट रहेका बास डेले २० बलमा दुई छक्का र एक चौका प्रहार गरी २१ रन बनाए । बलिङमा नामिबियाका ग्रेहार्ड इरास्मुसले सात ओभरमा २३ रन खर्चेर तीन विकेट लिए । उनले नेपालविरुद्ध पनि घातक बलिङ गरेका थिए । 

दत्तको घातक बलिङ
नेदरल्यान्ड्सका दायाँहाते बलर दत्तले नामिबियाविरुद्ध करिअरकै उत्कृष्ट बलिङ गर्न सफल रहे । उनको कसिलो बलिङसामु नामिबियाका कुनै पनि खेलाडीले गतिलो स्ट्रोक लगाउन सकेनन् । दत्तले ३६ एकदिवसीय खेलमा अहिलेसम्म ३६ विकेट लिएका छन् । करिअरमा उनले एकपटक मात्र पाँच विकेट प्रदर्शन नामिबियाविरुद्ध नै रह्यो । नेपालविरुद्धको खेलमा उनी विकेटविहीन रहे । उनले नेपालसँगको खेलमा ४४ रन खर्चेका थिए । नामिबियाको पहिलो विकेट नै उनले लिएका थिए । 

दत्तले नामिबियाका ओपनर कोट्जेलाई पाँच रनमा बोल्ड गरे । कोट्जेले ३० बलको सामना गरेका थिए । दत्तले नामिबियाका माइकल भान लिंगेनलाई चार रनमा, जान फ्रेलिंकलाई शून्य रनमा, जान निकोललाई शून्य रनमा र जाने ग्रिनलाई १९ रनमा पेभेलियन फर्काए । सो इनिङ्समा नामिबियाका तीन खेलाडीले रन नै बनाएनन् । नामिबियाका लागि रुवेन ट्रम्पेल्मानले २० रनको योगदान दिए । उनले ३९ बलमा २० रन बनाए । मध्यक्रममा जे स्मिटले ४६ बलमा एक चौका र दुई छक्काको सहयोगमा सर्वाधिक २६ रन जोडे । जान, रुवेन र ब्रेनाल्ड स्कोल्टजबीचको साझेदारीकै कारण नामिबियाले नेदरल्यान्ड्सविरुद्ध सय रनको योगफल कटाउन सफल भएको हो । 

ब्रेनार्डले २२ बलमा दुई चौकाको सहयोगमा १२ रन जोडे । नेदरल्यान्ड्सले ११ अतिरिक्त रन दिएको थियो । नामिबियाले शीर्ष पाँच विकेट गुमाउँदा १२.२ ओभरमा ४४ रन बनाएको थियो । बलिङमा केयल क्लिनले ५.१ ओभरमा २१ रन खर्चेर दुई विकेट लिए । भान डेर मेर्वे र म्याक्सले समान एक विकेट हात पारे ।