१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
रासस नवलपरासी
२o८१ जेठ २ बुधबार १३:oo:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

खोलेसाग बिक्रीबाट तीन महिनामा तीन लाख आम्दानी

Read Time : > 1 मिनेट
रासस, नवलपरासी
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १३:oo:oo

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका– ७ का लक्ष्मी महतोदम्पती पालुंगे (खोले) सागखेती गरेर मनग्य आम्दानी गर्न सफल भएका छन्। विगत दुई वर्षदेखि व्यावसायिक रूपमा पालुंगे सागखेती गर्दै आएका महतोदम्पतीले वार्षिक रु. तीन लाखभन्दा बढी आम्दानी गर्दै आएका छन्।

सात कट्ठा क्षेत्रफलमा लगाइएको पालुंगे सागले मंसिरदेखि चैतसम्म राम्रो आम्दानी दिने किसान लक्ष्मीले बताए। केही वर्षअघिसम्म चैतेधान लगाउने गरेकामा विगत दुई वर्षदेखि पालुंगे साग लगाउन थालेको उनले बताए। ‘चैते धानभन्दा यो साग लगाएपछि फाइदा भयो, यसमा सामान्य जैविक मल प्रयोग गर्छौँ, अरू केही गर्नुपर्दैन,’ उनले भने, ‘चैतेधानभन्दा यो सागखेतीले जीविकोपार्जनमा राहत पुर्‍याएको छ।’

महतोदम्पती साग बिक्री गरेर यामअनुसार तीन महिनामा नै रु. तीन लाखसम्म आम्दानी गर्न सफल भएका छन्। माघमा मात्र पहिलो लट काटिएको सागबाट रु. ८० हजारभन्दा धेरै आम्दानी गरिसकेको लक्ष्मीले बताए। मंसिरमा लगाएको पालुंगे साग चैतसम्म उत्पादन हुने गर्दछ। खोलामा खेर गइरहेको पालुंगे सागलाई पहिलोपटक दुई वर्षअघि बिक्रीका लागि बजार लैजाँदा ग्राहकले मन पराएपछि यसैलाई व्यावसायिक खेती गरेको उनले जानकारी दिए।

‘यो सागलाई उपभोक्ताले अत्यधिक रूपमा मन पराएर दैनिक माग बढ्दै गएको छ,’ उनले भने, ‘पालुंगे सागको माग फागुन–चैतमा अझै धेरै हुने गर्दछ।’ गर्मी मौसममा अन्य साग उत्पादन कमै हुने भएकाले पनि पालुंगे सागको माग अझ बढ्ने गरेको छ। एकपटक काटिसकेपछि पनि निरन्तर उम्रिने भएकाले लगानी र मिहिनेत कम पर्ने हुँदा किसानले यसबाट राम्रो फाइदा लिन थालेका छन्। पूर्ण रूपमा अर्गानिक हुने र जुनसुकै प्रकारका बिरामीले पनि खान मिल्ने भएकाले बजारमा यसको माग बढ्दो रहेको किसान लीला थारूले बताए।

‘यसमा कुनै रासायनिक मल प्रयोग हुँदैन। मल विषादी प्रयोग नगरिने हुँदा यो पूर्ण रूपमा अर्गानिक हुन्छ। यो साग सङ्लो पानी बग्ने स्थानमा हुन्छ,’ उनले भने। खेत, खोला र सिमसार क्षेत्रमा पाइने पालुंगे साग अहिले ग्राहकले पनि अत्यधिक रुचाउन थालेका छन्। छिपछिपे पानी बग्ने खोलामा यो साग मौलाउने भएकाले यसलाई खोलेसाग पनि भन्ने गरिएको किसान थारूको भनाइ छ। ‘कतिपय ठाउँमा यसलाई सिमसाग पनि भन्ने गर्दछन्, यही साग बिक्रीबाट हामीजस्ता धेरैको रोजीरोटी चलेको छ,’ उनले भने।

पछिल्लो समय जिल्लाको सदरमुकाम कावासोती बजारलगायतका स्थानमा पालुंगे सागको राम्रो कारोबार हुने गरेको छ। यस वर्ष स्थानीय किसानले जिल्लाबाहिर बुटवल, नारायणगढलगायतका बजारमा समेत यो सागको राम्रो निर्यात गरेको बताएका छन्।

ad
ad