१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० फाल्गुण ३ बिहीबार ०६:१०:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मृतक सैनिकका परिवारलाई नेपालमै क्षतिपूर्ति पठाउन रुस तयार

Read Time : > 1 मिनेट
२०८० फाल्गुण ३ बिहीबार ०६:१०:००

रुसी सेनामा कार्यरतमध्ये युक्रेनसँगको लडाइँमा ज्यान गुमाएका नेपालीका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन रुस सरकार तयार भएको छ । नेपाल र रुसको कूटनीतिक च्यानलमार्फत भएका पत्राचारका क्रममा रुसले मस्कोस्थित नेपाली राजदूतावासमार्फत परिवारलाई क्षतिपूर्ति पठाउन तयार भएको हो । यसअघि रुसले मृतकका परिवारका एकजना सदस्य क्षतिपूर्तिका लागि मस्को जानुपर्ने भन्दै आएको थियो । 

‘रुसमा मृत्यु भएका नेपालीको परिवारलाई नेपाली राजदूतावासमार्फत क्षतिपूर्ति रकम पठाउन रुस सरकार तयार भएको जानकारी प्राप्त भएको छ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले भने, ‘अब रुस सरकारले मस्कोस्थित नेपाली राजदूतावासमा क्षतिपूर्ति पठाउनेछ भने त्यहाँबाट परराष्ट्र मन्त्रालय हुँदै सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध हुनेछ । क्षतिपूर्ति प्राप्तिका लागि रुससँग थप छलफल हुनेछ ।’ 

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राई भन्छन्–
रुसमा मृत्यु भएका नेपालीको परिवारलाई नेपाली राजदूतावासमार्फत क्षतिपूर्ति रकम पठाउन रुस सरकार तयार भएको जानकारी प्राप्त भएको छ । अब रुस सरकारले मस्कोस्थित नेपाली राजदूतावासमा क्षतिपूर्ति पठाउनेछ भने त्यहाँबाट परराष्ट्र मन्त्रालय हुँदै सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध हुनेछ । क्षतिपूर्ति प्राप्तिका लागि रुससँग थप छलफल हुनेछ ।

प्रवक्ता राईका अनुसार नेपालले रुससित मृतक नेपालीको थप विवरण माग्नेछ भने क्षतिपूर्तिका लागि छलफल गर्नेछ । अहिलेसम्म  के–कति रकम क्षतिपूर्तिबापत दिने भन्ने यकिन भइसकेको छैन । हालसम्म रुस सरकारले रुसी सेनाका कार्यरतमध्ये १० जनाको मृत्यु भएको जानकारी विवरण परराष्ट्र मन्त्रालयलाई पठाएको छ । परराष्ट्रका अनुसार स्याङ्जाका हरिप्रसाद अर्याल र पितम कार्की, कैलालीका भरतबहादुर शाह, धादिङका राजकुमार गिरी, गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, दोलखाका राजकुमार रोका, इलामका गंगाराज मोक्तान र ठेगानालगायत विवरण सार्वजनिक नगरिएका कुन्दनसिंह नागलको मृत्यु भएको छ । तर, रुसी सेनामा कार्यरतमध्ये दुई दर्जनभन्दा बढीको मृत्यु भएको भन्दै शव ल्याइदिन माग गर्दै परिवारका सदस्यले सरकारसँग अनुरोध गरेका छन् । 

रुसी सेनामा कार्यरत नेपालीका परिवारसँग समन्वय गरेकी एकीकृत समाजवादीकी नेतृ कृतु भण्डारीले मृतकको संख्या सरकारले सार्वजनिक गरेभन्दा धेरै भएको बताइन् । ‘हामी तथ्य संकलन गर्दै छौँ । दुई दर्जनभन्दा बढी परिवारजनले काजकिरिया नै गरिसक्नुभएको हामीलाई जानकारी गराउनुभएको छ,’ भण्डारीले भनिन्, ‘विस्तृतमा तथ्य संकलन गरेर हामी परिवारका सदस्यसहितको पत्रकार सम्मेलन आयोजना गर्ने तयारीमा छौँ । मृतकको संख्या धेरै छ, सरकारले सार्वजनिक गरेको संख्या एकदमै न्यून हो ।’ रुसमा रहेका परिवारका सदस्यलाई स्वदेश फर्काउन पहलका लागि माग गर्दै दुई सय ५० भन्दा बढी परिवारले कन्सुलर सेवा विभागमा निवेदन दिएको पनि उनले बताइन् । 

रुसमा मृत्यु भएका नेपाली गत भदौपछि सेनामा भर्ती भएकाहरू रहेको जानकार अधिकारी बताउँछन् । क्षतिपूर्ति नेपाल पठाउन रुस सरकार तयार हुनु परिवारका लागि न्यूनतम राहत भएको नेतृ भण्डारीले बताइन् । ‘परिवारजनले यो माग राष्ट्रसंघ र रुसी राजदूतावासमा गरेका थिए । हामीले प्रयास गरेका थियौँ । यदि यो कार्यान्वयन भयो भने राहत हुनेछ,’ उनले भनिन् । 

क्षतिपूर्ति पठाउन तयार भए पनि युद्धमा मारिएका नेपालीहरूको शव नेपाल पठाउन भने रुस तयार भएको छैन । स्रोतका अनुसार १० मृतकको शव सुरक्षित रहेको उल्लेख गर्दै रुसले सैनिक सम्मानका साथ उतै अन्त्येष्टि गर्ने प्रस्ताव गर्दै आएको छ । नेपालले भने सकभर शव नेपाल पठाउने व्यवस्था मिलाउन र सम्भव नभए अन्त्येष्टि गरेर मृतकको अस्तु भए पनि नेपाल पठाइदिन अनुरोध गरेको जानकार कूटनीतिक अधिकारीले बताए ।