१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
शान प्रदेशको कुनलङनगर कब्जा गरेपछि सामूहिक फोटो खिच्दै विद्रोही सैनिक ।
२o८१ जेठ ३ बिहीबार १o:२५:oo
Read Time : > 3 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

गृहयुद्धमा एकपछि अर्को पराजय भोग्दै म्यानमार सेना

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १o:२५:oo

म्यानमारको सेनाले प्रजातान्त्रिक रूपमा निर्वाचित सरकार अपदस्थ गरेको गत फेब्रुअरी १ मा तीन वर्ष पुग्यो । कुपछि ५.४ करोड जनसंख्या भएको यो देश रक्तपातपूर्ण गृहयुद्धमा फसेको छ । यस द्वन्द्वको सबैभन्दा महत्वपूर्ण मोड तीन महिनाअघि देखियो, जब केही सशस्त्र समूहले सुरु गरेको प्रत्याक्रमणले सेनालाई विभिन्न ठाउँबाट पछाडि हट्न बाध्य बनायो । प्रत्याक्रमण सुरु गरिएको अंग्रेजी मिति अक्टोबर २७ बाट ‘अप्रेसन १०२७’ नाम दिइएको सैन्य अभियान धेरैले सोचेभन्दा सफल देखिएको छ । सशस्त्र विद्रोही फौजले सीमावर्ती राज्यका कैयौँ बस्ती सेनाको हातबाट आफ्नो कब्जामा लिन सफल भएका छन् । चीनसँग सीमा जोडिएका उत्तरपूर्वी सान राज्यका कैयौँ सहरबाट अहिले विद्रोहीले शासन गरिरहेछन् । सेनाले पछि यस भेगमा हवाई बमबारी गरे पनि तिनलाई पुनः कब्जामा लिन सकेन । 

अप्रेसन १०२७ को सफलताले देशका अन्य भेगका विद्रोहीलाई पनि उत्साहित बनाएको छ । दशकौँको कुव्यवस्थापनका कारण म्यानमारको सेना उसले गुमाएको क्षेत्र पुनः हासिल गर्ने अवस्थामा नरहेको मिन ज उले बताए । मिन ज उ वासिंटनस्थित ‘सेन्टर फर स्टे«टेजिक एन्ड इन्टरनेसनल स्टडिज’का फेलो हुन् । गत वर्ष झन्डै एक महिना लामो म्यानमार भ्रमणका क्रममा जुन्ता बटालिन कमान्डर र अन्यसँग गरेको कुराकानी र अध्ययनका आधारमा मिन ज उ यस निष्कर्षमा पुगेका हुन् । 

म्यानमार स्वतन्त्र भएदेखि नै देशका सीमावर्ती क्षेत्रमा विभिन्न जातीय समूह थप स्वशासन र आत्मनिर्णयको अधिकारको माग राखेर लड्दै आएका छन् । तीन वर्षअघिको कुको विरोधमा उठेको शान्तिपूर्ण आन्दोलन दबाइएपछि युवाको ठूलो समूह प्रजातन्त्रको पुनर्वहालीका लागि सशस्त्र द्वन्द्वमा होमिएका छन् । नवगठित प्रजातन्त्रवादी सशस्त्र समूह सैन्य अनुभवका लागि दशकौँदेखि सेनासँग लडेको अनुभव भएका जातीय समूहतर्फ फर्किए । अलग–अलग रूपमा सेनाविरुद्ध लडिरहेका सशस्त्र समूहलाई एकताबद्ध गर्ने प्रयासले गत अक्टोबरमा एक गठबन्धनको निर्माण गरायो । म्यानमार–चीन सीमानजिक चिनियाँ भाषा बोलिने कोकाङ क्षेत्रमा सक्रिय ‘म्यानमार नेसनल डेमोक्रेटिक एलायन्स आर्मी(एमएनडिएए)’ले अन्य दुई शक्तिशाली जातीय सशस्त्र समूहसँग मिलेर एक ‘थ्री ब्रदरहुड एलायन्स’ बनायो । अप्रेसन १०२७ सोही सैन्य गठबन्धनले सञ्चालन गरिरहेको छ । 

अन्य जातीय सशस्त्र समूहले पनि यसमा सामेल हुने इच्छा देखाएका छन् । तर, अहिलेसम्म तिनलाई सेनाविरुद्धको साझा वैरभावले मात्र नजिक्याएको देखाउँछ । उनीहरूबीच प्रतिद्वन्द्विता र आशंकाको लामो इतिहास छ, जसलाई विगतमा सेनाले आफ्नो लाभका लागि प्रयोग गर्ने गरेको थियो । गठबन्धनले देशको पश्चिम, उत्तर र पूर्वी भेगका ग्रामीण क्षेत्रबाट सहरतर्फ प्रत्याक्रम अघि बढाइरहँदा सेना उसका आधार बचाउन संघर्ष गरिरहेको छ । तथापि धेरैको नजर विद्रोही गठबन्धन कति लामो जानेछ भन्ने कुरामा छ ।

 अध्येता मिन ज उका अनुसार म्यानमारको सेनाले दशकौँसम्म उसका लडाकुले प्रयोग गर्ने उपकरण र रणनीतिमा लगानी गर्न ध्यान दिएन । अहिले युद्धमैदानमा फौजलाई सुरक्षाका लागि आवश्यक उपकरणको समेत अभाव देखिएको छ । पहिले सेनाले एक वा बढी विद्रोही फौजविरुद्ध सफलतापूर्वक सैन्य अभियान सञ्चालन गरिरहेको थियो । तर, तीन वर्षको कुपछि सेनाविरुद्ध अन्य कैयौँ मोर्चा खुले । यी सबैको संयुक्त दबाबमा कैयौँ आधारभूत कमजोरी सतहमा आउन थालेको छ । पछिल्लो कुको नेतृत्व गरेका जनरल मिन आङ ह्लाइङले सेनाको माथिल्लो तप्कामा आफूप्रति अनुग्रहित समूह तयार पार्न कैयौँ शीर्ष कमान्डरलाई प्रोमोसन गरे । यस क्रममा प्रमोसन हुनेको युद्धमैदानको अनुभवलाई बेवास्ता गरियो ।

यही कुरा अहिलेको गृहयुद्धमा सेनाका प्रत्युत्पादक र विद्रोहीका लागि वरदान सावित भएको मिन ज उले बताए । उनका अनुसार सेनाको शीर्ष तहमा युद्धमैदानका कम अनुभव भएका कमान्डरको बाहुल्य, उपकरणको अभाव र सैन्य रणनीतिको कमी चाँडै समाधान हुने देखिँदैन । यसले म्यानमार सेनामाथिको विद्रोही समूहको प्रत्याक्रमणलाई निकै तीव्र बनाइदिएको छ । तथापि विश्लेषकहरू म्यानमारको सेना छिट्टै हार्ने वा धराशयी हुने प्रक्षेपण अतिशयोक्तिपूर्ण हुने बताउँछन् । ‘अप्रेसन १०२७ पछि मानिसहरू म्यानमारको सेना ६ महिनाभित्रै पराजित हुने बताउन थालेका छन् । युद्धमैदानमा विद्रोही समूहले हासिल गरेको सफललता र सेनाको हारले विद्रोहीमा केही बढी बल लगाउने हो भने सेनालाई धुलो चटाउन सकिन्छ भन्ने विश्वास बढेको छ । तर, अहिले जेजति अनुमान गरिँदै छ, यही उत्साहका आधारमा हचुवाका भरमा गरिँदै छ,’ म्यानमारबारे स्वतन्त्र विश्लेषण गर्ने डेभिड म्याथिसनले भने । 

म्यानमारको सेनाले मुख्यतः भारत, बंगलादेश र चीनसँगको सीमातर्फको भूभाग गुमाएको छ । तर, सेनाले यी सीमावर्ती क्षेत्रमाथिको नियन्त्रणविनै ठूला सहर, त्यसवरपरका समतल भूमि, समूद्र बन्दरगाह, मुख्य सैन्य आधार, त्यसवरपरका हतियार उद्योग र प्रमुख राजमार्गमाथि नियन्त्रण कायम राखेर शासन टिकाउन सक्ने म्याथिसन बताउँछन् । त्यसो भए उसलाई युद्धमा आवश्यक हतियार र स्रोत परिचालनमा कठिनाइ नहुने म्याथिसनको ठम्याइ छ । 

एकपछि अर्को युद्ध मोर्चाबाट पछि हट्नुपरेको र सम्पूर्ण बटालियनको आत्मसमर्पण देखेको म्यानमारको सेनाको आत्मविश्वास अहिले गिरेको छ । तथापि हुलका हुल सैनिक राष्ट्रिय सेना छाडेर विद्रोही समूह सामेल नभएसम्म सेना धराशयी नहुने विश्लेषक बताउँछन् । म्यानमारमा त्यो अहिलेसम्म देखिएको छैन । त्यस्तै सेना एकदम विभाजित प्रतिद्वन्द्वीसँग लडिरहेको छ । अप्रेसन १०२७ का क्रममा विद्रोही फौजले उच्च समन्वयको प्रदर्शन गरेको भए पनि देशभर सक्रिय सशस्त्र फौज एकल केन्द्रित कमान्ड नभएका विखण्डित समूह हुन् । सेनासँग लडिरहेका समूहको शत्रु साझा भए पनि उनीहरू प्रायः आफ्नै संकीर्ण लक्ष्य बोकेर हिँडिरहेका छन् । केहीका लक्ष्य (विशेष क्षेत्रीय नियन्त्रणको विषय) एक–आपसमा परस्परविरोधी छन् । जसका कारण विगतमा उनीहरू सेनासँग बाहेक एकआपसबीच पनि लडेको इतिहास छ । 
मिन ज उका अनुसार पूर्वी भेगमा सक्रिय दुई विद्रोही समूहमा उनीहरूमध्ये कसले स्थानीयमाथि कर लगाउन पाउने विषयमा झगडा सुरु भइसकेको छ ।  सैन्य विश्लेषक पनि सेना कमजोर रहेको क्षेत्रबाट पछाडि हटेर बाँकी भागको प्रतिरक्षामा केन्द्रित हुन सक्ने सम्भावनाबीच विद्रोही समूहलाई भावी सैन्य सफलता कठिन हुन सक्ने मिन ज उ बताउँछन् । उनका अनुसार भावी प्रतिरोध संघर्षले कुन बाटो लिन्छ भन्ने कुरा विद्रोहीले देशका ठूला सहर यांगुन र म्यान्डलेबीचको राजमार्गलाई विच्छेद गर्न सक्ने–नसक्ने कुरामा निर्भर रहन्छ । हाल यो राजमार्गमा सेनाको बलियो पकड छ ।    –भ्वाइस अफ अमेरिकाबाट

ad
ad