१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
श्रवण थापा सर्लाही
२o८१ बैशाख २२ शनिबार १४:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

तलब-भत्ता नपाएपछि हरिपुर्वाका कर्मचारीद्वारा सेवा ठप्प पार्ने चेतावनी

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १४:३२:oo

सर्लाहीको हरिपुर्वा नगरपालिकामातहतका कर्मचारीले अनिश्चितकालका लागि सेवा ठप्प पार्ने चेतावनी दिएका छन्। तलब-भत्ता नपाएको भन्दै कर्मचारीहरूले प्रेस विज्ञप्तिमार्फत सेवा ठप्प पार्ने चेतावनी दिएका हुन्।

चालू आर्थिक वर्षको लागि नगरसभा हुन नसकेका कारण यस पालिकामातहतका कर्मचारी, शिक्षक-शिक्षिकाहरूले गत श्रावणदेखि तलब-भत्ता पाएका छैनन्। लामो समयदेखि तलब-भत्ता नपाएका कारण घरव्यवहार लथालिंग हुँदै गएको उनीहरूको गुनासो छ।

बजेट सार्वजनिक नगरेका कारण चालू आर्थिक वर्षको ७ महिना बित्न लाग्दा पनि पालिकाको खाता सञ्चालन हुन सकेको छैन। नगरपालिकाको आर्थिक गतिविधि ठप्प हुँदा कार्यालय सञ्चालनमा समेत समस्या भएको कर्मचारीहरूको भनाइ छ। नगर कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा विद्यालयहरू सञ्चालनमा समेत चरम आर्थिक संकट भइरहेको कर्मचारीहरूले गुनासो गरेका छन्।

नगरपालिकाअन्तर्गत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूसमेत समस्यामा परेका बताइएको छ। यस नगरपालिकामातहत २ सयभन्दा बढी कर्मचारी छन्। उनीहरूले माघ २८ गते आइतबारदेखि आकस्मिक कामबाहेक सम्पूर्ण सेवा ठप्प पार्ने जनाएका छन्। आइतबारबाट वडा कार्यालय, स्वास्थ्य चौकी, आयुर्वेद शाखालगायतमा अनिश्चितकालका लागि तालाबन्दी गरिने विज्ञप्तिमा चेतावनी छ।

नगरप्रमुख विनोदकुमार साहसहित जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, सामान्य प्रशासन मन्त्रालयमा समेत संयुक्त रूपमा ध्यानाकर्षण-पत्र बुझाएको कर्मचारीहरूले जानकारी दिए। ७ महिनादेखि तलब नपाउँदा पसलबाट खरिद गरेको सामानको पैसासमेत ऋण गरेर तिर्नुपरिरहेको कार्यालयका प्रशासन शाखा अधिकृत कुमार परियारले बताए।

पालिकाको विभिन्न शाखा, वडालगायतका कार्यालय सञ्चालनमा आवश्यक मसलन्दसमेत अभाव भएको वडा नम्बर ६ का सचिव विश्वनाथ यादवले बताए। यादवका अनुसार वडा कार्यालयमा सेवाग्राहीको सिफारिस, जन्मदर्ता, मृत्युदर्ता, मालपोत रसिदसहितका आवश्यक कागजातसमेत नरहेकाले बाध्य भएर कार्यालय बन्द गर्नुपर्ने अवस्था आएको हो। सामान्य सिफारिस तथा जन्मदर्ता, मृत्यु दर्तालगायतका सेवा लिन आउने सेवाग्राहीसमेत त्यसै फर्कनुपर्ने अवस्था रहेको उनको भनाइ छ।

स्थानीय तह निर्वाचनलगत्तै हरिपुर्वा नगरपालिकाका मेयर विनोदकुमार साह र खानेपानीमन्त्री महेन्द्रराय यादवबीच लामो समयदेखि ‘जुंगाको लडाइँ’ चलिरहेको स्थानीय नागरिकको आरोप छ। नगरप्रमुख साह प्रमुख प्रशासकीय अधिकृत ल्याउने र मन्त्री यादवले अन्यत्र सरुवा गर्ने खेलमा लागिपरेको बताइन्छ। यस पालिकामा गत ११ महिनामा ५ जना प्रशासकीय अधिकृतको सातपटक सरुवा भइसकेको छ।

प्रमुख प्रशासकीय अधिकृत नभएका कारण पालिकाको नगरसभा गर्न नसकिएको मेयर साह बताउँछन्। मन्त्रालयले प्रशासकीय अधिकृतको पटक-पटक सरुवा गरेर नगरवासीको भविष्यमाथि खेलबाड गरेको मेयर साहको आरोप छ। तलब-भत्ता नपाएको भन्दै केही समयअघि मात्रै नगरभित्रका १६ वटा सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरू विद्यालय बन्द गरेर आन्दोलित भएका थिए।

सरस्वती पूजालगत्तै पुनः विद्यालय बन्द गरेर आन्दोलनमा उत्रने तयारी गरिएको हरिपुर्वा नगरपालिकास्थित चौधराइन अधारभूत विद्यालयका शिक्षक उमेश यादवले जानकारी दिए।

ad
ad